‘वान चाय प्लिज’

इन्टरनेटको दुनियाँमा कुनै पनि व्यक्ति भाइरल हुन र विश्वभर चर्चामा आउन समय लाग्दैन । त्यसैमध्येका एक हुन्, डोली चायवाला । माइक्रोसफ्टका को–फाउन्डर गेट्सले उनको पसलमा चिया पिएपछि भाइरल भएका डोली विन्डोज–१२ को ब्रान्ड एम्बेसडर चयन भएको खबरले फेरि चर्चामा आएका छन् ।

चैत्र ३०, २०८०

हिमेश

”One Chai Please”

काठमाडौँ — इन्टरनेटको दुनियाँमा कुनै पनि व्यक्ति रातारात भाइरल हुन्छ, विश्वभर चर्चामा पनि आउँछ । त्यसैमध्येका हुन् डोली चायवाला । करिब डेढ महिनाअघि माइक्रोसफ्टका माइक्रोसोफ्टका सहसंस्थापक बिल गेट्सका कारण भाइरल भएका डोली फेरि चर्चामा आएका छन् । त्यसको कारण हो, प्रविधि कम्पनी माइक्रोसफ्टले निकाल्न लागेको विन्डोज–१२ । 

के डोली साँच्चिकै विन्डोज–१२ को एम्बेसडर हुन् त ? अहिले धेरैले यही प्रश्न गरिरहेका छन् । प्रश्न सोध्नेले तुरुन्तै अर्को प्रश्न पनि गर्ने गर्छन्, यो डोली चायवाला हुन् चाहिँ को ? पछिल्लो समय सामाजिक सञ्जालतिर भाइरल भएका पात्र हुन्, डोली चायवाला । अर्थात्, चिया व्यापारी । महाराष्ट्रको नागपुरमा यिनको चिया पसल छ । पछिल्लो पटक पूरा भारतमा हल्ला छ भन्दा पनि हुन्छ यिनको । र, यसको कारण हो, विन्डोज–१२ को ब्रान्ड एम्बेसडर चयन भएको र त्यसबारे गरिएको घोषणा ।

कतिपयले पत्याइरहेका पनि छन् । हुन पनि माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम विन्डोज–१२ चाँडै बाहिर ल्याउन लागेको छ । यही पृष्ठभूमिमा विश्व बजारमा भइरहेको परिवर्तन र अन्वेषणबारे बुझ्न तथा भारतीय धनाढ्य मुकेश अम्बानीको छोरोको बिहे अगाडिको समारोहमा भाग लिन भारत आएका थिए गेट्स । त्यसक्रममा गेट्सले एउटा भिडियो सेयर गरे । त्यसको शीर्षक नै रहेको छ, ‘वान चाय प्लिज’ । त्यसमा उनी डोली चायवालाको चिया खाएर खुसी देखिन्छन् । अब भनिरहनु पर्दैन, यी डोली चायवाला आफैं सामाजिक सञ्जालतिर नामी छन्, सबैले चिन्ने । उनको इन्स्टाग्राममा एउटा अकाउन्ट पनि छ र त्यसको नाम रहेको छ, ‘डोली कि टपरी नागपुर’ ।

उनको चिया बनाउने शैली पनि आफैंमा फरक मात्र छैन, त्यो उत्तिकै आकर्षित पनि छ । अनि उनको लुक्स पनि फरक । आँखामा पहेंलो चस्मा, घाँटीमा सुनको सिक्री र कानमा वायरलेस इयरफोन । त्यसकै मद्दतले उनी एकपछि अर्को कन्टेन्ट क्रिएट गरिरहेका हुन्छन् र यी सबै सामाजिक सञ्जालमा उत्तिकै लोकप्रिय सावित पनि हुने गर्छन् । त्यसै कारण उनी खुबै लोकप्रिय छन् र इन्स्टाग्राम चलाउन अभ्यस्त हुनेका लागि उनी ठ्याक्कै नयाँ पनि होइनन् ।

विन्डोज–१२ सँग उनको सम्बन्धको कुरा भने सटायर सामग्री मात्र राख्ने बिन्दु टाइम्सको एउटा समाचारबाट सुरु हुन्छ । जसमा भनिएको छ, यी डोली चायवाला विन्डोज–१२ का ब्रान्ड एम्बेसडर भएका छन् । यो सामग्री सामाजिक सञ्जालमा आएको मात्रै थियो, निकै भाइरल भयो । विशेषतः इन्स्ट्राग्राममा धमाधम सेयर हुन थाल्यो । तर सबैले के बिर्से भने यो त साँच्चै सटायर सामग्री मात्रै हो । यसलाई गम्भीर रूपमा लिने होइन । पढ्ने अनि मज्जा लिने मात्रै हो ।

”One Chai Please”त्यसको अर्थ के भने न त माइक्रोसफ्ट न त गेट्सले यसबारे केही भनेका छन् । तिनै गेट्सले सेयर गरेको त्यही भिडियो क्लिप हेर्नेले विन्दु टाइम्सको समाचार पनि पत्याइहाले । यो समाचार किन लेखियो र केका लागि लेखियो ? त्यसलाई बुझ्न आवश्यक नै ठानिएन । अनि यी डोली चायवाला साँच्चै भए, विन्डोज–१२ का एम्बेसडर । गेट्सले त्यस भिडियोमा भनेका छन्, ‘फेरि भारत आउन पाएकोमा खुसी छु । यो राम्रा अन्वेषकको देश हो । यिनीहरूले हाम्रो जीवन सुधार्न नयाँ–नयाँ काम सुरु गरिरहन्छन् ।’

अनि अन्त्यमा थपेका छन्, ‘त्यसमा एक कप चिया बनाउने पनि पर्छ ।’ गेट्सको यो भनाइ सुनेपछि कसलाई मात्र आवश्यकता पर्‍यो र, विन्दु टाइम्सको सामग्री खालि रमाइलाकै लागि मात्रै हो भनेर । यति हल्ला भइसकेपछि भारतीय मिडिया तिनै डोली चायवालासम्म त पुग्ने नै भयो । तिनको अन्तर्वार्ता पनि भए, एकपछि अर्को । खासमा यिनले गेट्सलाई चिन्दा पनि रहेनछन् । खालि उनलाई आफ्नो चिया खुवाए । बढी नै हल्ला हुन थालेपछि मात्रै उनले गेट्स को हुन् भनेर बुझे ।

”One Chai Please”उनले भनेका छन्, ‘मलाई गेट्स को हुन् भनेर थाहा पनि थिएन । मलाई लागेको थियो, उनी कोही विदेशी हुन्, त्यसैले मैले उनलाई चिया खुवाएँ । त्यसको भोलिपल्ट मात्रै उनी को हुन् भनेर थाहा पाएँ ।’ कुरा यत्तिकैमा सकिन्न । त्यो अन्तर्वार्तामा उनले थपेका छन्, ‘मेरो त कुनै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि चिया खुवाउने इच्छा छ ।’ उनको उद्देश्य नै रहेछ, आफ्नो पूरा जीवन सबैलाई खुसी–खुसी हाँसेर चिया खुवाउने, त्यसमा मोदी पनि परेछन् ।

युवा ग्यालरी

हिमेश

Link copied successfully