कांग्रेसको घोषणा– ‘अब ओलीको सरकार’

असार २३, २०८१

कान्तिपुर संवाददाता

Congress announcement - 'Now Oli's government'

काठमाडौँ — राष्ट्रिय सहमतिको सरकार गठन गर्ने गरी कांग्रेस र एमालेबीच असार १७ मा भएको समझदारीलाई लिएर विभिन्न आशंका उठिरहेका बेला कांग्रेस संसदीय दलको बैठकले उक्त समझदारीलाई अनुमोदन गरेको छ । संविधानको धारा ७६(२) अन्तर्गत पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निर्णय गरी सोहीअनुरूप कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई हस्ताक्षरसमेत गराएको छ । 

अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले भने तत्काल राजीनामा नदिई शुक्रबार संसद्मा विश्वासको मतको सामना गर्ने भएपछि एमालेले योबीचमा चलखेल हुन सक्नेमा आशंका व्यक्त गरेपछि कांग्रेसले पछिल्लो निर्णय गराई विश्वस्त पार्न खोजेको हो । कांग्रेस र एमालेले राष्ट्रिय सरकार गठनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई अनुरोध गरे पनि उनले त्यसलाई लत्याएका हुन् ।

बरु राजीनामा बोकेर पुगेका रास्वपाका मन्त्रीलाई समेत स्वयं दाहालले नै राजीनामा नदिन मनाएका थिए । यसबीचमा प्रधानमन्त्री दाहालले तलमाथि पार्ने गरी दाउपेच खेल्न सक्नेमा एमाले अध्यक्ष ओली सशंकित छन् । सोही आशंका मेटाउन कांग्रेसले सबै सांसदको हस्ताक्षर संकलन गरेको कांग्रेसका एक सांसदले बताए । अब उक्त हस्ताक्षर ओलीलाई बुझाइने पनि उनले जनाए । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक दुई दलबीचको सहमतिलाई लिएर अब कुनै खालको आशंका नरहेको दाबी गर्छन् । संसदीय दलको निर्णयबाटै सबै आशंका मेट्ने काम भएको भन्दै लेखकले भने, ‘केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकले निर्णय गरिसकेपछि सहमति उल्टाउने प्रयास कसैले गर्न खोजे पनि सफल हुँदैन । यो समग्र कांग्रेसको निर्णय हो । यसबारे कसैले आशंका नराखे हुन्छ ।’

कांग्रेस संसदीय दलको निर्णयमा भनिएको छ, ‘कांग्रेस र एमालेबीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक एमालेका अध्यक्ष ओली र दोस्रो पटक कांग्रेसका सभापति देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ ।’ 

 कांग्रेस नेताहरूले संविधानको धारा ७६(२) बमोजिम ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको हुँदा अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न पनि आग्रह गरेको छ । राजीनामा नगरी विश्वासको मत लिएमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको प्रस्तावको विपक्षीमा मतदान गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । 

कांग्रेस-एमाले गठबन्धन

कान्तिपुर

Link copied successfully