काठमाडौँ — राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा एमालेले राजनीतिक बेइमानी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिक्रिया दिएको छ । राप्रपाका केन्द्रीय प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गठबन्धन गरेको दलको उम्मेदवारलाई भोट नदिएर एमालेले कोसी प्रदेशमा राजनीतिक बेइमानी गरेको बताएका हुन् ।
बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेशबाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौला र प्रतिपक्षी गठबन्धनबाट एमालेकी रूक्मिणी कोइराला विजयी भएका थिए ।
प्रतिपक्षी गठबन्धनबाट राप्रपाका उद्धव पौडेललाई पराजित गरेर सिटौला निर्वाचित भएका थिए । महिला समूहबाट भने प्रतिपक्षी गठबन्धनकी कोइरालाले सत्तारुढ गठबन्धनकी चम्पा कार्कीलाई पराजित गरेकी थिइन् ।
एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उतारिएका पार्टीका उम्मेदवार पौडेल पराजित भएपछि राप्रपा प्रवक्ता श्रेष्ठले भने, 'हामीले इमानदारिपूर्वक मतदान गर्यौं तर एमालेबाट सहमतिअनुरुपको भोट आउन सकेन । एमालेबाट धोका भएको छ ।'
एमालेले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दिनेबेलादेखि नै राप्रपासँग 'राजनीतिक बेइमानी' संकेत गरेको श्रेष्ठको भनाइ छ । 'यो एमालेले सुरुदेखि नै राजनीतिक बेइमानी र धोका दिने संकेत देखाएको थियो,' उनले भने, 'हामी उम्मेदवारी फिर्तालिने दिन नै सहमति गर्न चाहन्थ्यौं । विभिन्न बहाना बनाएर एमालेले माघ ७ गते मात्रै गठबन्धनका लागि सहमति गर्यो । आफ्नो उम्मेदवार जिताउने तर तालमेल गरेको पार्टीको उम्मेदवारलाई हराउनु राजनीतिक बेइमानी हो ।'
