कञ्चनपुर — बर्दियाको ठाकुरद्वारा नगरपालिका–९ गेरुवाका कालुराम चौधरी कर्णाली किनारमै जन्मिए । बाल्यकाल कर्णालीसँगै बिताएका ३८ वर्षीय चौधरीका लागि सानोमा माछा मार्नु र पौडी खेल्नु नियमितजस्तै थियो । बर्खामा बाढी पसेर बस्ती नै जलमग्न हुँदा परिवार र छिमेकीलाई सुरक्षित स्थानमा सार्ने काममा उनी खटिन्थे ।
सानैदेखि नदीसँगै घुलमिल भएका चौधरी अहिले पनि नदीनालामै व्यस्त छन् । तर अहिले माछा मार्न वा पौडी खेल्न होइन, र्याफ्टिङ गाइडका रूपमा पश्चिम नेपालका नदीहरूमा पुगिरहेका छन् । अहिले उनलाई गाइडको काम गर्न भ्याइनभ्याइ छ ।
कर्णाली, महाकाली, भेरी र सेतीलगायतका नदीमा उनी र्याफ्टिङ गराउन पुगिरहेका छन् । साहसिक जलयात्रामा पर्यटकलाई सन्तुष्ट पार्ने काममै व्यस्त चौधरी दुई सातादेखि महाकाली नदीमा र्याफ्टिङ गराइरहेका छन् । भीमदत्त नगरपालिका–९ खल्ला र मुसेट्टी क्षेत्रमा एड्रिफ्ट एडभेन्चर नामक कम्पनीले र्याफ्टिङ सञ्चालन गरिरहेको छ । चौधरीले बर्दिया ठाकुरद्वारामै होटलमा काम गर्दा गाइडको काम सिकेका हुन् । सुरुमा त उनी होटलमा सहयोगीको काम गर्थे । त्यतिबेला एडभेन्चर होटलले चिसापानीदेखि ठाकुरद्वारासम्म र्याफ्टिङ गराउँथ्यो । सुरुमा सोखले बोटमा चढ्ने उनी बिस्तारै गाइड बने । अहिले उनी साहसिक जलयात्राका लागि पश्चिम नेपालकै अब्बल गाइड बनेका छन् ।
कर्णालीको भँगालो बर्दिया राष्ट्रिय निकुञ्जको बीचोबीच भएर बग्छ । त्यही भँगालोमा पर्यटकलाई जलयात्रासँगै वन्यजन्तुको अवलोकन गराउन बेग्लै आनन्द आउँछ । कतिपय बेला त बाघ, हात्ती र गैंडाबाट आक्रमण हुने जोखिम पनि त्यत्तिकै हुन्छ । सानो भँगालो भएका कारण उक्त क्षेत्रमा बर्खामा पनि र्याफ्टिङ सञ्चालन हुने गरेको चौधरी बताउँछन् ।
‘सुरुमा त निकै डर लाग्थ्यो, बिस्तारै गाइडको काम सिकें, अहिले त रमाइलो लाग्छ,’ मंगलबार डडेलधुराको परशुराम नगरपालिकाको परशुराम क्षेत्रदेखि भीमदत्त–९ खल्लासम्म पर्यटकलाई र्याफ्टिङ गराउँदाको अनुभव सुनाउँदै उनले भने, ‘एडभेन्चर आफैंमा रमाइलो हुन्छ, त्यसमा नयाँ–नयाँ ठाउँमा र्याफ्टिङ गराउन पाउँदा झनै आनन्द आउँछ ।’ उनले महाकालीसँगै कर्णालीमा पनि चिसापानीदेखि टीकापुर, सोल्टा चिसापानी र सेतीको दिपायल क्षेत्रमा र्याफ्टिङ गराएका छन् ।
