काठमाडौँ — नयाँ सत्ता गठबन्धनका नेताहरूले एकीकृत समाजवादीलाई पनि समाहित गराउन प्रयास गरिरहेका छन् । तर, गठबन्धन गर्नुअघि सुइँको समेत नदिएको भन्दै अध्यक्ष माधवकुमार नेपाल रुष्ट छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुअघि नै एकीकृत समाजवादीलाई गठबन्धनमा सामेल हुन अनुरोध गरेका छन् । नेपाललाई मनाउन सोमबार दाहाल उनको निवासमा पुगेका थिए । मंगलबार दाहाल र ओली सँगै नेपाललाई सहमत गराउने प्रयासमा छन् ।
गृह मन्त्रालय नपाए २१ सिट भएको रास्वपा नै गठबन्धनमा नरहने सम्भावना छ भने प्रदेशमा सरकार बनाउन भने एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्तिलाई समेट्नुपर्ने बाध्यता छ । त्यसैले एकीकृत समाजवादी (१० सिट), जनमत (६) र उन्मुक्ति (४) लाई जसरी पनि समेटेर केन्द्रदेखि प्रदेशसम्मको एकछत्र बनाउने गठबन्धनको प्रयास छ ।
हाल चारदलीय गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१ र जसपाका १२ सांसदसहित कुल १ सय ४२ जनाको समर्थन सरकारलाई छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।
एमाले, माओवादी, रास्वपा र जसपाबीच मन्त्रालय भागबन्डा टुंगो गर्न बसेको कार्यदलको बैठकले एकीकृत समाजवादी, जनमत, उन्मुक्ति, लोसपालाई समेत सँगै लैजाने भन्दै बैठक सार्दै आएका छन् । ‘गठबन्धनमा एकीकृत समाजवादीसहित अरू दल थपिँदा झन् राम्रो हुने भएकाले मन्त्रालय टुंगो बुधबारसम्म हुनेछ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘गठबन्धन सरकारको साझा कार्यक्रम तय गर्नेबारे पनि गृहकार्य भइरहेको छ ।’
कांग्रेस, माओवादीको नेतृत्वमा गठबन्धन गर्दा एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, एमाले र माओवादीबीच नयाँ समझदारी बनेपछि आफ्नो पालो कहिले आउने भन्ने प्रश्न माधव नेपालको रहेको र दाहाल र ओलीले प्रस्ट जवाफ दिन नसकेको नेताहरूको भनाइ छ । एकीकृत समाजवादीले नयाँ गठबन्धनमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न बुधबार सचिवालय बैठक बोलाएको छ ।
