कथाले मागेका दर्शकले रुचाएका

सफल नायक बन्न अभिनयमा डुब्ने र दर्शकलाई रिझाउने क्षमता चाहिन्छ भन्ने भाष्य निर्माण गर्न सफल छन् दयाहाङ राई

चैत्र २८, २०८०

महेश केसी

The audience loved the story

रुकुम पूर्व — दयाहाङ राई । नामै काफी छ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रका ‘हाई डिमान्डेट नायक’ हुन् उनी । १८ वर्षअघि ‘अनागरिक’ फिल्मबाट नेपाली सिने जगत्मा पाइला राखेका हुन् दयाहाङले । यसपछि भने उनको यात्रा यसरी गतिवान् बन्यो कि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । अभिनय यात्राको शिखरमा लामै समयदेखि टिकिरहेका छन् उनी । 

एकपछि अर्को चलचित्रमा अभिनय गर्न व्यस्त दयाहाङ ४२ वर्षअघि भोजपुरको पश्चिमी भेग खावा गाउँमा जन्मिएका हुन् । गाउँमै खोतीपाती अनि गाईबस्तुको गोठालो गर्दै बालापन बिताएका उनले खावाको दिल प्राथमिक विद्यालय, पशुपति मावि हुँदै अन्नपूर्ण उच्च मावि भोजपुरबाट एसएलसी उत्तीर्ण गरे । भोजपुरको बहुमुखी क्याम्पसमा आईएसम्म पढेर काठमाडौं छिरेपछि नै सुरु भयो उनको फिल्मी यात्रा । ‘अनागरिक’ पछि सन् २००७ मा ‘मेरो एउटा साथी छ’ मा सामान्य भूमिकामा देखिएका उनले २००९ मा ‘दासढुंगा’ मा शीर्ष भूमिका निर्वाह गरे । मनोज पण्डित निर्देशित फिल्ममा उनको अभिनयको सवत्र चर्चा मात्रै भएन, चलेका नायकका लागि भारी भएर उभिन सफल भए उनी । 

त्यसपछि उनले अभिनय गरेको ‘लुट’ले त झन् तहल्का मच्चायो । अभिनयका कारण उनले निकै प्रशंसा पाए । हाईवे, छड्के, वधशाला, साँघुरो, उमा, कर्कश, लोफर हुँदै कबड्डीसम्म आइपुगेपछि भने दयाहाङ राईबाट ‘काजी साप’ का रूपमा चिनिन थाले । ‘यसरी व्यस्त भइएलाझै‌ं लागेकै थिएन । तर अहिले कामैकाम छ । मैले सकेको गरेको छु,’ उनले भने, ‘कुनै बेला खाली–खाली भएको म अहिले व्यस्त हुन रहेछ जस्तो लाग्छ ।’

अहिलेसम्म करिब ६० भन्दा धेरै फिल्म र १६ वटा नाटकमा अभिनय गरिसकेका छन् दयाहाङले । आधा दर्जन नाटक निर्देशनसमेत गरेको अनुभव छ उनीसँग । अहिले पनि मण्डला थियटरका व्यवस्थापक हुन् दयाहाङ । ‘४ वर्षअघि नाटक महाभोजमा काम गरेपछि चलचित्रमै व्यस्त छु । तर समय मिलेसम्म थियटर भने गइरहन्छु,’ उनले भने । नाटक र फिल्ममा अनुभव के छ त ? दयाहाङ भन्छन्, ‘नाटकमा दर्शक र कलाकारबीच दूरी रहँदैन, तर फिल्ममा दूरी लामो छ ।’ 

फिल्ममा काम गर्ने क्रममा देशका कुना–कन्धरा पुगेका दयाहाङलाई विविधतायुक्त नेपाली समाज बुझ्न पाएकोमा खुसी छ । ‘हामी नेपालीहरूको जीवन जिउने कला बडो सुन्दर लाग्छ,’ फिल्मकै कारण नेपाली समाज बुझ्ने मौका पाएको बताउने दयाहाङ भन्छन्, ‘म जहाँ पुगे पनि मौलिक जनजीवन र भूगोलसँग आनन्द लिइरहेको हुन्छु ।’

जीवन बाँच्ने मौलिक शैली नै हाम्रा लागि काफी भए पनि पछिल्लोपल्ट प्रविधिको विकास र यसको दुरुपयोगका कारण मौलिकतामा ह्रास आएकोमा भने दयाहाङको चिन्ता छ । ‘प्रविधिले आत्मनिर्भरताभन्दा परनिर्भरता बढायो,’ उनी भन्छन्, ‘यसको सदुपयोग गरेर कसरी फाइदा लिनेभन्दा पनि बिनाअर्थ प्रविधिमा अल्झिएका कारण हामीले पाउनेभन्दा गुमाउने कुरा धेरै भएजस्तो लाग्छ ।’ 

अनिल बुढाद्वारा निर्देशित चलचित्र ‘घरज्वाइँ’ को छायांकन सकेर केही साताअघि मात्रै रुकुमपूर्वबाट फर्किएका छन् दयाहाङ । रुकुमपूर्वको मौलिक सुन्दरताले भने राम्रैसँग बाँधेको मीठो अनुभव लिएको बताउँछन् उनी । सुन्दर प्रकृति, मौलिक भाषा र स्थानीय कला–संस्कृतिको मुक्तकण्ठले प्रशंसा गर्दै दयाहाङले त्यसको संरक्षण र संवद्धनका लागि अहिलेदेखि नै गम्भीर हुनुपर्ने सुझाव दिन्छन् । ‘फिल्म कुन हेर्ने त्यो दर्शकको रोजाइको कुरा हो । पहिलो कुरा त हामीले नै राम्रो फिल्म दिन सक्नुपर्‍यो,’ दयाहाङले भने, ‘फिल्मका लागि पात्रभन्दा पनि कथा ठूलो कुरा हो । बिस्तारै हामी हाम्रा कथाहरू भनिरहेका छौं । आशा गरौं, चाँडै नै हामी अझै राम्रो गरेर दर्शकको नजर घरेलु फिल्ममै केन्द्रित गर्न सक्नेछौं ।’ बलियो र गज्जबको कथा भएमा चर्चित कलाकार नै जरुरी नपर्ने भन्दै उनले आफ्नो कथा आफैं भन्न सक्ने मौलिक पात्रलाई पनि फिल्ममा अभिनयका लागि तयार गर्न सकिने कुरामा जोड दिन्छन् । ‘तर हाम्रो फिल्मका कलाकारमा पुस्तान्तरणको समस्या छ । अग्रजको 

सम्मान र अनुजलाई स्थान दिने कुरामा हामी अझै पनि चुकेकै छौं,’ उनी भन्छन्, ‘नयाँ पुस्ता पनि अलि माझिएर आउनुपर्‍यो अनि हामीले पनि उनीहरूलाई सही तरिकाले मार्गदर्शन दिनुपर्‍यो । यसकारण अन्तरपुस्ता संवाद जरुरी छ ।’

The audience loved the story

‘नेपालमा केही भएन, सबै सकियो, यहाँ खराबै मात्रै छ’ भन्ने जस्ता कुरालाई प्रचार गरेर आफू पानीमाथिको ओभानो हुन खोज्ने प्रवृत्तिप्रति गम्भीर असहमति जनाउँछन् दयाहाङ । नेपाली शिक्षा र विकासको इतिहास लामो नभएकाले समयानुसार देश ठिकै गतिमा गएको उनको बुझाइ छ । ‘गलत भयो र केही भएन भन्ने भाष्य स्थापित गर्न खोज्नेप्रति मेरो गम्भीर आपत्ति छ,’ उनले भने, ‘नेपालमा केही नभएको हैन, धेरै भएको छ । तर अझै धेरै गर्नका लागि सम्भावनाहरूको खोजी गरेर अघि बढ्नुपर्छ ।’ 

आफ्नो पहिलो फिल्म ‘अनागरिक’ देखि पछिल्लो ‘रंगेली’ सम्म आइपुग्दाको यात्रा नै सिनेमाको रिल जस्तो लाग्ने गरेको दायहाङ बताउँछन् । ‘कहाँ थिए, कहाँ पुगेको छु । अझै कहाँ पुगिने हो,’ उनले भने, ‘मेरो मात्रै हैन कसको के ठेगान छ र हउ ? यसकारण आफूले पाएको भूमिका गजबले निर्वाह गरेर जीवन सहज बनाउन प्रयत्न गर्ने हो ।’

फिल्मी नायकका लागि शारीरिक सुन्दरता हैन, अभिनयमा डुब्न सक्ने र दर्शकलाई रिझाउन सक्ने क्षमता चाहिन्छ भन्ने भाष्यसमेत निर्माण गर्न सफल भएका छन् उनी । दयाहाङले अभिनयका माध्यमबाट दर्शकको मन मात्रै जितेका छैनन्, नेपाली फिल्म बजारलाई बलियो बनाउन पनि मद्दत गरेका छन् । दयाहाङ अभिनीत चार फिल्म यतिबेला प्रदर्शनको दिन पर्खेर बसेका छन् । चैत ३० देखि ‘डिग्री माइला’ वैशाख २१ देखि ‘मनसरा’, जेठ १८ देखि ‘गाउँ आएको बाटो’ र असार २८ देखि ‘घरज्वाइँ’ प्रदर्शनमा आउँदै छन् । त्यसपछि उनलाई फिल्म र फिल्मकर्मीले छाड्ने छैनन् । अनि, दर्शकले पनि । थुप्रै फिल्ममा अभिनय गर्नु 

छ र दर्शकलाई नयाँ केही पस्कनु छ । दयाहाङ मुस्कुराउँदै भन्छन्, ‘कथाले माग्छ भने मैले सकेको अभिनय गर्नैपर्छ र गर्छु पनि ।’

युवा ग्यालरी

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully