दाङ — लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्य समूहतर्फ माओवादी केन्द्रका ६१ वर्षीय झक्कुप्रसाद सुवेदी र महिला समूहतर्फ कांग्रेसकी ५७ वर्षीया विष्णुकुमारी सापकोटा विजयी भएका छन् ।
सुवेदीले ५ हजार ४३५ मतभार प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका ६९ वर्षीय झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) ले ३ हजार ३९ मतभार प्राप्त गरेका छन् ।
सुनील स्मृति गाउँपालिका-६ रोल्पाका सुवेदी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आएका थिए । जनमत पार्टीका बालगोविन्द चौधरी (नवलपरासी)ले २ सय ५० मतभार प्राप्त गरे।
महिलातर्फ निर्वाचित मुसिकोट नगरपालिका-७ गुल्मी निवासी सापकोटाले ५ हजार ४३५ मतभार प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी ५१ वर्षीया तुलसाकुमारी केसी (दाङ) ले २ हजार ८६७ मतभार प्राप्त गरेकी छन् । राप्रपाकी उम्मेदवार विजयालक्ष्मी सिंह (कपिलवस्तु) ले २५० मतभार प्राप्त गरिन् ।
निर्वाचनमा ३०५ मतदातामध्ये ३०३ मत खसेको थियो । प्रदेसभा सदस्यतर्फ ८७ मतदाता रहेकोमा ५४ पुरूष र ३३ महिला गरी ८७ मत नै खसेको थियो । स्थानीय तहतर्फ २ सय १८ मतदातामध्ये १२७ पुरूष र ८९ महिला गरी २१६ मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । १०६ मतभार बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय मतदानमा अनुपस्थित रहेका थिए ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।
लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाका दुईजना सदस्यका लागि छ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
