कांग्रेसद्वारा विश्वासको मत फिर्ता लिने निर्णय

विपक्षी मोर्चा बलियो बनाउने देउवाको रणनीति

फाल्गुन २३, २०८०

कुलचन्द्र न्यौपाने

Decision to withdraw vote of confidence by Congress

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन सातदलीय गठबन्धन भत्काएर नयाँ समीकरण बनाएसँगै कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकले विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।

यससँगै संसद्को ठूलो दल कांग्रेस प्रमुख प्रतिपक्षको बेन्चमा पुगेको छ भने प्रधानमन्त्री दाहालले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने भएको छ । दुवै पक्ष आआफ्नो मोर्चा बलियो बनाउने कसरतमा पनि जुटेका छन् ।

तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसले मात्रै विश्वासको मत फिर्ता लिएको हो । कांग्रेससँगै गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) नयाँ गठबन्धनमा सामेल भइसकेको छ । कांग्रेसबाहेकका अन्य दललाई नयाँ समीकरणमा तान्ने प्रयास प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । प्रधानमन्त्री दाहालबाट पटक–पटक ‘धोका’ पाएको बताएका कांग्रेस सभापति शेरबहादुर देउवा पनि सरकारबाहिर रहेका दललाई एकीकृत गरेर संसद्मा बलियो विपक्षी मोर्चा बनाउने पक्षमा छन् ।

विपक्षी मोर्चामा सरकार बाहिरका दललाई गोलबन्द गराउन देउवाले प्रयाससमेत थालेको कांग्रेसका एक नेताले बताए । ‘अहिले हामी प्रतिपक्षमै बस्ने हो, प्रतिपक्षमा बस्दा पनि सबैलाई समेटेर सशक्त विपक्षी मोर्चा बनाऊँ भन्ने हाम्रो ध्येय हो । अरू दलले के गर्छन् ? हाम्रो चासो त्यतातिर छ’ कांग्रेसका अर्का पदाधिकारीले भने, ‘तत्कालै सत्तामा जाने कसरतमा हामी छैनौं । तर, संख्याको खेलमा हाम्रो पुग्ने अवस्था भयो भने अघि बढ्छौं ।’

कांग्रेस नेताहरूको सबैभन्दा बढी चासो संसद्मा २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा रहन्छ कि रहन्न भन्नेमा छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले मन्त्रीको शपथ लिइसकेका छन् । तर सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाएमा सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएका छन् । उनलाई गृह मन्त्रालय दिन माओवादी र एमालेले चाहिरहेका छैनन् । लामिछानेलाई गृह मन्त्रालय दिँदा समानान्तर शक्ति चलाउन सक्ने भय प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीलाई परेको छ ।

गृह मन्त्रालय नपाएकै कारण रास्वपा कथं बाहिरिहालेमा सरकारलाई बहुमत पुर्‍याउन गठबन्धनमा हस्ताक्षर गरेका दलका अतिरिक्त १० सिट संख्या रहेको माधवकुमार नेपालको एकीकृत समाजवादी, ४ सिट रहेको नागरिक उन्मुक्ति, ६ सिट रहेको जनमत पार्टीलाई सहभागी गराउनुपर्ने हुन्छ । यही कारणले नेकपा (एस) लाई फकाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली मंगलबार नेता नेपालको निवास कोटेश्वरमा पुगेका थिए । यस्तै, जनमतले सरकारमा सहभागी हुन मधेश प्रदेशमा र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छन् ।

कांग्रेससँग ०७९ मा तीनवटै तहका चुनावमा चुनावी गठबन्धन गरेको माओवादीले प्रधानमन्त्रीमा कुरा नमिलेपछि सोही वर्षको पुस १० मा कांग्रेससहितको गठबन्धन छाडेको थियो । लगत्तै दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री भए । त्यतिबेला देउवाले आफूबाट गल्ती भएको भन्दै ०७९ पुस २६ मा सरकारलाई विश्वासको मत दिएर दाहाललाई फेरि गठबन्धनमा तानेका थिए । पुस १० गतेको घटनाले एकाएक संघ र प्रदेशमा विपक्षी बन्न पुगेको कांग्रेस दुई महिनाकै बीचमा सत्तामा फर्किएको थियो । कांग्रेस दाहाल नेतृत्वको सरकारमा ०७९ चैत १७ मा सहभागी भएको थियो ।

यसपालि माओवादीले कोशी प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री बनाउन खोज्दा सभामुख त्याग गरेको, कांग्रेसको मुख्यमन्त्री हुन नसकेपछि गठबन्धनले माओवादी उम्मेदवार अघि सार्दा कांग्रेसमै विद्रोह भएको, राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी नेतृ चम्पादेवी कार्की पराजित भएको, कांग्रेस महासमिति बैठकमा चुनावी गठबन्धन नगर्नेदेखि जनयुद्धका कारण आर्थिक विकास नभएको नीति प्रतिवेदन पारित गरेकोलगायत कारणले गठबन्धन छाडेको प्रतिक्रिया दिएको छ ।

‘माओवादीका कुरा बनावटी’

कांग्रेस सभापति देउवाले भने माओवादीका कुराहरू सबै नाटक र बनावटी भएको बैठकमा बताएका थिए । ‘माओवादी नेताहरूले जे भनिरहेका थिए, ती सबै पूरा गरेको भए पनि ढिलो चाँडो गठबन्धन छोड्ने रहेछन्’ उनको भनाइ थियो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन बचाउन अन्तिम समयमा गरिएका प्रयासबारे जानकारी गराएका थिए । खड्का र अर्का नेता कृष्णप्रसाद सिटौला नयाँ समीकरण बन्नुअघि बालुवाटारमा दाहाललाई फकाउन विभिन्न प्रस्ताव बोकेर गएका थिए । प्रधानमन्त्रीका रूपमा एक बर्षको कार्यकाल बढाउने, राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई नै दिने र सबै मन्त्रीहरू बदल्ने प्रस्ताव लिएर जाँदा प्रधानमन्त्री दाहालले एमालेसँग गठबन्धन गर्न ९९ प्रतिशत सहमति भइसकेको र १ प्रतिशत हस्ताक्षर हुनमात्रै बाँकी रहेको जवाफ उनीहरूलाई दिएका थिए ।

‘नयाँ गठबन्धन बन्दै छ भन्ने थाहा पाएपछि फकाउनेबाहेक अरू उपाय हामीसँग थिएन । हामीलाई पनि एमालेले धेरैपटक अफर गरेको हो । तर, हाम्रो कारणले गठबन्धन भत्किने र आशंका बढ्ने काम गर्न हुन्न, यसले सबै अपजस हामीमाथि आउँथ्यो । अन्तिम समयसम्म पनि यही गठबन्धन नटुटोस् भनेर हाम्रातर्फबाट भएका सबै कमीकमजोरी सच्याउँदै जाने कुरा राखेका थियौं’ खड्काको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर दाहालले माओवादीको स्थायी समितिका ४० जना सदस्यमा सबैले कांग्रेससँग अब गठबन्धन सम्भव हुँदैन, म एक्लो परें भन्नुभयो । हामीले अझै सोच्नुहोस्, शान्ति प्रक्रियालाई टुंग्याउने कुरा पनि सोच्नुहोस् भन्यौं ।’

समीकरण बदल्न दाहालले भित्रभित्र गरिरहेको संवादका बारेमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पनि जानकारी नदिएर एकदमै गोप्य रूपमा गरेको कांग्रेस नेताहरूको बुझाइ छ । कांग्रेस नेता शेखर कोइरालाले दाहालले एकतर्फी गठबन्धन तोड्ने घटना सामान्य नभएको बताए । ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजो (सोमबार) को घटना सामान्य होइन । कमजोर, अस्थिर र सत्ताका लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज कांग्रेसलाई महँगो सावित भएको छ’ कोइरालाले भने, ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यका लागि सजग बनौं ।’

कांग्रेस नेता विमलेन्द्र निधिले नयाँ समीकरण बदलाको भावनाले बनेको आरोप लगाए । ‘प्रचण्डले एकाएक निर्माण गरेको नयाँ गठबन्धन बदलाको भावनामा आधारित छ । देश र जनताको हितमा, संविधानको रक्षा, कार्यान्वयन, संघीयताको प्रवर्द्धन गर्ने दिशामा काम गर्न गठबन्धन बनेको होइन’ निधिले भने, ‘म देखाइदिन्छु भन्ने भावले बनेको गठबन्धनले केही आशा दिन सक्दैन ।’

कांग्रेस नेता अर्जुनरसिंह केसीले पटकपटक गठबन्धन निर्माण गर्ने र टिकाउन नसक्ने अवस्थाको कांग्रेसभित्र गम्भीर समीक्षा हुनुपर्ने बताए । ‘हामीभित्र किन त्यस्तो कमजोरी भयो ? ७४ सालमा कांग्रेससँगकै गठबन्धन सरकारमा रहेको माओवादी सरकारमै बसेर एमालेसँगको गठबन्धनमा पुग्यो । त्यतिबेला पनि सभापति शेरबहादुरजी नै हुनुहुन्थ्यो । ०७९ पुस १० मा त्यही हालत भयो । अहिले गठबन्धनभित्र जे स्थिति आयो, यसभित्रका अविश्वसनीय पक्ष र हाम्रा कमजोरीहरू के–के छन्, समीक्षा गर्नुपर्छ,’ केसीले भने । कांग्रेस फेरि सत्ताका लागि अघि बढेको हो भन्ने प्रश्नमा केसीले थपे, ‘आवश्यकता, सिद्धान्त र परिस्थितिको मागअनुसार जहाँ जुन खालको रणनीति लिनुपर्छ त्यो लिन्छौं । 

सत्ता गठबन्धन हेरफेर

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully