शुद्धोधनका ‘माछा गुरू’

रूपन्देहीको शुद्धोधन–७ का पुण्यप्रसाद चौधरीले ७ बिघामा १२ वटा पोखरीमा माछापालन गर्दै आएका छन् 

चैत्र ७, २०८०

दीपेन्द्र बडुवाल

”Fish Guru” of Suddhodhan

भैरहवा — जीवनमा साधना जरुरी छ । साधना भन्दैमा एकान्तमा ध्यान, तप, जप नै गर्नुपर्छ भन्ने छैन । जीवन निर्वाहका लागि निरन्तर गरिने कतिपय कामले खुसी प्रदान गर्छन् । त्यस्तो खुसीले लामो तपस्या सफल भएको अनुभूति दिन्छन् । कामले निराशामाथि विजय प्राप्त गरेपछि जिन्दगी सफल बन्छ । एकपछि अर्को सफलताले पछ्याउँछन् ।

यो अनुभूति रूपन्देहीको शुद्धोधन–७ भगलापुरका पुण्यप्रसाद चौधरीको हो । उनका सखाले विदेशतिर लागे । उनले स्वदेश रोजे । अझ गाउँघर । अहिले गाउँघरमै माछापालनबाट उनलाई पुण्य मिलेको छ । सुख मिलेको छ । आफूसँगै परिवार सुखी तुल्याएका छन् । 

पुण्यले २२ वर्षअघि २० वर्षको उमेरमा संघर्षको सुरुवात गरेका थिए । तर, उनीसित उद्यम गर्न लगानीका लागि केही थिएन । एउट भरोसा परिवारमाथि थियो । माछापालनका लागि पोखरी खन्ने इच्छा व्यक्त गरेपछि बुबा फौदारप्रसादले धान बिक्री गरेर ३० हजार रुपैयाँ हातमा थमाइदिए । ‘बुबाले दिएको ३० हजार रुपैयाँले आफ्नै १५ कट्ठामा पोखरी खने,’ पुण्यले भने, ‘पहिलो वर्ष १२ क्विन्टल माछा उत्पादन भयो, त्यो बेचेर ८० हजार रुपैयाँ कमाइ भयो ।’

पोखरी खनेर माछाका भुरा हालेको पहिलो वर्ष लगानीभन्दा तेब्बर आम्दानी भएपछि उनी हौसिए । त्यही खेतमा धान र गहुँ खेती गर्दा सरदर वार्षिक २५ हजार रुपैयाँ आम्दानी हुन्थ्यो । माछाबाट अन्नबालीको तुलनामा तेब्बर आम्दानी भयो । उनका अनुसार त्यसबेला माछाका लागि आवश्यक खली र बरानको प्रतिकिलो चार रुपैयाँ मूल्य थियो । माछा प्रतिकिलो ६०/७० रुपैयाँमा बिक्री हुन्थ्यो । परम्परागत खेतीपाती गरेर जीवन निर्वाह गरिरहेको परिवार त्यसपछि माछापालनमा होमियो । विभिन्न उतारचढाव सहेर पुण्य अहिले सफल माछापालक किसान बनेका छन् । व्यावसायिक माछापालनका साथै माछाका भुरा उत्पादनलाई विस्तार गरेका छन् । अहिले माछा पर्यटन अभियन्ता बनेका छन् । 

”Fish Guru” of Suddhodhanदुई दशकअघि रोगजारीका लागि बिदेसिने कमै हुन्थे । पढेलेखेका व्यक्ति कि सरकारी जागिर खान्थे । नत्र गाउँघरमा रल्लिएर समय कटाउने धेरै हुन्थे । त्यहीँ बेला रूपन्देहीको सियारी र शुद्धोधनमा माछापालनको लहर सुरु भयो । त्यो लहर देखेर माछापालन गर्ने सोच बनेको पुण्य बताउँछन् । बुबासित सल्लाह गरे । छोराको योजनामा बुबाले साथ दिए । नाफा हात पर्न थालेपछि पुण्यले माछापालन ज्ञान प्राप्त गरेका थिएनन् । ज्ञान हासिल गर्ने हुटहुटी भए पनि अवसर जुरेको थिएन । यसै क्रममा २०६२ सालमा गाउँमै आएर सरकारी अधिकारीले माछापालनबारे तालिम सञ्चालन गरे । छोटो अवधि तालिममा सहभागी भएर उनले प्राविधिक ज्ञान प्राप्त गरे । उनले भने, ‘त्यो तालिम मेरो व्यवसाय विस्तारको टर्निङ प्याइन्ट बन्यो, तालिम लगत्तै थप १५ कट्ठामा पोखरी खने र पूर्ण व्यावसायिक माछापालनमा लागेँ ।’ त्यसपछि भने उनले पछाडि फर्केर हेर्नुपरेको छैन । माछापालनबाट अहिले उनी जिल्लामा मात्र नभएर मुलुकमै कहलिएका छन् । उनको प्रशंसा गर्ने धेरै छन् । 

अहिले ‘माछा गुरू’ बनेका छन् । माछा र भुरा खरिद गर्न आउनेको घुइँचो लाग्छ । यसबाहेक माछापालन गर्न आवश्यक सल्लाह लिने आउने धेरै हुन्छन् । उनीबाट व्यवसायिक सीप र ज्ञान सिक्ने गर्छन् । उनी २०६३ मा रूपन्देहीमा सबैभन्दा बढी माछा उत्पादन गर्ने किसान घोषित भए । धेरै उत्पादन गरेबापत पुरस्कृत पनि भए । सबैतिरबाट प्रशंसा मिलेर हौसिएका पुण्यले अहिले ७ बिघा क्षेत्रफलमा १२ वटा पोखरीमा माछापालन गर्दै आएका छन् । सुरुमा माछा उत्पादन गरेर बिक्री गर्दै आएका उनले २०६८ बाट भुरा उत्पादन थाले । यसकै आम्दानीले दुई बिघा जमिन खरिद गरेको उनले बताए । त्यसयता व्यावसायिक क्षेत्र थप विस्तार हुँदै गएको छ । ‘आम्दानी राम्रो हुँदै गयो, दिदीबहिनीको बिहेबारी गरिदियौं, घर बनाएँ, कार चढ्ने भएँ,’ उनले भने, ‘यसरी सफलता प्राप्त गनुमा बुबाआमा, श्रीमतीको ठूलो साथ र सहयोग छ ।’ पुण्यले शान्ति मत्स्य ह्याचरी रिसर्च प्रालिबाट वार्षिक ७ करोड गोटा भुरा उत्पादन गरेर बिक्री गर्दै आएका छन् । रूपन्देहीमै भुरा उत्पादन र बिक्री गर्नेमा उनको फार्म सबैभन्दा ठूलोमध्येमा पर्छ । यहाँ उत्पादन गरेका भुरा उनले मुलुकका दर्जनौं जिल्लासँगै भारत पनि निर्यात गर्दै आएका छन् ।

”Fish Guru” of Suddhodhanमाछापालनबाट मनग्य आम्दानी गरिरहेका पुण्य दुई वर्षदेखि पर्यटन व्यवसायी बनेका छन् । आफ्नै पोखरीको छेउमा ६ करोड रुपैयाँ लागनी गरेर २५ कट्ठा जमिनामा सुविधासम्पन्न सखिया फिस रिसोर्ट सञ्चालनमा ल्याएका छन् । स्थानीय कला संस्कृति समेटेर तयार गरिएको रिसोर्ट पनि आकर्षणको केन्द्र बनेको छ । पोखरीबाट उत्पादित माछाका थरीथरी परिकार बनाएर उनले रिसोर्टमा आउने पाहुनालाई खुवाउँछन् । पोखरीमाथि रेस्टुरेन्ट बनाएका छन् । पोखरीका माछा अवलोकन गर्दै त्यहाँ ३० जनाले बसेर खान मिल्छ । १६ जनालाई रोजगारी दिएका छन् । ‘होटल पनि राम्रो चलेको छ । 

पोखरीको उत्पादन पनि यही खपत हुने गरेको छ,’ उनले भने, ‘माछा पारखीले विभिन्न परिकारको स्वाद लिन पाउँदा निकै खुसी हुनुहुन्छ ।’ उनको रिसोर्टमा १२ वटा वातानुकुलित कोठा छन् । पोखरीमाथि बनाइएको टहरामा बसेर यहाँ आउने पाहुनाले माछाको स्वाद लिन सक्छन् । सभासमारोहका लागि सुविधायुक्त सभाहल छ । ‘एकैपटक ८० जनाभन्दा बढीलाई सेवा दिन सक्ने गरी रिसोर्ट बनाएका छौं,’ उनले भने, ‘यहाँ आउनेले अर्गानिक थरीथरीका परिकारसँगै माछाका मात्रै दर्जन परिकारको स्वाद लिन पाउनुहुन्छ ।’ कृषिलाई पर्यटनसित जोड्नुपर्ने बताए । ‘यसो गरेमा किसान डुब्ने जोखिम कम हुन्छ, त्यही कारण मैले माछापालन र पर्यटन व्यवसायलाई साथसाथै अघि बढाएको छु ।’

”Fish Guru” of Suddhodhanअहिले वार्षिक ७ करोडका भुरा बिक्री गर्छन् । यसबाट वार्षिक ६० लाख रुपैयाँ हाराहारी आम्दानी गर्छन् । रातदिन परिवारसँगै आफैं काममा खटिन्छन् । उनका जेठा छोरा होटल व्यवस्थापनमा स्नातक अध्ययनरत छन् । कान्छा छोरा १२ कक्षा अध्ययनरत छन् । १२ वटा पोखरीमा माछापालन र होटल सञ्चालनमा परिवारै खटिन्छन् । छोराको प्रगति देखेर बुबा फौदार हर्षित छन् । ‘छोराले केही गर्छुभन्दा मैले बिनासंकोच धान बेचेर लगानी गरेँ,’ उनले भने, ‘काममा निरन्तर खट्यो, अहिले सफलता देख्दा निकै खसी लाग्छ ।’ फौदारले परम्परागत खेतीभन्दा माछापालन राम्रो भएको बताए । ‘माछापालनमा केही चुनौती छन्, ती समस्या सरकारले समाधान गर्ने हो भने माछापालन झनै फस्टउँछ,’ उनले भने । माछा नगदेबाली हो । प्रायः सबै किसिमका बिरामीले सेवन गर्दा असर गर्दैन । अर्कातर्फ माछापालन गर्दा भूमिगत सिँचाइ बचाइराख्छ भने पर्यावरणलाई समेत राम्रो गर्छ । जसले गर्दा रूपन्देहीमा पछिल्लो पटक व्यावसायिक माछापालक कृषक दैनिक बढ्दै छन् ।

”Fish Guru” of Suddhodhanनयाँका लागि पुण्य उदाहरण हुन् । माछापालनमा उत्कृष्ट ठहरिएकै कारण पुण्य दर्जनौंपटक स्थानीय र राष्ट्रिय पुरस्कारबाट पुरस्कृतसमेत भएका छन् । व्यावसायिक माछापालनबाट छलाङ मारिरहेका पुण्यका सरकारसँग गुनासा नभएका भने होइनन् । भारतबाट चोरीपैठारी गरी माछा भित्र्याइँदा, कृषि ऋणको ब्याज वृद्धि, दाना महँगो हुनु, माछापालनलाई उद्योग सहर राख्दा आयकर र विद्युत् महसुल बढी हुनुजस्ता समस्याले पिरोल्ने गरेको उनले सुनाए । ‘यस्ता समस्या हल गरेर सरकारले सहुलियत दिए मजस्ता कैयौं कृषकका कारण मुलुक आत्मनिर्भर बन्ने थियो,’ उनले भने, ‘सबैभन्दा पहिला सीमा नाकामा कडाइ हुनुपर्छ ।’

”Fish Guru” of Suddhodhanव्यावसायिक माछापालनमा लाग्ने कृषकलाई प्रधानन्त्री आधुनिकीकरण परियोजनाले पनि सहयोग गरिरहेको उनले जनाए । ‘सरकारले सहयोग नगरेको होइन्, देख्दा सामान्य तर कृषकलाई निकै असर गरिरहेका समस्या छन्, ती हल हुनुपर्छ,’ उनले भने, ‘किसानलाई अन्तर्राष्ट्रियस्तरको तालिम र भ्रमणको पनि आवश्यकता छ ।’

दीपेन्द्र

Link copied successfully