(नेपालगन्ज) — बाँके जिल्लामा उपचारका लागि ल्याइएका घाइतेको संख्या ३९ पुगेको छ । उपचाररत घाइतेमध्ये ३८ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार नै भेरी अस्पताललाई भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि डेडिकेटड अस्पताल तोकिएको थियो ।
शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका जाजरकोटका र पश्चिम रुकुमका ३९ जनामध्ये एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको फोकलपर्सन नरेश श्रेष्ठल बताए । कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको एक जना घाइतेलाई पनि आइतबार डेडिकेटेड अस्पताल भेरीमै ल्याउने तयारी गरिएको छ ।
उनका अनुसार शुक्रबारको भूकम्पमा परेका जाजरकोटका २९ र पश्चिम रुकुमका १० जनाको यहाँ उपचार भइरहेको हो । भेरीमा घाइतेको उपचारमा कुनै कमी हुन नदिइएको र अस्पताललाई स्थानीय तहले पनि जनशक्ति सहयोग गरेको अस्पताले जानकारी दिएको छ । हाल उपचारमा महिला २१, पुरुष १८ रहेका छन् । जसमध्ये बालबालिका १२, गर्भवती १ र जेष्ठ नागरिक ५ जना रहेका छन् ।
उपचाररत घाइतेमध्ये ५ जनाको शनिबार राति नै सफल शल्यक्रिया गरिएको थियो । जाजरकोट र पश्चिचम रुकुममा गएको भूकम्प प्रभावितलाई बाकेका विभिन्न स्थानीय तहले सहयोग गरिरहेका छन्। अस्पताल आइपुग्नु अघि नै मृत्यु भइसकेका एक जनाको शव आइतबार बिहान ७ बजे नलगाड–१, जाजरकोट पठाउने व्यवस्था मिलाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्ससहितको टोलीले शुनिबार बिहान जाजरकोट र रुकुम पश्चिमबाट उपचारका लागि आउने बिरामीको व्यवस्थापन गरेको हो ।
भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। पर्याप्त मात्रामा डक्टर , नर्शिङ स्टाफ , र लजिस्टिक कि प्रबन्ध मिलाईएको छ । हेलिकप्टर बाट आउने बिरामीको लागि रांझा बिमानस्थल , र आर्मिको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगतको मौज्दात रहेको छ , अपुग भएमा ताजा रगत आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मिको व्यवस्था मिलाइएको छ ।
