इन्डियन प्रिमियर लिगको १७ औं संस्करण शुक्रबारदेखि सुरु भइसकेको छ । मे २६ सम्म चल्ने प्रतियोगिताका क्रममा सबैभन्दा बढी पछ्याउनलायक पााच खेलाडीमा अस्ट्रेलियाका दुई र न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजका एक/एक खेलाडी छन् ।
काठमाडौँ — त्यसै भनिएको होइन, इन्डियन प्रिमियर लिग (आईपीएल) ले विश्व क्रिकेटमा सबथोक परिवर्तन गर्यो भनेर । कुनै समय इंग्लिस प्रिमियर लिगमा फुटबल खेलाडीले कमाएको पैसा सुनेर लोभिने क्रिकेट खेलाडीहरू अचेल आईपीएल खेलेर त्यत्तिकै कमाउने भइसके ।
खेलाडीले कमाउने आधारमा मात्र होइन, आईपीएलसँग जुन प्रकारले आर्थिक गतिविधि जोडिएको छ, त्यसले देखाउँछ, विश्व खेलकुदकै सबैभन्दा महँगो लिगमा पर्छ यो ।
शुक्रबारदेखि प्रतियोगिता पनि सुरु भइसकेको छ, सन् २०२४ को संस्करण । आईपीएलमा खेलाडी भित्र्याउने भनेको लिलामीको माध्यमबाट हो । प्रतियोगितामा सहभागी हुने फ्रेन्चाइज टिमहरू आफूलाई मन पर्ने खेलाडी किन्न मन खोलेर खर्च गर्छन् । त्यसैले त यो खेलाडी लिलामी पनि बहुप्रतीक्षित अवसर रहने गरेको छ । टिमले बढी रकम तिर्ने भनेको राम्रा खेलाडीलाई त हो । त्यस अर्थमा तिनै खेलाडी हुनेछन्, प्रतियोगिताका क्रममा सबैभन्दा बढी पछ्याउन लायक । यसपल्टको १७ औं संस्करणमा त्यस्ता पाँच खेलाडी को–को हुन् त ?
मिचेल स्टार्क (कोलकाता नाइटराइडर्स)
आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन्, अस्ट्रेलियाली फास्ट बलर मिचेल स्टार्क । तल्लो क्रमको ब्याटरका रूपमा महत्त्वपूर्ण योगदान दिन सक्षम स्टार्कका लागि कोलकाताले २९ लाख ८० हजार डलर खर्चेको थियो । टेस्ट क्रिकेटमा ३ सय ५८ विकेट लिइसकेका स्टार्क बायाँ हाते स्विङ बलर हुन् । उनी नौ वर्षपछि फेरि आईपीएल खेल्दै छन् । त्यस अगाडि उनले रोयल च्यालेन्जर्स बेंगलुरुका लागि खेलेका थिए । अभ्यासका लागि उनी कोलकातामा उत्रँदा त्यसले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । यी ३४ वर्षीय खेलाडीले भारतमै भएको वान–डे विश्वकपमा १६ विकेट लिएका थिए ।
प्याट कमिन्स (सनराइज हैदराबाद)
प्याट कमिन्स हुन्, वान डे विश्वकप विजेता अस्ट्रेलियाली टिमका कप्तान । यसपल्टको आईपीएलमा उनी सनराइज हैदराबादको पनि नेतृत्व गर्दै छन् । आईपीएलमा उनले कप्तानी गर्न लागेको भने यो पहिलो पटक हो । यही सेवाका लागि हैदराबादले उनलाई २५ लाख डलर तिर्न तयार भएको हो । लिलामीमा यी ३० वर्षीय फास्ट बलर सबैको आकर्षणमा थिए । भारतीय भूमिमै अस्ट्रेलियालाई वान–डे विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएपछि उनको महत्त्व बढेको हो । उनकै नेतृत्वमा अस्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनसिप जितेको थियो, अझ त्यो पनि भारतलाई नै हराएर ।
ड्यारेल मिचेल (चेन्नई सुपर किंग्स)
ब्याटिङ अलराउन्डर हुन्, न्युजिल्यान्डका यी खेलाडी । ड्यारेल मिचेल ब्याटबाट योगदान त दिन्छन् नै, उत्तिकै सटीक बलिङ पनि गर्छन् । आजभोलिको छोटो क्रिकेट ढाँचामा कुनै पनि टिमलाई चाहिने भनेकै यस्तै अलराउन्डर खेलाडी हुन् । वान–डे विश्वकपमा न्युजिल्यान्डका लागि उम्दा खेलेका मिचेल १६ लाख डलरमा मज्जाले विकेका थिए र किन्ने टिम थियो, डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स । उनी ३२ वर्षका भए र अझै राम्रो खेलिरहेका छन् । संयोग कस्तो भने उनले पनि वान–डे विश्वकपमा राम्रो गरे, दुई शतक प्रहार गरे । यी दुवै शतक भारतविरुद्ध नै थिए, समूह चरण र सेमिफाइनलमा ।
रोभमन पावेल (राजस्थान रोयल्स)
अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिज अब शक्ति रहेन, तर ट्वान्टी– ट्वान्टी क्रिकेटमा तिनका खेलाडीको उपस्थिति अझै उत्तिकै दरिलो छ । यसकै एउटा उदाहरण हुन्, रोभमन पावेल । राजस्थान रोयल्सले उनका लागि दुबईमा भएको लिलामीमा आठ लाख ९० हजार डलर तिर्न तयार भएको थियो ।
पावेलको सबैभन्दा ठूलो शक्ति भनेकै शक्तिशाली प्रहार गर्नु हो, त्यो पनि एकपछि अर्को । त्यसैले त उनको स्ट्राइकर रेट पनि १ सय ४४ रहेको छ । मध्यक्रमका ब्याटरका रूपमा मैदानमा ओर्लेर इनिङ्सका अन्त्यतिर उनी जोडदार प्रहार गर्ने गर्छन् । त्यसले टिमको स्कोर एकाएक बढ्ने गर्छ ।
गेराल्ड कोएट्ज (मुम्बई इन्डियन्स)
पछिल्लो वान–डे विश्वकपमा राम्रो प्रदर्शन गर्ने खेलाडीका रूपमा पर्छन्, दक्षिण अफ्रिकाका यी फास्ट बलर गेराल्ड कोएट्ज । उनले आठ खेलमा २० विकेट लिए । नतिजा मुम्बई इन्डियन्स उनका लागि ६ लाख डलरभन्दा केही बढी तिर्न तयार भयो । पछिल्लो सिजन मुम्बईका लागि राम्रो भएन । त्यसैले बलिङ आक्रमणमा जसप्रित बुमराहलाई साथ दिन कोएट्जलाई झिकाइएको हो भन्दा हुन्छ ।
गत वर्ष मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा देखापरेका २३ वर्षीय कोएट्जले मुम्बई जत्तिको टिमबाट खेल्नु पाउनुलाई ठूलो मानेका छन् । बुमराहबाट केही सिक्न पाएपछि राम्रो हुने उनको तर्क छ ।
