धनगढी — राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिममा प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।
महिला क्लस्टरमा माओवादी केन्द्रकी रेनु चन्दले ४ हजार ४५३ मत प्राप्त गरेर विजयी भइन् । अपांगतर्फ कांग्रेसका नारायणदत्त भट्टले ४ हजार ४१९ मत पाएर विजयी भएका छन् । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहराले ४ हजार ३४७ मत पाएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
बिहीबार भएको मतदानमा स्थानीय तहका १ सय ७६ मध्ये १ सय ७३ जना र प्रदेश सभाका ५२ जनाले मतदान गरेका थिए । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवाले मतदान गरेनन् । एक जना बाजुराको स्वामी कार्तिककी उपाध्यक्ष मैना जोशीको हालै निधन भएको छ ।
मेयर हमाल स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयर हुन् । नाउपाकी तिरुवा विरामी परेर मनदानमा अनुपस्थित भइन् । प्रदेश सभाका ५३ मध्ये एक जनाको मृत्यु भइसकेकाले ५२ जनाले मतदान गरेका हुन् ।
सुदूरपश्चिममा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।
