गैरनाफामूलक संस्था ‘क्रिएटर्स एसोसिएसन अफ नेपाल’ दर्ता, इमर्जिङ क्रिएटर र स्टाब्लिस्ड क्रिएटर गरी दुई वर्गमा सदस्यता दिने योजना
काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्म टिकटक प्रतिबन्ध गर्नेदेखि सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका र विधेयक बनाउनेजस्ता गतिविधि जारी राखेका बेला यसबाट प्रत्यक्ष प्रभावित हुने अनलाइन सर्जक (कन्टेन्ट क्रिएटर) हरूले संगठित हुन पहल थालेका छन् । यसका लागि हालै मात्र कम्पनी रजिस्ट्रारको कार्यालयमा उनीहरूले गैरनाफामूलक संस्था ‘क्रिएटर्स एसोसिएसन अफ नेपाल’ दर्ता गराएका छन् ।
अनलाइनमा विविध विषयमा ज्ञानवर्द्धक, सूचनामूलक र मनोरञ्जनात्मक सामग्री उत्पादन र प्रसारण गर्दै आएका कन्टेन्ट क्रिएटरहरूले विभिन्न संवेदनशील समयमा आफूहरूको आवाज मलिन भएको महसुस भएपछि संगठित हुन चाहेको प्रतिक्रिया दिएका छन् । अनलाइन कन्टेन्ट क्रिएसनलाई राम्रो पेसाका रूपमा स्थापित गर्न र कतिपय विकृति न्यूनीकरणका लागि पनि संगठित हुन आवश्यक रहेको युट्युब च्यानल ‘आइडियाप्रेनर नेपाल’ मार्फत वित्तीय साक्षरतासम्बन्धी कन्टेन्ट प्रवाह गर्दै आएका सन्जोग कोइरालाले बताए ।
‘पछिल्लो समय नेपालमा अचानक टिकटक ब्यान्ड भयो, अहिले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका र विधेयक आइरहेका छन्, हामी कन्टेन्ट क्रिएटरहरूसँग जोडिएका यस्ता विषयमा हामीले एक्लाएक्लै बोल्दा त्यसले कम महत्त्व पाइरहेको छ,’ सन्जोगले भने, ‘संस्थागत रूपमा अघि बढ्दा हाम्रो आवाज सुनिन्छ भन्ने बुझाइ हो ।’ टिकटकमा निर्भर भएर जीवन चलाइरहेका कतिपय क्रिएटरहरू रातारात प्लाटफर्म बन्द हुँदा हतोत्साहित भएको उनले सुनाए । टिकटकका कन्टेन्ट क्रिएटर अहिले अन्य प्लाटफर्ममा शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा रहेको सन्जोगको अनुभव छ ।
कन्टेन्ट क्रिएटरहरूको सम्मानजनक पहिचान स्थापनाका लागि पनि संगठित हुनुपर्ने अवस्था आएको उनले बताए । हाल सन्जोगसहित रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल, माई डार्लिङ फुडकी मन्जिता मानन्धर, सुशान्त प्रधान पडकास्टका सुशान्त, अप्ट्रेन्ड्ली मिडियाका मोनायक कार्की, एक्सप्लेनर नेपालीका मनीष अधिकारी, इनडेप्थ स्टोरीका सुदीप सुवेदी, अफिसियल खबरका विकल्प बस्न्यातलगायत कन्टेन्ट क्रिएटर एसोसिएसनमा जोडिएका छन् ।
आफ्नो पडकास्ट च्यानलमार्फत विभिन्न क्षेत्रका स्थापित व्यक्तिहरूसँग कुराकानी गर्दै आएका सुशान्त प्रधानले यो क्षेत्रको सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) का रूपमा संगठनले काम गर्ने जानकारी दिए । ‘टिकटक प्रतिबन्ध भएपछि हामीलाई संगठित हुनुपर्छ भन्ने आभास भएको हो,’ उनले भने, ‘भोलिका दिनमा अर्को कुनै प्लाटफर्म बन्द गरिएला, त्यसले हामीलाई प्रत्यक्ष र परोक्ष रूपले असर गर्छ । यस्तो बेला हाम्रो आवाज बुलन्द हुनुपर्छ भन्ने लाग्छ ।’ संगठनले सरकार र सामाजिक सञ्जाल कम्पनीहरूबीच पनि सेतुको काम गर्ने सुशान्तको अपेक्षा छ ।
संगठन विकासको ढाँचा र यसमार्फत गरिनुपर्ने कामहरूबारे छलफल र धारणा संकलनको काम अघि बढेको सन्जोगले जानकारी दिए । यस क्रममा ३५ देखि ४० जना कन्टेन्ट क्रिएटरहरूसँग छलफल भइसकेको पनि उनले बताए । सन्जोगका अनुसार नेपालमा व्यावसायिक रूपमै कन्टेन्ट क्रिएसनमा लाग्नेको संख्या करिब ३ सय छ । यसमा मेकअप ट्युटोरियल बनाउनेदेखि गेमिङ, भ्लगिङ, ई–लर्निङ, पडकास्टजस्ता विभिन्न क्षेत्रमा कन्टेन्ट बनाउनेहरू पर्छन् । उनीहरूले इन्स्टाग्राम, फेसबुक, टिकटक, युट्युब, स्न्यापच्याट, स्पटिफाइदेखि इमेललगायत अनेकौं प्लाफर्ममार्फत कन्टेन्ट प्रवाह गर्दै आएका छन् ।
संगठनमा हाल इमर्जिङ क्रिएटर (उदीयमान सर्जक) र स्टाब्लिस्ड क्रिएटर (स्थापित सर्जक) गरी दुई वर्गमा क्रिएटहरूलाई सदस्यता उपलब्ध गराउने संस्थापकहरूको योजना छ । स्थापित वर्गमा सदस्यता पाउन दुई तीन वर्षदेखि निरन्तर काम गरिरहेको हुनुपर्ने, विभिन्न प्लाटफर्ममा निश्चित संख्यामा फलोअर वा इन्फ्लुएन्सर हुनुपर्ने जस्ता प्रावधान राखेर विधान तयार पार्ने काम भइरहेको सन्जोगले जानकारी दिए ।
‘कुनै प्लाटफर्ममा कसैले नचाहिँदो वा विकृति फैलाउने किसिमका कन्टेन्ट बनाइरहेको पाइयो भने उनीहरूलाई एसोसिएसनले नै चेतावनी दिने वा कारबाही गर्नेजस्ता सुधारोन्मुख प्रावधानबारे पनि सोचिरहेका छौं,’ उनले भने, ‘टिकटकमा विकृति बढ्यो भनेर जसरी रातारात प्लाटफर्म बन्द गरियो, त्यस्तो हुन नदिन हाम्रो संगठनले नयाँ र उदयीमान क्रिएटरहरूलाई तालिम, गाइडेन्स र मेन्टरिङका कार्यक्रममार्फत सचेत र जिम्मेवार बनाउन पहल गर्नेछ । सरकारलाई पनि आफ्नो धारणा पेस गर्नेछ ।’
