नार्केमा बजारका १२ वटा पक्की घर बाढीमा बगे
काठमाडौँ — काभ्रेकाे रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढीपहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ ।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार वडा नम्बर १ का ४२ वर्षको सुनमाया सुनारको पहिरोले घर पुरिएर मृत्यु भएको हो ।
त्यस्तै, रोशी गाउँपालिका-३ मा ८ वर्षीय बालक र १२ वर्षीया बालिका र अन्दाजी ६० वर्षीया बृद्धाको पहिरोले पुरिएको मृत्यु भएको लामाले बताए ।
त्यस्तै, गाउँपालिकाको वडा नं १० मा १ घर भत्किएर महिला पुरिएको उनले जानकारी दिए । उनका अनुसार, वडा नं ४ को सिरान डाँडामा एकै परिवारका ५ जना पुरिएका छन् । तीमध्ये एक जनाको उद्धार गरिएको छ भने बाँकी ४ जनालाई उद्धार गर्ने प्रयास भइरहेको छ ।
लामाका अनुसार रोशी गाउँपालिका-९, स्थित नार्के बजारका १२ वटा पक्की घर बगाएको छ । उनका अनुसार बजार क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
त्यस्तै, रोशी गाउँपालिका-१ स्थित फलामेसाँघुमा अस्थायी मानव बस्ती र गाउँपालिकाको १० शैय्याको अस्पताल पनि डुबानमा परेको उनले बताए ।
