राष्ट्रिय सभामा कर्णालीबाट गठबन्धनका तीन उम्मेदवार नै विजयी 

माघ ११, २०८०

ज्योति कटुवाल

काठमाडौँ — राष्ट्रिय सभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ दैलेखकी सावित्री मल्ल, दलित समूहतर्फ कालिकोटका विष्णु विक र अन्य समूहतर्फ रुकुम पश्चिमका कृष्णबहादुर रोकाय विजयी भएका छन् । 

मल्ल एकीकृत समाजवादीका तर्फबाट, विक माओवादी केन्द्रका तर्फबाट र रोकाय नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । 

प्रदेशसभाका ४० सांसदमध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ मत प्राप्त गरिन् भने स्थानीय तहतर्फ १ सय १५ मत प्राप्त गरेकि हुन प्रतिद्वन्द्व एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ४१ मत प्राप्त गरिन् । 

यस्तै दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । प्रतिद्वन्द्वी एमाले उम्मेदवार दैलेखका हिक्मतबहादुर विकले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे । 

अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेशसभातर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार मुगुका डिल्लीप्रसाद भट्टले प्रदेशसभातर्फ १० र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे ।

राष्ट्रिय सभा निर्वाचन

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully