२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

‘अचेत’ समूहको सचेत कर्म

विराटनगरमा सचेत कर्मले चेत भएका मानिसलाई नै चुनौती दिँदै आएको समूह ‘अचेत’ ले मान्छेदेखि प्रकृति र चराचर जगत्को न्यायका पक्षमा निरन्तर वकालत गर्दै आएको छ
पर्वत पोर्तेल

विराटनगर — नेपाली शब्दकोशअनुसार ‘अचेत’ को अर्थ ‘चेतना नभएको, होस गुमेको अनि शुद्धि हराएको’ हुन्छ । यस्तै ‘बेहोसी’ हरूको एउटा जमात ‘अचेत’ ले विराटनगरमा चेत भएका मान्छेहरूलाई नै चुनौती दिँदै सचेत कर्म गरिरहेका छन् ।

‘अचेत’ समूहको सचेत कर्म

‘अचेत समूह व्यंग्यात्मक र यथार्थपरक नाम हो । अचेतले सचेत काम गर्दा व्यंग्य, अर्को चै हामी अहिले पनि अचेत नै छौँ सचेत छैनौँ भन्ने मान्यता हो,’ समूहका अगुवा संजयवावु शर्माले भने, ‘स्वतन्त्र विचार राख्नेहरूको युवा जमात हो । यसले सबै किसिमका न्यायका पक्षमा आवाज उठाइरहेको छ ।’

समूह तीन वर्षयता निकै सक्रिय छ । चिया गफका बेला ‘समाजका लागि केही नयाँ काम गरौँ’ भन्ने जुक्ति फुरेपछि युवाहरू सचेत कर्ममा लाग्न तम्तयार भएका थिए । आधिकारिक रूपमा जिल्ला प्रशासनमा दर्ता गरेरै संस्थाले काम गर्न थालेको चाहिँ वर्ष दिन भयो । मान्छेदेखि प्रकृति र चराचर जगत्को न्यायका पक्षमा समूहले निरन्तर वकालत गर्दै आएको छ ।

सञ्जयबाबु हजारौं द्वन्द्वपीडितमध्येका एक प्रतिनिधि पात्र हुन् । २०५० को दशकमा माओवादी द्वन्द्वका कारण संखुवासभाको मादीबाट विस्थापित भएर विराटनगर झरेका थिए उनी । विराटनगरमा पढाए लेखाइ सकेपछि रोजगारीका लागि जापान उडेका संजयबाबु ७ वर्ष बिताएपछि फर्किए । त्यसपछि गएका छैनन् । ७ वर्षमा कमाएको केही आम्दानीलाई व्यापारमा लगानी गरेका छन् । जापानी भाषा पढाउँछन् । श्रीमतीको अनलाइन व्यापार छ । कहिलेकाहीँ ‘डेलिभरी ब्वाय’ भएर सघाउँछन् ।

साताको एक दिन भने उनी अक्सर सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर आसपास भेटिन्छ । हातमा पन्जा, मुहारमा मास्क लगाएका उनी आफूजस्तै दर्जनौं सहकर्मीहरूसँग नहरको सफाइमा जुट्छन् । वर्ष दिनयता वर्ष दिनयता नहर सफाइमा उनीसहितको अचेत समूह आक्रामक ढंगले लागेको छ । माघबाट उनीजस्ता दर्जनौं युवा शक्ति नहर सफाइमा जुटेको हो । सप्तकोशीबाट बगेर विराटनगर आइपुग्छ, कञ्चनपानी । तर, यो पानी बग्ने सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा विगत लामो समयदेखि अन्याय भइरहेको ठम्याइ युवाहरूको छ । ‘नहरमाथिको अन्याय साह्रै असह्य थियो,’ सञ्जयबाबुले सुनाए, ‘त्यो सहन नसकेरै हामी जुटेका हौं ।’

खासमा यो संस्था जन्मिएकै अन्यायविरुद्ध वकालत गर्ने ध्येयका साथ । असमानता, विभेद, महिला हिंसाजस्ता समाजमा व्याप्त असंगतिविरुद्ध संगठित अचेत समूह पछिल्लो समय प्रकृतिमाथि मान्छेहरूबाट भइरहेको चरम दोहनका विरुद्ध एकताबद्ध बनेको छ । मालिकको ठगी धन्धामा फसेका लालबहादुर विश्वकर्मालाई न्याय दिलाउन होस् या रिगलको आम माफीको मुद्दाका विरुद्ध नै किन नहोस् युवाहरू खबरदारी गर्न सडकमा उत्रिहाल्छन् । ‘यो संस्था कुनै दलनिकट नभई सामाजिक न्यायका पक्षमा काम गर्दै आएको छ,’ अध्यक्ष सविन घिमिरेले भने, ‘समाजिक न्यायदेखि प्रकृति र पर्यावरणमाथिको चरम अन्यायविरुद्ध हामी एकजुट छौँ ।’

घिमिरेका अनुसार नहरमा फोहोर मिल्काउन बन्द गराउने, वृक्षरोपण गर्ने, नहरलाई जिउँदो बनाउने अभियानमा सुरुआती कालतिर नगरवासीको ठूलै भीड जुटेको थियो । अहिले भलै सुरुको जस्तो भीड त छैन । तर, अचेत युवाहरूले हरेस खाएका छैनन् । टीकाप्रसाद खतिवडा, उद्धव केसी, पारुल क्षेत्रीजस्ता सामाजिक अगुवाहरूको प्रत्यक्ष साथ सहयोग छ अभियानमा । ‘सगरमाथाबाट बगेर आएको पानीमा विराटनगरवासीले खुट्टा धुन पाइरहेका छन्,’ सञ्जयबाबुले सुनाए, ‘हामी विराटनगरवासीले यसको महत्त्व किन बुझ्न नसकेको होला, अचम्म लाग्छ ।’ उनका अनुसार नहरप्रति नगरवासीलाई मायासँगै अपनत्व ग्रहण गराउने काम पनि उनीहरू गरिरहेका छन् । ‘फोकटमा पानी बगिरहेको छ हामीलाई मतलबै छैन,’ सञ्जयबाबुले भने थपे ।

अर्का युवा विकल कार्कीले पकेट खर्च संकलन गरेर फोहोर फाल्ने टोकरी किनेर फोहोर व्यवस्थापन गरेको सुनाए । विराटनगरवासीको एउटा अवगुण के छ भने घरको फोहोर बाटोमा मिल्काइदिन्छन् । अस्पतालजन्य फोहोरको डम्पिङ साइट नहर भएको उनी बताउँछन् । नहरबाट दैनिक तीन ट्रकसम्म फोहोर निकाले युवाहरूले । नोबेल अस्पताल अघिल्तिर निकै सिरिन्ज भेटिए । मेडिकल फोहोरहरू सबै नहरमा देखियो । ‘अस्पतालका सिरिन्जदेखि मानवीय स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने फोहोर नहरमा भेटियो,’ विकलले सुनाए, ‘यसको जिम्मा कसले लिने ?’ करिब १६ किलो मिटर नहरमध्ये एक किमि जतिमा धमाधम काम भइरहेको छ ।

समूहका युवा संरक्षक किरण खड्काको दाबी के छ भने विराटनगरको नहरमाथि राजनीति भइरहेको छ । उनका अनुसार नहर सफाइको मामलामा महानगर र सिँचाइ आयोजनाले एकअर्कालाई देखाएर पन्छिने गरेका छन् । ‘महानगरले सिँचाइ आयोजनालाई र सिँचाइले महानगरलाई दोषारोपण गरिरहेको पाइन्छ,’ किरण भन्छन्, ‘यसमै भइरहेको छ राजनीति ।’ नहरलाई डम्पिङ साइट नबनाउन र अन्याय नगर्न युवाहरूको साझा माग छ । ‘नहरलाई सफा र स्वच्छ बनाउन सक्दा यसको लाभ विराटनगरवासीले नै लिने हो,’ किरण थप्छन्, ‘नहर फोहोर पार्दा यसको बेफाइदा पनि नगरवासीकै काँधमा जान्छ ।’

नहरलाई कतिपयले त कमाइ खाने भाँडो बनाएका छन् । कतिपयले नहर अतिक्रमण गरेर व्यापार व्यवसाय गरी आम्दानी गरिरहेका छन् । यस्तो अवैध काममा जनप्रतिनिधिहरूकै संलग्नता रहेको छ ।

‘फोहोर फ्याँक्ने नाली नभएपछि कहाँ फ्याँक्ने त नहरमा बाहेक,’ नगरवासीहरू भन्ने गर्छन् । महानगर भन्छ– नहरको फोहोर सफा गर्ने दायित्व हाम्रो हैन । फोहोर व्यवस्थापन गर्ने निकाय भन्छ, मैले त्यहाँ ठेक्का लिएकै छैन नहरको फोहोर किन उठाउनु ? सिँचाइ आयोजना पनि उसैगरी पन्छिन्छ । ‘आ–आफ्नो दायित्वबाट सबै पन्छिएर नहरलाई बेवारिसे बनाइएको छ,’ किरण थप्छन्, ‘अब यो नहरलाई सफा र हराभरा पार्ने जिम्मा युवा जमातले गर्छ ।’

प्रकाशित : जेष्ठ ११, २०८१ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?