छाला स्याहारमा तल्लीन सुजना

चैत्र २९, २०८०

ज्योती श्रेष्ठ

Sujana indulges in skin care

काभ्रे — औषधीय जडीबुटी र मानव जीवनमा यसको प्रयोगका विषयमा एक दशकयता अध्ययन अनुसन्धानमा निकै सक्रिय छन्, डाक्टर सुजना फुबु । अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयबाट विद्यावारिधि गरेपछि उनी एक दशकयता छालाको स्याहारका लागि विभिन्न जडिबुटीजन्य सामग्री उत्पादनमा जुटिरहेकी छन् ।

फुबुमा यस्तो सोच भने देश–विदेशमा रहेर जडीबुटीबारे अध्ययनसँगै मानव शरीरमा देखिने छालासम्बन्धी समस्याबारेमा अध्ययन र अनुसन्धान गर्ने क्रममा पलाएको हो । देशभित्र छालाको स्याहारका विषयमा गतिला अध्ययन अनुसन्धान नभएको देखेपछि उनको मन यसतर्फ तानिएको थियो ।

‘सन् २०१३ जुनमा नेपाल फर्किएपछि यहाँ पाइने जडिबुटीको प्रयोगबाट छालाको स्याहार गर्ने सम्भावना र चुनौतीबारे अध्ययन अनुसन्धानमा जुट्यौं,’ ४३ वर्षीय फुबुले भनिन्, ‘विस्तृत अध्ययन अनुसन्धानपछि छालाको स्याहारका लागि विभिन्न सामग्री उत्पादनको कार्य अघि बढायौं ।’ तर सुरुमा भने बालबच्चाको छाला स्याहारसम्बन्धी क्रिम, तेललगायतका सामग्रीबाट उत्पादन थालेको उनले बताइन् । र, ती उत्पादनको नाम दिइयो ‘स्याहार’ । 

‘उत्पादित सामग्रीहरू मान्यता प्राप्त संस्थाबाट ल्याब टेस्ट गराएर मात्र उत्पादनका लागि अनुमति लियौं,’ उनले भनिन्, ‘उत्पादन गरेका सामग्री धुलिखेल अस्पतालबाटै बिक्री थाल्यौं ।’ उनका अनुसार सुरुमा बिरामीमा छालासम्बन्धी कस्तो समस्या छ र त्यसका लागि कस्तो उपचार गर्ने भन्ने निर्क्योल गरेपछि मात्र उत्पादनहरू दिइने उनले बताइन् । त्यसका साथै, ती उत्पादनबारे प्रतिक्रियासमेत लिने गरिन्छ ।

‘सबैको छालाको प्रकृति एउटै हुँदैन, मानिसअनुसार छालासम्बन्धी समस्या पनि फरक–फरक हुन्छन् । एउटै प्रडक्ट सबैलाई उचित नहुन पनि सक्छ,’ उनले भनिन्, ‘प्रडक्टको प्रयोगपश्चात् पनि छालासम्बन्धी समस्यामा सुधार नआएमा प्रडक्ट फिर्ता लिएर पुनः चेकजाँच गरी अर्को दिने गरिएको छ ।’ छोटो समयमै स्याहारका सामग्रीको माग बढ्दै गएपछि फुबु नेतृत्वको टिमले उत्पादन बढाउँदै गए । त्यसका साथै, उत्पादित सामग्रीहरू अस्पतालको फार्मेसीमा राखेर बिक्री वितरण पनि सुरु गरे ।

यसैबीचमा फुबुले भने छालाको उपचारसँगै सौन्दर्यलाई पनि जोड्दै अनुसन्धान अघि बढाइन् । सुरुमा अस्पतालको प्रयोगशालाबाट सुरु गरिएको अनुसन्धान र उत्पादनलाई विस्तार गर्ने योजना बनाए उनीहरूले । ‘सुरुमा क्रिम र साबुन मात्रै उत्पादन गरिएको थियो,’ फुबुले भनिन्, ‘पछि अनुसन्धानलाई विस्तार गर्दै सबै उमेर समूहका मानिसलाई मिल्ने गरी छालाको प्रकृतिअनुसारका फेसवास, सिरम, सन ब्लक, तेललगायतका सामग्री उत्पादन गर्न थालियो ।’

Sujana indulges in skin care

पछिल्लो समय भने अनुहार र हातगोडा मुलायम राख्ने लोसन र क्रिम उत्पादन गर्न थालिएको छ । लामो समयको अध्ययन अनुसन्धानपछि मात्रै छालाको उपचार र सौन्दर्यसम्बन्धी सामग्रीहरू उत्पादन गरेकाले पनि सेवाग्राहीले रुचाएको उनको भनाइ छ । त्यसैमध्येकी एक हुन्, बनेपाकी कल्पना थापा । ‘अस्पतालले नै उत्पादन गरेको भएकाले पनि विश्वास लागेको छ,’ थापाले भनिन्, ‘छाला सुक्खा हुने समस्या भएर मोइस्चराइजर क्रिम प्रयोग गरेपछि समस्या हटेको छ ।’

माग बढ्दै गएपछि २०१८ देखि उत्पादित सामग्रीहरू अस्पताल परिसरनजिकैको आउटलेटबाट पनि बिक्री सुरु गरिएको ‘स्याहार’का सहायक प्रशासक सचिन माकजुले बताए । उनका अनुसार २०२० जुलाईमा भने ‘स्याहार’ लाई नाफारहित संस्था दर्ता गरी ट्रेडमार्क लिइएको छ । धुलिखेल अस्पतालले बिरामीको उपचारका लागि मात्र नभई शारीरिक सुन्दरतालाई समेत उत्तिकै प्राथमिकतामा राखेको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकार बताउँछन् । उनका अनुसार हाल धुलिखेल अस्पतालको भगिनी संस्थाका रूपमा रहेको ‘स्याहार’ले स्वदेशी कच्चा पदार्थबाट छालाको प्रकार र मौसमअनुसारका सामग्री उत्पादन गरिरहेको छ ।

धुलिखेल अस्पतालले सन् २०१५ देखि छालासम्बन्धी स्याहार एवं उपचारका लागि अनुसन्धान एवं विकास योजनाका रूपमा स्याहारका सामग्रीहरू उत्पादन गर्दै आएको छ । अस्पतालका सेवाग्राहीलाई सुलभ मूल्यमै अन्तर्राष्ट्रिय गुणस्तरका कस्मेटिक उत्पादन उपलब्ध गराउनु नै यसको मुख्य लक्ष्य रहेको उनको भनाइ छ । ती सामग्रीको मूल्य डेढ सयदेखि पाँच हजारसम्म छ । एन्टी एजिङ र मोइस्चराइजर प्रडक्टहरू बजारमा बढी रुचाइएका उनले बताए ।

Sujana indulges in skin care

उत्पादन र वितरणलाई निरन्तरता दिन स्थानयी रूपमै आवश्यक कच्चा पदार्थ उत्पादन गर्नका लागि काभ्रेको पाँचखाल बालुवामा रहेको अस्पतालकै आउटरिज सेन्टरलाई उत्पादन क्षेत्रका रूपमा विकसित गरिएको ताम्राकारको भनाइ छ । ‘आठ महिनादेखि पाँचखालको बालुवाबाट उत्पादन कार्य अघि बढाइएको छ,’ उनले भने, ‘अहिले स्याहारका ८ वटा क्याटेगोरीका विभिन्न ५० थरीका स्किन केयर प्रडक्टहरू उत्पादन हुन्छन् ।’

स्याहारले बालुवा र धुलिखेल अस्पतालको आउटलेटमा गरी ४ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ । यसका साथै, स्याहारले वातावरणमैत्री झोलाको प्रयोगलाई प्राथमिकतामा राखेको छ । ग्राहकलाई उत्पादित सामग्री कपडा र कागजका झोलामा दिने गरिएको छ । त्यस्ता झोला उत्पादन गर्न तालिम दिइएपछि स्थानीय महिलाले जिम्मेवारी पाएका छन् । स्याहार र धुलिखेलको ‘वोमन ग्रुप’सँग सहकार्यमा उत्पादन भएका एक हजार वटा कागजका झोला दुई महिनामा र ५ सय कपडाको झोला तीन महिनामा खरिद गर्ने गरिएको माकाजुले जानकारी दिए ।

वातावरण सन्तुलन कायम राख्नका लागि स्याहारले उत्पादित सामग्रीहरू सिसाको बोतलमा उपलब्ध गराउँदै आएको छ । वातावरण सन्तुलनका साथै यसलाई पुनःप्रयोग गर्न मिल्ने अवधारणाका साथ सिसाको बोत्तल प्रयोग गरिएको माकाजुको भनाइ छ । ‘सामग्री प्रयोगपछि रित्तिएको सिसाको बोतल फिर्ता ल्याउने ग्राहकलाई अर्को सामग्री खरिदमा ५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ,’ उनले भने ।

Sujana indulges in skin care

स्याहारले छालाको प्रकार एवं मौसमअनुसार प्रडक्टहरू वर्गीकरण गर्नुका साथै, कुनै पर्व वा विशेष अवसरमा छुट दिने गरेको छ । माग बढेसँगै स्याहारका उत्पादनहरू देशभर विभिन्न ७ स्थानमा बिक्री थालिएको र भविष्यमा थप विस्तार गर्ने योजना रहेको माकाजुले बताए । त्यस्तै, नमोबुद्ध नगरपालिकासँग चार सय रोपनी र पाँचखाल नगरपालिकासँग दुई सय रोपनी क्षेत्रफलमा उत्पादित कच्चा पदार्थ खरिदका लागि समेत स्याहारले सम्झौता गरिसकेको छ ।

युवा ग्यालरी

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully