कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ओलीको व्यवहार नसुध्रिए दाहालले फेरि कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न सकिन्न : गौतम

‘अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिस्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भूल सुधार गर्नैपर्छ ।’

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । सोमबार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित गठबन्धन बनेकोमा आफूलाई खुसी लागेको भन्दै गौतमले यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने बताए ।

ओलीको व्यवहार नसुध्रिए दाहालले फेरि कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न सकिन्न : गौतम

मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै गौतमले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता कम्युनिस्ट गठबन्धनपछि देखाउन नहुने बताएका हुन् । अहिले गठबन्धन बन्नु अप्रत्याशित भएको पनि उनको भनाइ छ ।

‘अप्रत्याशित हो । हिजोको सत्ता गठबन्धनको परिवर्तन र नयाँ सत्ता गठबन्धनको स्थापना अप्रत्याशित छ । यो कसैले चाहेका थिएनन् । एकातिर प्रधानमन्त्री छँदैछन्, त्यहाँ पहिलो पनि दुई महिना जति केपी ओलीको गठबन्धनमा सामेल भएर प्रधानमन्त्री बन्नुभएको व्यक्ति । यहाँ प्रधानमन्त्री भएर काम गरिरहनुभएको छ । त्यस्तो अवस्थामा, त्यसरी गठबन्धन तोडेर फेरि अर्कोतिर जान सक्नुहुन्छ भनेर कसले कल्पना गरेको हुन्छ र ? सबैको निम्ति अप्रत्याशित भयो,’ गौतमले भनेका छन्।

ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः काँग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने गौतमको भनाइ छ । पहिले पनि ओलीको व्यवहारले नै दाहाललाई कांग्रेससँग नजिक बनाएको उनको विश्लेषण छ । 'केपी ओलीको व्यवहार, छुचो व्यवहार, अपमान गर्ने, कसैलाई पनि अपमान गर्ने, होच्याउनुपर्ने, आफूबाहेक सबै नराम्रो हुन् भन्ने पार्ने त्यस्तो व्यवहार हुन्छ, त्यसले उहाँसँगै गएकाहरू सधैँभर अपमानित महसुस गर्दछन् । केपी ओली, शेरबहादुर, प्रचण्डको व्यक्तित्व एकै हो नि । हामी एकै हौँ भन्नुपर्छ नि । त्यो नगर्नाले नै यो सबै बिग्रिएको छ । अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिस्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भूल सुधार गर्नैपर्छ,’ उनले भनेका छन् ।

नेता गौतमले कांग्रेसका नयाँ पुस्ताका नेताहरूले दाहाललाई बिच्काएको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘अलिअलि खटपट भइरहेको कांग्रेसका नयाँ-नयाँ नेताहरूले प्रधानमन्त्रीको आलोचना गर्ने, प्रधानमन्त्री छोडेर जाउ, केही मतलब छैन, यस्ता प्रधानमन्त्री फेरि अर्को हुन्छ, भन्ने कुराहरू उठाउने, शेरबहादुरजी चुप लागेर बस्ने र मौका पर्‍यो भने नयाँ केटाहरुलाई उचाल्दिने गरेकाले प्रचण्डजीको मन बिग्रिएका होलान् ।’

गौतमले केपी ओली र दाहालले आफूलाई सहमत गराई संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताए । उनले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने बताए ।

प्रकाशित : फाल्गुन २२, २०८० १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×