‘लुम्बिनी सम्मेलन स्थगनले अन्तर्राष्ट्रिय छविमा असर’

नोबेल पुरस्कार प्राप्त १० र पूर्वराष्ट्राध्यक्षहरूसहित डेढ सय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरूको आगमन स्थगित

फाल्गुन २३, २०८०

घनश्याम गौतम, जगदीश्वर पाण्डे

Postponement of Lumbini conference affects international image

बुटवल, काठमाडौं — केन्द्रमा भएको सत्ता गठबन्धन फेरबदलले लुम्बिनी प्रदेशले गर्न लागेको अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित भएको छ । लुम्बिनी सरकारको आयोजनामा फागुन २८ र २९ मा हुन लागेको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको हो । 

मंगलबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कार्यक्रम स्थगित गरेको छ । अन्तिम समयमा कार्यक्रम स्थगित हुँदा सम्मेलनमा सहभागी हुने भनिएका अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरूको आगमन पनि रोकिएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पार्ने परराष्ट्र तथा अन्तर्राष्ट्रिय मामिलाका जानकार बताउँछन् । 

सम्मेलन गराउन कांग्रेस नेता तथा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेतृत्व गरिरहेका थिए । तर, सम्मेलनमा आफूहरूलाई नसमेटेको र सल्लाह नगरेको भन्दै गठबन्धन परिवर्तनलगत्तै लुम्बिनी एमालेबाट विरोध भयो । प्रदेशका प्रतिपक्ष र सत्तापक्ष दलको असन्तुष्टि तथा राजनीतिक घटनाक्रम पनि फेरिएपछि मुख्यमन्त्री चौधरी पनि सम्मेलन गर्न अनिच्छुक देखिए । ‘केन्द्रीय सरकारमै राजनीतिक कोर्स बदलिएपछि लुम्बिनीको सरकार पनि रहन्छ कि रहन्न भन्ने भयो । कर्मचारीमा पनि त्रास बढ्यो,’ मुख्यमन्त्री चौधरीले भने, ‘राजनीतिक परिवर्तनका कारण सम्मेलन गर्ने मनस्थिति कसैमा देखिएन, त्यसैले स्थगित नै गर्ने निर्णय गर्‍यौं ।’

सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्रप्रमुख, पूर्वप्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो । नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका प्रतिनिधि, विश्वव्यापी नीति निर्माता र युवा नेतासहित ३ सयभन्दा बढी विज्ञ पनि सहभागी हुने तयारी थियो । ‘कतिपय विदेशी अतिथि भारतको दिल्ली आइसकेका थिए । स्थगितको खबरले उनीहरू निराश भएका छन्,’ मुख्यमन्त्री चौधरीले भने, ‘लुम्बिनीका लागि मात्रै हैन मुलुककै लागि यो ठूलो नोक्सानी हो ।’

एमाले विदेश विभाग प्रमुख राजन भट्टराई विदेश नीति र मामिलामा यस्ता अपरिपक्व निर्णय गर्न नहुने बताउँछन् । ‘पहिला किन र के कारणले आयोजना गर्ने निर्णय गरियो ? र, अहिले के भएर रद्द गरियो ? यो सरकारमा बस्नेहरूले जान्ने विषय हो,’ उनले भने, ‘तर विदेश नीति र मामिलामा यस्ता अपरिपक्व निर्णय गर्ने काम गर्नु हुन्न । अन्तर्राष्ट्रिय समुदायमा के सन्देश जान्छ भन्ने पटक्कै नहेरीकन निर्णय गरे जस्तो लाग्यो ।’ 

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य कार्यक्रम स्थगित हुँदा अन्तर्राष्ट्रिय रूपमा राम्रो सन्देश नजाने बताउँछन् । ‘पहिले सगरमाथा संवाद गर्ने भनियो, तर गरिएन । अहिले पनि लुम्बिनीमा उक्त कार्यक्रम गर्ने भनेर पहिला घोषणा गरियो, अहिले रद्द भयो,’ उनले भने, ‘यसले अन्तर्राष्ट्रिय रूपमा सम्बन्ध बिग्रिन्छन् । यो कार्यक्रम गर्ने निर्णय पहिले नै सोचेर गर्नुपर्थ्यो वा काम गर्ने भनिसकेपछि जसरी पनि गर्नुपर्थ्यो । कार्यक्रम घोषणा गरेर, अन्तर्राष्ट्रिय रूपमा निम्तो बाँडेर अन्तिम समयमा स्थगित गर्दा अन्तर्राष्ट्रिय रूपमा नेपालको विश्वसनीयता घट्छ ।’

नेपालमा सरकार परिवर्तन भएसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा समेत प्रभाव पर्ने गरेको आचार्यले उल्लेख गरे । ‘सुरुआतमा मिति नै अर्को विषयसँग मिल्न गएपछि यो कार्यक्रम एक दिन पछि सार्नु पर्‍यो । नयाँ सत्ता समीकरणले मुख्यमन्त्री नै परिवर्तन हुने देखियो । राजनीतिक अस्थिरताको कोपभाजनमा अन्तर्राष्ट्रिय कार्यक्रम परेको जस्तो छ,’ उनले भने ।

परराष्ट्र मामिलाविद् तथा पूर्वराजदूत दिनेश भट्टराई पनि आन्तरिक राजनीतिक घटनाक्रम तलमाथि हुँदैमा अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित हुनु गलत मान्छन् । ‘यस्तो घटनाले अन्तर्राष्ट्रिय रूपमा राम्रो सन्देश जाँदैन । हामीले सुरुआतमा नै कार्यक्रमको घोषणा गर्दा ध्यान दिनुपर्थ्यो,’ उनले भने, ‘कार्यक्रम हुने भएर अन्तिममा आएर स्थगित गरेपछि नेपालको छविमा नै असर पुग्छ ।’

विश्वव्यापी रूपमा बालबालिकाको उत्थान प्रक्रियामा देखिएका चुनौती र विपन्नतालाई अन्त्य गर्न, विकास प्रयासका साझा दृष्टिकोणसहित एउटै आवाज र ठोस प्रतिबद्धता विकास गर्न, अन्तर्राष्ट्रिय रूपमा लुम्बिनीको ब्रान्डिङ गर्न भन्दै प्रदेश सरकारले सम्मेलन आयोजना गर्न लागेको थियो । प्रदेश सरकारको असोज १८ र संघीय सरकारको कात्तिक २ को निर्णयअनुसार सम्मेलन हुने तय भएको थियो । कार्यक्रमलाई नीति तथा कार्यक्रममै समावेश गर्नुका साथै प्रदेश संसद्बाट पास भएको बजेटमा स्रोत छुट्याइएको थियो ।

प्रदेशको चालु आर्थिक वर्षको बजेटमा कार्यक्रमका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन भएको थियो । आयोजकका अनुसार नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लिस्टेका राष्ट्रपति जोजे मामोस होर्ता (१९९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेमाह ग्बोवी र तावाक्कोल कर्म्यान सहभागी हुने निश्चित भइसकेको थियो । सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापकमध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायनशास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउने भएका थिए । 

सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अलि विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन टुंगोलगायत पनि लुम्बिनीमा आउने तय भएको थियो । दुईदिने कार्यक्रममा हुने विभिन्न सत्र र त्यसका बोल्ने वक्ताहरूको पनि टुंगो लगाइएको थियो । 

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले पछिल्लो राजनीतिक घटनाक्रमपछि सम्मेलन हुन नसक्ने अवस्था सिर्जना भएको जानकारी दिए । ‘यस्तो अवस्थामा स्थगित नै उत्तम विकल्प देखियो,’ उनले भने, ‘परिवर्तित राजनीतिक घटनाक्रममा सम्मेलनमा सहभागी हुन आउने विदेशी उच्चपदस्थ व्यक्तिहरूले पनि चासो देखाएपछि सम्मेलन स्थगित गरेका हौं ।’

‘कतिपय अतिथि दिल्ली आइसकेका थिए’

Postponement of Lumbini conference affects international imageडिल्लीबहादुर चौधरी

मुख्यमन्त्री, लुम्बिनी 

लुम्बिनी शिखर सम्मेलन किन स्थगित भो ?

मूलतः राजनीतिक परिदृश्य नै बदलियो । केन्द्रीय सरकारमै राजनीतिक कोर्स बदलिएपछि लुम्बिनीको सरकार पनि रहन्छ कि रहन्न भन्ने भयो । त्यसले कर्मचारीमा पनि त्रास बढ्यो । कर्मचारी साथीहरूले जोखिम मोल्न चाहनुभएन । राजनीतिक परिवर्तनले शिखर सम्मेलन गर्ने मनस्थिति कसैको देखिएन, त्यसैले स्थगित नै गर्ने निर्णय गर्‍यौं ।

प्रधानमन्त्रीबाट पनि रोक्न दबाब थियो ?

होइन, होइन । प्रधानमन्त्रीजीले त तयारी भइसकेको छ, गर्नूस् नै भन्नुभएको थियो । तर, राजनीतिक कोर्स र कर्मचारीको मनस्थिति नै बदलिएपछि हामीले पनि जोखिम मोल्न खोजेनौं ।विदेशी दाताहरू र अतिथिहरूमा पनि अब के हुन्छ भन्ने संशय देखियो । त्यसैले परिस्थिति, भोलिको अवस्था सबै विचार गरेर अहिलेलाई स्थगित गर्ने निर्णय गरेका हौं । 

अन्तिम समयमा आएर सम्मेलन स्थगित गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालप्रतिको सन्देश कस्तो जाला ?

पक्कै पनि यो राम्रो भएन । गलत त भयो नै । लुम्बिनीका लागि यस्तो खालको अवसर अब आउलाजस्तो मलाई लाग्दैन । लुम्बिनीको ब्रान्डिङका लागि पनि यो ठूलो नोक्सानी हो । नेपाल आउने विदेशी विशिष्ट व्यक्तिहरूको ठूलो इच्छा थियो । शान्ति क्षेत्र र बुद्धको जन्मस्थल लुम्बिनीमै सम्मेलन आयोजना गर्दा धेरै विदेशीमा उत्साह बढेको थियो । कतिपय विदेशी अतिथिहरू त भारतको दिल्लीसम्म आइसकेका थिए । अहिले उनीहरू निराश भएको अवस्था छ ।

त्यसो भए अब यस्तो सम्मेलन नेपालमा हुन सक्दैन ? 

हुनै नसक्ने भन्ने त छैन । सरकारले पनि के गर्छ भन्नेमा निर्भर होला । अब बन्ने सरकारले कसरी चासो राख्छ भन्ने पनि होला । सरकारले गर्न खोज्यो र विदेशीहरूले पनि इच्छा देखाए भने हुन सक्छ । सरकारले नगरेको अवस्थामा लुम्बिनीको ब्रान्डिङ गर्नका लागि नागरिक स्तरबाट पनि यस्तो कार्यक्रम गर्न सकिन्छ भन्ने अनुभव हामीलाई भएको छ ।

के हुन सक्छ नागरिक स्तरबाट ?

हामीले चाह्यौं भने गर्न सक्छौं भन्ने विश्वास जागेको छ । नागरिक स्तरबाट गर्न सकिन्छ । त्यसतर्फ पनि सोच्न जरुरी छ ।

सत्ता गठबन्धन हेरफेर

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully