(जाजरकोट) — निदाउनै लाग्दा भूकम्पले घर भत्कायो । जाजरकोट सदुरमुकाम खलंगाका लोकेन्द्र कार्की र उनकी आमा पनि त्यहीँ पुरिए । छरछिमेकीले चाँडै उद्धार गरेर उनीहरुको ज्यान जोगियो । खुट्टा र शरीरका केही भागमा सामान्य चोटपटक लागेको थियो । उनीहरुले त्यस रात छरछिमेकीहरुसँगै बाहिरै बिताए । भोलीपल्ट उठेपछि लोकेन्द्रलाई विसञ्चो भयो ।
शरिर सुनिन थाल्यो । शनिबार दिउँसो ३ बजेतिर आफन्तसँग मागेको बैशाखी टेक्दै उनी अस्पताल पुगेर भर्ना भए ।
३० वर्षिय लोकेन्द्र हेमोफेलियाका बिरामी हुन् । उनमा हेमोफेलियाको समस्या रहेको छ वर्षअघि पत्ता लागेको थियो । यो रगतमा हुने अनुवांशिक रोग हो । रगत जमाउनका लागि आवश्यक पर्ने तत्वहरुको कमीको कारण शरीरको जुनसुकै भागबाट रक्तश्राव हुनसक्छ । उनलाई उपचार गर्न रगत जमाउन चाहिने फ्याक्टरको आवश्यकता पर्छ । जिल्ला अस्पतालमा यसको उपचार गर्न सम्भव नहुने भएकाले अन्यत्रै जानुपर्ने अस्पतालले भनिएको छ ।
‘५२ वर्षकी मेरी आमाले संघसंस्थाका अफिसतिर काम गरेर कमाएकोले खान्थ्यौं बस्थ्यौं, लगाएको लुगाबाहेक सबै घर भत्किँदा पुरिए, हामीसँग केही छैन, कहाँ जाउँ ?,’ जिल्ला अस्पतालको बेडमा आराम गरिरहेको अवस्थामा भेटिएका लोकेन्द्रले दुखेसो पोखे । कुरुवा गएकी आमा समेत अस्पतालको चिसो र घर भत्केको सुर्ताले बिसञ्चो छिन् । अस्पतालमा भएका उनीहरुलाई खानेबस्ने राहतबारे सोधखोज गर्न कोही पनि नआएको बताए ।
जाजरकोट स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. प्रतिक्षा भारतीले बिरामीलाई चाहिने पर्याप्त डोजको फ्याक्टर नपाइएकाले आफूहरुको निगरानीमा अस्पतालमै राखेको बताइन् । ‘उहाँलाई फ्याक्टर लगाउनुपर्ने हुन्छ, सुर्खेतमा अस्पतालमा बुझ्यौं त्यहाँ एक डोज मात्रै पाइयो, नेपालगञ्जमा चिनेजानेको कोही छैन भनेर जान चाहानुभएन,’ प्रमुख भारतीले बताइन्, ‘बरु काठमाडौं पठाइदिनुस्, उता कुरुवाको लागि आफन्तहरु पनि हुनुहुन्छ भन्नुभएको छ, हामीले उता पठाउने की भनेर कोशिस गर्दैछौं ।’
भूकम्पले घर हल्लियो । सक्नेहरु कराउँदै, चिच्याउँदै घर बाहिर निस्किए । दुवै खुट्टा टेक्न नसक्ने उनी भुईंमै एकठाउँ बसिन् । ‘बुवाले देखिहाल्नुभयो, हत्तपत्त बोकेर बाहिर ल्याउनुभयो र बाँचे,’ पालको एक कुनामा बसेकी अमिता विकले सुनाइन् । १४ वर्षिया अमिता तीन वर्षयता अचानक दुवै खुट्टा टेक्न नसक्ने बिरामी छिन् । हिँड्डुल गर्न सहयोगी चाहिन्छ । छ कक्षा पढ्दापढ्दै खुट्टा टेक्न नसक्ने बिरामी भएकी उनले स्कुल छाडिन् । उपचार गर्नका लागि स्वास्थ्यसंस्था पनि पुगेकै हुन् । तर, उपचार सम्भव भएन । दैनिक क्रियाकलापमा सहजताका लागि अपांगता, अशक्त तथा असहाय व्यक्तिले प्रयोग गर्ने बैशाखी वा ह्विलचियर समेत उनलाई दिइएको छैन ।
भूकम्पले घर चर्किएर बस्नै नमिल्ने गरी भत्किएको छ । उनीहरुले शुक्रबार रात चिसो भुईंमै कटाए । शनिबार छरछिमेकी भेला भएर बारीमै खाबो गाँडे । केही थान पाल जुटाएर अस्थायी टहरो बनाए । हिँड्न सक्नेहरु यताउता हिँड्डुल गरिहन्छन् । अमिता जतिखेरै काखमा बच्चा च्यापेर पालको एक कुनामा बसेकी हुन्छिन् ।
‘उठ्न सक्दिन्, यस्तो बेला उसले केही गर्न सक्ने होइन, यहीँ छोरी बोकेर बस्छे,’ उनकी आमाले भनिन् । काखकी उनकी बहिनी दुई महिनाकी भइन् । उनका १३ र ७ वर्षका दुई भाईबहिना पनि छन् । ‘जेठी छोरी अपांग, कान्छी दुई महिनाकी छे, खोजखाज गरेको टहरोमा बसेका छौं, खानेसुत्ने गतिलो केही छैन, आफ्नो घरमा भएको निकाल्न सकेका छैनौं,’ अमिताकी आमा नन्दकलाले भनिन् ।
जाजरकोट सदरमुकाम खलंगादेखि दक्षिणपूर्व करिब चार किमि दुरीमा रहेको रावत गाउँमा आइतबारसम्म खानेबस्ने राहत सामाग्री पुगेको छैन । यसले गर्दा अपांगता भएका, गर्भवती, सुत्केरी, केटाकेटी, महिला, जेष्ठ नागरिक, दिर्घरोगीहरु चिसो भुईंमा सुत्नुपर्दा झनै समस्यामा परेका छन् । भेरी नगरपालिकाको वडा नं. १ मा पर्ने रावत गाउँमा भूकम्पले घर भत्किएर च्यापिँदा कान नसुन्ने ७० वर्षीया सुन्तली कामीको ज्यान गएको थियो । ०६८ सालको जनगणना अनुसार जाजरकोटमा अपांगता भएका व्यक्तिहरुको जनसंख्या ६ हजार ८ सय ४८ छ ।
