मध्यरातमा भूकम्प : कम्तीमा ८० को मृत्यु

 ०७२ को भूकम्पपछि सबैभन्दा धेरै मानवीय क्षति, पश्चिम नेपालका सयौं घर क्षतिग्रस्त 

कार्तिक १८, २०८०

तुलाराम पाण्डे, कृष्णप्रसाद गौतम, हरिहरसिंह राठौर, विप्लव महर्जन, महेश केसी

रुकुम पश्चिम, जाजरकोट, कालीकोट, सल्यान, सुर्खेत — पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यरात गएको भूकम्पले ठूलो जनधनको क्षति भएको छ ।  ६.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने सयौं घर क्षतिग्रस्त भएका छन् । 

कान्तिपुरका जिल्ला संवाददाताहरूले शनिबार बिहानसम्म स्थानीय बासिन्दा, जनप्रतिनिधि, प्रहरी प्रशासन र  कर्मचारीबाट लिएको विवरणअनुसार रुकुम पश्चिममा ३६ र जाजरकोटमा ४० जनाको मृत्यु भएको छ । राति भएकाले क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भेरी नगरपालिकामा ३ र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको पुष्टि गरे । उनले मृतकको संख्या अझै बढ्न सक्ने भन्दै धेरै ठाउँमा घर भत्किएर घाइते भएका खबरहरू प्राप्त भइरहेको बताए । ‘उद्धारको काम भइरहेकाले अहिले नै क्षतिको यकिन विवरण भन्न सकिने अवस्था छैन्,’ प्रमुख जिल्ला अधिकारी सुनारले भने । जाजरकोट जिल्ला अस्पतालका अनुसार, राति साढे १ बजेसम्म ४० जना घाइते उपचारका लागि ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोकाले  नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परी मृत्यु भएको पुष्टि गरे । 

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ । 

जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको बताए । उनले आफ्नो गाउँमा मात्रै ८ जनाको मृत्यु भएको सूचना पाएको बताउँदै मृतकको संख्या अझै बढ्न सक्ने बताए । उनले भने, ‘नचर्किएका घर नै  छैनन् । करिब ४० प्रतिशत घरहरु कुनै न कुनै प्रकारको क्षती भएको हुनसक्छ,’ जिल्ला अस्पतालमा एक सयभन्दा धेरै घाइतेहरू पुगिसकेको बताउँदै उनले भने, ‘घाइतेहरूको उद्धार गर्न एम्बुलेन्स र गाडीहरूको अभाव भइरहेको छ ।’

कालीकोट जिल्ला प्रहरी कार्यालयका डीएसपी अर्जुन केसीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए । कर्णाली प्रदेश प्रहरीका डीआईजी भिमप्रसाद ढकालका अनुसार जाजरकोट सदरमुकाममा पर्खाल भत्किँदा प्रहरी सहायक निरीक्षक यमराज रोकाय घाइते भएका छन् । उनले अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भइरहेको बताए । डीआईजी ढकालको भनाइमा घाइतेहरूको उद्धारका निम्ति प्रहरी परिचालन गरिएको छ । उनले सुर्खेतबाट मात्रै राति २ बजे ४० जनाको थप उद्धार टोली क्षतिग्रस्त ठाउँहरूमा पठाइएको बताए । 

भूकम्पले सल्यानका ग्रामीण भेगमा पनि भौतिक क्षति पुगेको छ । सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले जिल्लाको उत्तरी क्षेत्रबाट घर भत्किएको खबर आइरहेको र मानवीय क्षतिबारे केही जानकारी नआएको बताए ।

जाजरकोट भुकम्प

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

हरिहरसिंह

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully