कांग्रेसले बनायो भूकम्प व्यवस्थापन सहजीकरण समिति, संयोजक दुई महामन्त्री

कार्तिक १९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट पीडितहरूको व्यवस्थापन सहजीकरणका लागि दुई महामन्त्रीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प व्यवस्थापन सहजीकरण समिति गठन गरेको हो ।

शुक्रबार मध्यरात गएको भूकम्पबाट प्रभावितहरूलाई तत्कालै उद्धार, राहत र पुनर्स्थापनाकालागि सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेसले पार्टीका तर्फबाट व्यवस्थापन सहजीकरण गर्न महामन्त्रीहरूको संयोजकत्वमा समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

त्यस्तै कांग्रेसले भूकम्प पीडितकालागि सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने थप सहयोग रकम संकलन गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूमाझ आव्हान गरेको छ । प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीको राहत कोषमार्फत् सरकारलाई हस्तान्तरण हुने गरी पार्टीका नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरूबाट राहत संकलन गर्ने आव्हान गरिएको बताए । 

पार्टीको निर्णय लगत्तै नेता जीपछिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद दिव्यमणिराज भण्डारीले ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully