संस्कृति जोगाउन ‘गोरखा फर्क अभियान’

भाद्र ५, २०८१

हरिराम उप्रेती

”Gorkha Fark Abhiyan” to preserve culture

गोरखा — विगत ४० वर्षदेखि काठमाडौंमा बस्दै आएका गोरखा–६ का दीपक अर्याल सोमबार गाईजात्राका दिन गाउँमा हुने ‘रामायण’मा सहभागी बन्न पुगे ।

अर्याललाई गाईजात्रा पर्वले आफन्त, छिमेकी र साथीभाइसँगको भेटघाटको मेसो मिलाइदियो । स्थानीय संस्कृतिको संरक्षण र पर्यटन पवर्द्धनका लागि यस वर्षदेखि गोरखा फर्क अभियान सुरु गरिएको छ । 

‘अरू बेलामा नआउने त होइन, पर्वका बेला आयौं, ३० वर्षपछि रामायणमा सहभागी बनें,’ अर्यालले भने । पछिल्लो समय बसाइँसराइ तथा विभिन्न पेसा व्यवसायका कारण थातथलो छाड्ने क्रम बढ्दो छ । पातलो उपस्थितिले जात्रा, पर्वको रौनक पनि हराउँदै जाँदा यो वर्षको गाईजात्रा पर्वबाट ‘गोरखा फर्क अभियान’ सुरु गरिएको हो । विभिन्न पेसा व्यवसाय अँगालेर जिल्लाबाहिर रहेकालाई जनैपूर्णिमा, गाईजात्रा र रोपाइँ जात्रा गोरखामा भेटेर मनाउन आग्रह गरिएको छ । 

अभियानको अगुवाइ गीतकार तथा साहित्यकार राजुबाबु श्रेष्ठले गरेका छन् । सांस्कृतिक जात्रालाई बचाउन र गोरखालाई जगाउन अभियान सुरु गरिएको उनको भनाइ छ । भने, ‘यो जात्रा, पर्व मनाउने, आफन्त भेटघाट गर्ने गरी पुनर्मिलन नै हो । भावी पुस्तालाई देखाउन पनि जात्रा पर्व जोगाउनुपर्ने छ ।’

पुरानो सम्बन्ध खोजीका लागि पनि अभियानले सघाउने श्रेष्ठ बताउँछन् । उनले भने, ‘जन्मथलो बस्न योग्य बनायो भने बस्तीमा चहलपहल बढ्दै जानेछ ।’ 

युवा ग्यालरी

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully