पेबल आर्टमा ‘क्रिएसन’

क्यान्भास, पेबल आर्ट र ट्याटुमार्फत कलाकारितामा व्यस्त बागलुङका मिलनले कुश्माको तीन सय वर्ष पुरानो ‘शताब्दी घर’, कालीगण्डकी नदी, बुद्धलगायतको चित्र कोरेका छन्

चैत्र ८, २०८०

प्रकाश बराल

'Creation' in Pebble Art

बागलुङ — झन्डै ६ फिट अग्लो कद । झुस्स दाह्री । लामो कपाल अनि हातमा ट्याटु खोपेका युवक । कालीगण्डकी बगर र काठेखोलाको किनारमा नियमित पुग्छन् उनी । खोला किनार र जंगलमा घण्टौं बिताउँछन् । खोलाले बगाएर ल्याएका काठका ठुडा बटुल्छन् । किनारमा भेटिएका मसिना ढुंगा संकलन गर्छन् ।

कहिले झोलामा बोकेर घर ल्याउँछन् भने कहिले खोलामै भेटिएका काठका टुक्राले फ्रेम बनाएर ती ढुंगा त्यहीं टाँस्छन् । घरबाट बिहानै निस्कने यी युवाले खानपिन गर्न पनि बिर्सन्छन् । कारण, ढुंगा केलाएर ‘पेबल आर्ट’ मा रमाउँछन् उनी । र, तीनमा देवीदेवता, मानिस र जनावरको आकृति दिन्छन् । 

उनी हुन्, बागलुङ नगरपालिका ९ का मिलन खत्री । काठका टुक्राबाट जंगली जनावर, नटराज, विभिन्न व्यक्तिका आकृति बनाएर सजाउने काम पनि गर्छन् उनले । कुनै दिन घण्टौं कोठाभित्रै अडिन्छन् । अर्डरअनुसार ट्याटु पनि खोप्छन् । ट्याटुमा जंगली जनावर, पुतली, सम्बन्धित व्यक्तिका अभिभावकको चित्र तथा देवीदेवतासमेत बनाउँछन् । समय मिलाएर क्यानभासमा चित्र कोर्छन् । पुराना र ऐतिहासिक स्थलको भ्रमण पनि खत्रीको रुचि हो । ती स्थानमा पुगेपछि परम्परागत सामान, समाज, सांस्कृतिक क्रियाकलाप नियाल्ने उनको बानी छ । जंगल, खोला, झोलुंगे पुल पुगेर वास्तविक र जीवन्त चित्र कोर्ने उनको सोख छ ।

फर्केर ती सबै विषयलाई कलामा रूपान्तरण गर्छन् । कागजमा स्केच बनाउने, क्यानभासमा चित्र कोर्ने, पेबल आर्ट गर्ने, भित्तामा पनि आकर्षक चित्र बनाउने कामसमेत उनको दैनिकीजस्तै भइसकेको छ । उनका ९० प्रतिशत चित्र र कला मूर्त र १० प्रतिशत अमूर्त छन् । कुश्माको ३ सय वर्ष पुरानो ‘शताब्दी घर’, नेपालकै लामो र अग्लो झेलुंगे पुल, कालीगण्डकी नदी, बुद्ध, आफ्नै अभिभावक, तत्कालीन राजा, राणा प्रधानमन्त्रीलगायत दर्जनौं क्षेत्र र मानिसको चित्र कोरेका छन् खत्रीले । 

'Creation' in Pebble Art

यस्ता सौखिन र कलात्मक सामान राखेर चित्र कोर्ने सटर भाडामा लिन खोज्दा उनले पाएनन् । कतिपयले यस्ता ‘पागल’ लाई कोठा दियो भने भाडा उठ्दैन पनि भने । तर उनले हिम्मत हारेनन् । लगातारको पहलपछि सदरमुकामको सडकदेखि भित्री गल्लीमा कोठा पाए । त्यहीं बसेर उनले आफ्नो कला तिखार्दै लगेका छन् । ‘अहिले त जसले पागर भन्यो, उनीहरू नै मेरोमा ट्याटु खोपिदिन खोज्दै आउँछन्,’ खत्रीले भने, ‘भाडामा घर नदिएकाहरू पनि पछुतो मानेका छन् ।’ शारीरिक अवस्था र ट्याटु खोपेको युवालाई ट्यापे, मुन्द्रे भनेर हेला गर्ने समाज अहिले उनको मिहिनेतबाट प्रभावित छ । 

खत्रीले विद्यामन्दिर माविबाट २०६२ सालमा एसएलसी उत्तीर्ण गरेपछि धौलागिरि बहुमुखी क्याम्पसमा व्यवस्थापन पढे । बीबीएस अध्ययन गरेका ३४ वर्षीय खत्रीको परिवारमा जागिर खाइदिए हुन्थ्यो भन्ने चाहना थियो । बाबु कविराज भारतीय सेनाका निवृत्त र आमा तुलसी गृहिणी हुन् । दाइ किरण दुबई र भाइ अर्जुन जापानमा छन् । उनी आफैं पनि १२ वर्षअघि अफगानिस्तान पुगे । एक वर्षपछि फर्किएका उनी चार वर्षपछि कतार पनि पुगे । तर विदेशमा बस्न सकेनन् । ‘विदेश गएर पैसा कमाओस् भन्ने परिवारको चाहना हो, तर कलाकारिता, क्रियसन र चित्रकलामा मन गयो,’ खत्रीले भने । 

राज्यका महत्त्वपूर्ण निकायमा बस्नेले अझै यो क्षेत्रको महत्त्व नबुझेको उनको गुनासो छ । अहिले परिवारबाट भने उनले राम्रो साथ पाएका छन् । ‘जब समाजले यस्तो कला चिन्छ, तब मात्र यो आकर्षक क्षेत्र बन्छ,’ उनी भन्छन् । खत्रीले आफ्नै छिमेकी तीन युवालाई पनि यो पेसामा ल्याइसकेका छन् । रविन खड्का, आदर्श श्रेष्ठ र सौगात कार्कीले मिलनको यो अभियानमा साथ दिएका हुन् । मासिक १२ हजार भाडा तिरेको सटरमा साथीहरूले माला बनाउने, सिस्नोको धागो निकाल्ने, क्रिस्टल भर्ने तथा ‘उड आर्ट र ट्याटु खोप्ने काम’ मा साथ दिने गरेका हुन् ।

खत्री बेलाबखतमा ललितकला क्याम्पस र प्रज्ञा प्रतिष्ठानमा हुने कार्यशालामा पुग्छन् । जिल्लामा हुने मेलामहोत्सवमा स्टल खोजेर बस्छन् । एउटा फोटो बनाउन उनलाई तीन दिनसम्म लागेको छ । किन्न आउनेले क्यामेराले खचेको मूल्यमा खोज्छन् । तर कतिपयले भने सामाजिक सञ्जालबाटै अर्डर गरेर लैजान्छन् । ‘मैले एउटै फोटोमा २५ हजारसम्म पाएको छु,’ उनले भने, ‘पोट्रेट पनि २० देखि २४ हजारमा बिकाउन सकें ।’ 

हाल उनको तीनकोठे सटर चित्रले नै भरिएको छ । ट्याटु बनाउँदा भने आइप्याडमा फोटो हेरेर पहिले स्केच बनाउँछन् । त्यसपछि क्यानभासमा उर्ताछन् । ‘फोटो हेरे पनि कागजमा स्केच उतार्ने, त्यसपछि ट्याटु बनाउने काम पनि गर्छु,’ उनले भने, ‘कतिपयले भने चित्त बुझेर भनेकै मूल्य तिर्छन् । कतिपयले घटाउने प्रयास गर्छन् ।’

'Creation' in Pebble Art

ट्याटु खोप्ने काम भने केही जोखिमको भएको उनले बताए । ‘ट्याटु खोप्दा निकै होसियार हुनुपर्छ । एउटालाई प्रयोग गरेको पिन अर्कोलाई प्रयोग गर्न मिल्दैन,’ खत्रीले भने । 

खत्रीको कला अभियानबारे बागलुङ नगरका जनप्रतिनिधिले पनि चासो व्यक्त गर्ने गरेका छन् । युवा रोजगारी तथा रचनात्मक काममा खत्रीलाई साथ दिन सकिने उपप्रमुख राजु खड्का बताउँछन् । ‘पर्यटन प्रवर्द्धन, युवा रोजगारीजस्ता काममा नगरले साथ दिन सक्छ,’ खड्काले भने, ‘युवा उद्यमी पुरस्कार दिएर पनि यस्ता कामलाई प्रोत्साहन गर्न सक्छौं ।’ नीति कार्यक्रम तथा बजेटमा उनीहरू लाई जोड्ने पहल गर्ने खड्काको भनाइ छ । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully