भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्ति जाने हो, यो भिडभाड बढाउने बेला होइन : गौतम

कार्तिक १९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — जाजकरकोट भूकम्प प्रभावित क्षेत्रमा अनावश्यक मान्छेहरू गएर भिडभाड गर्न नहुने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आग्रह गरेकी छन् । 

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पबाट आइतबार दिउँसोसम्म जाजरकोट र रुकुमपश्चिम जिल्लामा १ सय ५७ जनाको मृत्यु भएको थियो ।

भूकम्प आएपछि जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावित जिल्लामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेताहरू र विभिन्न संघ संस्थामा आबद्ध व्यक्तिहरू ठूलो संख्यामा पुगेका छन् । भूकम्प प्रभावित ठाउँमा सिप भएका दक्ष जनशक्ति पठाएर तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने सांसद गौतमको आग्रह छ । 

रास्वपा केन्द्रीय सदस्यसमेत रहेकी सांसद गौतमले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावित क्षेत्रमा अनावश्यक भिड नगर्न आग्रह गरेकी हुन् । 'आवश्यक सीपयुक्त मानवस्रोत मात्र संकट ग्रस्त क्षेत्रमा जाने हो । अनुगमन र अवलोकनका नाममा जाजरकोट र रुकुम पश्चिममा पर्यटन प्रबर्धन गर्ने, भिडभाड बढाउने बेला होइन,' उनले आग्रह गरेकी छन्, 'सरकारले उद्धारसँगै छिटो भन्दा छिटो क्षतिको तथ्यांक संकलन गर्ने र सोही अनुसार आकस्मिक र दीर्घकालीन सहयोगतर्फ अबको बहस सोझिनु पर्छ ।' 

सांसद गौतमले सरकारलाई प्रभावकारी रूपमा उद्दार र राहतको काम गरेकोमा धन्यवाद पनि दिएकी छन् । उनले नेपाली सेना, प्रहरी र स्थानीय तहहरूले प्रभावकारी काम गरिरहेको बताएकी छन् ।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बिहानै पुगेका थिए । उनले भूकम्प प्रभावित क्षेत्रमा १२ घण्टा बिताएर क्षतिको विवरण संकलन तथा प्रभावितसँग कुराकानी गरेर शनिबार नै काठमाडौं फर्किएका थिए । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का शनिबारदेखि नै कर्णालीका विभिन्न जिल्लामा प्रभावितहरूलाई भेटिरहेका छन् भने संघीय र प्रदेश सांसदहरू पनि प्रभावित क्षेत्रमा छन् । विभिन्न राजनीतिक दलका नेता र संगठनमा आबद्ध कार्यकर्ता पनि ती क्षेत्रमा रहेका छन् । 

रास्वपाका सभापति सांसद रवि लामिछाने शनिबार नै जाजरकोट पुगेका थिए । उनले जाजरकोटको एक रेडियोमा पुगेर कार्यक्रमसमेत सञ्चालन गरेका थिए । 

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully