काठमाडौँ — सन् १९६३ मा आजकै दिन (अप्रिल ९) मा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई अमेरिकाको मानार्थ नागरिकता प्रदान गरिएको थियो । उनलाई अमेरिकाका तत्कालीन राष्ट्रपति जोन अफ केनेडीले मानार्थ नागरिकता प्रदान गरेका थिए ।
चर्चिल अमेरिकाको मानार्थ नागरिकता पाउने प्रथम व्यक्ति हुन् । अमेरिकाले हालसम्म आठ व्यक्तिलाई मात्र मानार्थ नागरिकता प्रदान गरेको छ । प्रेरणादायी राजनेता, लेखक तथा वक्ताका रूपमा परिचित चर्चिल मानिसहरूलाई प्रभावित पार्न सक्ने अद्भुत क्षमता र रणनीतिक चातुर्यताका कारण विश्वभर चर्चित थिए ।
बेलायतको अक्सफोर्डसायरमा १८७४ नोभेम्बर ३० मा जन्मिएका चर्चिल दुई पटक बेलायतको प्रधानमन्त्री भएका थिए । उनी पहिलो पटक दोस्रो विश्वयुद्धका बेला १९४० देखि १९४५ सम्म र दोस्रो पटक १९५१ देखि १९५५ सम्म बेलायतको प्रधानमन्त्री थिए ।
१८९५ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका चर्चिल युद्धसम्बन्धी रिपोर्टका कारणसमेत चर्चामा आएका थिए । चर्चिलको १९६५ जनवरी २४ मा स्ट्रोकका कारण बेलायतको लन्डनस्थित निवासमा मृत्यु भएको थियो ।
