सल्यान — जाजरकोटलाई केन्द्रविन्द बनाएर शुक्रबार राति गएको भूकम्पले गर्दा जिल्लाको दार्मा गाउँपालिका–५ काउलाबोटका वर्ष ३० का प्रकाश केसीको दुई तले घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्नै नसक्ने अवस्था भएपछि परिवारका चार जनासहित उनी घर नजिकैको बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । दैनिक रुपमा बढ्दै गइरहेको गएको चिसोका कारण उनको परिवारै प्रभावित बनेको छ ।
दार्माकै तीनपोखरी घर भएकी वर्ष ३५ की लीला खत्रीको भूकम्पले गर्दा घर क्षति भएको छ । घरमा क्षति भएपछि शुक्रबार रातभर घरको आंगनमा आगो बालेर बसेकी उनी अहिले आफ्नो पाँच जनाको परिवारसहित घर नजिकै बनाएको बाख्रा खोरमा बस्दै आएकी छिन् । ‘भूकम्पले क्षति भएको घर भित्र पस्न सकिँदैन । त्यहाँ बस्ने जस्तो पनि छैन । सम्बन्धित निकायले कुनै व्यवस्था गरेको छैन । चिसोमा खुला आकाशमुनि बस्नुभन्दा बाख्रा खोरमा बस्नु ठिक भएको छ । बाख्रा बाँधेको खोर दुर्गन्धित छ, तर के गर्नु बाध्यता छ,’ उनले भनिन् ।
यस्तै, तीनपोखरीका अर्का कर्णबहादुर खत्रीको समस्या पनि लिलाको भन्दा फरक छैन । भएको एउटा घर भूकम्पले क्षति बनाएपछि उनी अहिले चार जनाको परिवारसहित बाख्रा खोरमा बस्दै आएका छन् । भूकम्पका कारण भत्किएको घरले अन्नपात तथा लत्ताकपडा पुरिएपछि उनले आफ्ना परिवारलाई न राम्रोसँग खुवाउन सकेका छन् न रातको समयमा राम्रो आढ्नेओछयाउने व्यवस्था नै मिलाउन सकेका छन् ।
यी तीन मात्र नभई भूकम्पले घरहरु क्षति भएपछि दार्मा गाउँपालिका झन्डै सय बढी परिवार र कुमाख गाउँपालिकाका ३० बढी परिवारको अवस्था एकै जस्तो छ । पीडित परिवारले न त राम्रोसँग खान पाएका छन्, न सुत्न नै । पीडित परिवार गाँस र बासको चिन्तामा परेका छन् । सम्बन्धित निकाय अहिलेसम्म क्षतिको संकलनमा जुटेको र भन्ने बित्तिकै राहत उपलब्ध गराउन नसक्दा भूकम्पले घर क्षति भएका पीडित परिवार गाँस र बासको चिन्तामा परेका हुन् ।
भूकम्पले घर क्षती भएपछि रातको समयमा आंगनमा बसेर आगो ताप्दै दार्माका स्थानीय । तस्बिरः कान्तिपुर ।
मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका दार्मा गाउँपालिका-२ लिरापाजाका बहादुर दमाईले भूकम्पले घर क्षति हुँदा अलिअलि भएका सामग्री निकाल्न नसकेपछि शुक्रबार देखि आंगनमा बस्नु पर्दा डरले राम्रोसँग निदाउन नपाएको र पेटभरी आफ्ना परिवारलाई खुवाउन नसकेको बताए । कपडा सिलाएर परिवार पाल्दै आएका उनले भने, ‘कपडा सिलाएर कमाएको पैसाले परिवार पाल्ने हुन्थ्यो । तिहार नजिकिँदै गएकाले कामको चाँप बढ्थ्यो । दुई दिन देखि कामविहिन भएको छु । नत खानेको ठेगान छ न सुत्नेको । छोराछारीले बेलाबेला भोक लाग्यो भन्छन् तर केही दिन सकेको छैन । छिमेकीले अड्कलेर दिएको वस्तुले कति हुन्छ र ।’ उनले सम्बन्धित निकाय समक्ष तत्काल राहतको लागि आग्रह गरे ।
कुमाख गाउँपालिकाका विरबहादुर रोकायले भूकम्पले घर बस्नै नमिल्ने गरी क्षति भएपछि पालिकाले उपलब्ध गराएको त्रिपाल टाँगेर बसेको र अड्कलेर दिएको खाद्यान्नले गुजारा चलाइरहेको बताए । त्रिपालमा बस्नु पर्दा चिसो र भूकम्पको डरले रातमा निदाउन नसकेको उनले बताए । ‘विपत पर्दा घरमा भएका अन्नपात पुरिएका छन् । निकाल्न सक्ने अवस्था छैन । सम्बन्धित निकायले अड्कलेर दिएको वस्तुले ५/६ जनाको परिवारलाई कति पुग्छ र,’ उनले भने । भूकम्पले घर पूर्ण रुपमा क्षति भएपछि अहिले घरको न घाँटको भएको उनको भनाइ छ ।
कुमाख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रकुमार चन्दले भूकम्पका कारण पूर्ण रुपमा घर क्षति भएका १२ जनाको परिवारलाई तत्काल राहतका लागि त्रिपाल र खाद्यान्न उपलब्ध गराएको र अन्य क्षतिको तथ्यांक संकलन भइरहेको बताए । भूकम्पले धेरै घर चर्केपनि जाजरकोट र पश्चिम रुकुमको जस्तो क्षति नभएको उनले दाबी गरे ।
भूकम्पले घर क्षति भएपछि पीडित परिवारलाई भेट्दै दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसी । तस्बिरः कान्तिपुर ।
दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले भूकम्पले गर्दा सयभन्दा बढी घर पूर्ण रुपमा क्षति भएका र विवरण संकलन भइरहेकाले तत्काल सबैलाई राहत उपलब्ध गराउन नसकेको बताए । ‘पीडित परिवारलाई छिट्टै राहत सामग्री वितरण गर्ने तयारी भएको छ । आवश्यक सामग्री अपुग भएपछि बाहिरबाट मगाएका छौं,’ उनले भने । घर क्षति भएका परिवारलाई सकभर सोमबार देखि राहत सामग्री वितरण गरिने उनको भनाइ छ । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले पालिकाका अधिकांश घरहरु चर्किएका उनको भनाए छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले भूकम्पले जिल्लाको दार्मा गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको बताए । उनका अनुसार पीडित परिवारलाई राहत उपलब्ध गराउन आइतबार विपत समितिको बैठक बसेको छ । दार्मा र कुमाख गाउँपालिका लगायतका पालिकामा क्षति भएका घरका लागि रेडक्रस सोसाइटी सल्यानले आइतबार त्रिपाल लगायतका सामग्री उपलब्ध गराउने जानकारी उनले गराए । ‘भूकम्पले क्षति भएकाको विवरण प्रक्रिया अनुसार कार्यालयमा आएमा आइतबार देखि नै राहत दिइने छ,’ उनले भने ।
