मझुवाभीरमा रक क्लाइम्बिङ

चैत्र २८, २०८०

डम्बरसिं राई

Rock climbing in midday

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा रक क्लाइम्बिङको मज्जा लिन पाइने भएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रको मझुवाभीरमा रक क्लाइम्बिङको सफल परीक्षणपछि यसमा रमाउन चाहनेका लागि अवसरको ढोका खुलेको हो ।

खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रक ब्लाइम्बिङ सञ्चालनको सुरुवात गरिएको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । रक क्लाइम्बिङ सञ्चालनपछि नगरको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भट्टराईको भनाइ छ । ३२ मिटर अग्लो मझुवाभीरमा नेपाल नेसनल माउन्टेन्ट गाइडले रुट निर्माण गरिदिएको हो ।

रक क्लाइम्बिङ सञ्चालनका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिमसमेत दिएको छ । सात जना स्थानीय युवा र सशस्त्र प्रहरी बल हलेसी गुल्मका पाँच जना गरी १२ जनाले तालिम लिएका छन् । 

कृत्रिम भीरमा भन्दा प्राकृतिक भीरमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकाले यो उपयुक्त थलो भएको नेपाल नेसनल माउन्टेन्ट गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले बताए । पछिल्लो समय युवा पुस्ता यसप्रति आकर्षित हुँदै जानुका साथै पर्यटन विकासमा पनि यसले सहयोग गर्ने भएकाले रक क्लाइम्बिङ लोकप्रिय बन्दै गएको शेर्पा बताउँछन् ।

‘रक क्लाइम्बिङको भविष्य राम्रो छ, पछिल्लो समय युवा पुस्ता यो खेलमा रमाउन थालेको छ,’ शेर्पाले भने, ‘खेलका कारण पर्यटक पनि बढेर गएका छन् ।’ पोखरा, काठमाडौं, सोलुखुम्बुमा पनि रक क्लाइम्बिङ फस्टाएको शेर्पाले बताए ।

Rock climbing in midday

युवा ग्यालरी

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully