सडक सञ्जालले बिथोलिएको पदमार्ग

अन्नपूर्ण सर्किटलाई सडक सञ्जालमा जोड्दा २१ दिनको पदमार्ग साता/दस दिनमा झर्‍यो र त्यसको असर स्थानीय पर्यटन उद्यममा परेको छ

भाद्र १७, २०८०

आश गुरुङ

लमजुङ — नेपाली सेनाले २०६९ सालमा लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्दा यस भेगका धेरै जनामा खुसी छाएको थियो ।

तर, यो सडक सञ्जालले यहाँको स्थानीय पर्यटन र यो मार्ग हुँदै भारी बोकेर गुजारा गर्नेहरूलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा त्यतिबेला कसैले वास्तै गरेन । सदरमुकाम चामे पुगेको सडक ०७१ सालमा त्यहाँभन्दा २५ किलोमिटर दूरीमा रहेको माथिल्लो मनाङसम्म पुग्यो । यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किमिमाथिको खाङसारसम्मै सडक पुगेको छ । सडक पुगेसँगै सुरु भयो– अर्थोपार्जनको माध्यम बनिरहेको पर्यटन उद्योगबाट हुने आम्दानीको ओरालो यात्रा । 

लमजुङको बेंसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भन्ज्याङ मानिएको थोराङ्ला (५,४१६ मि.) पास हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुंगिन्छ । चल्तीको यो पदमार्गसम्मै सडक पुगेपछि कैयन् पदमार्ग भत्किएका छन् । कैयन् पदमार्गबाटै सडक बनेको छ । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले ७ देखि १० दिनमा पूरा गर्न सकिने भएको छ । यसको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् । 

बेंसीसहरबाट पुमाखोला पुल तरेपछि आउने दोस्रो बस्ती हो, चनौटे । सदरमुकामबाट खुदीसम्मको ७ किमि यस धूले सडकमा जिप हुइँकिँदा यहाँका ३६ वर्षीय मेनबहादुर तामाङ बेस्मारी रिसाउँछन् । रिस नउठोस् पनि किन, बाटोको धूलो सबै सोहोरिएर उनको डेराभित्र छिरिरहेको छ र यही सडक बनेपछि उनको रोजगारी पनि खोसिएको छ । ‘यही बाटोमा भारी बोकेर खान्थ्यौं,’ उनले भने, ‘अब गाडी हिँड्न थाले । यिनैले उडाएको धूलो सास्ती बनिरहेको छ ।’ 

चार छोराछोरी र श्रीमतीका साथ वार्षिक ३६ हजार रुपैयाँ भाडा तिरेर बाटैमुनिको एउटा कटेरो भाडामा लिई उनी बस्दै आएका छन् । १४ वर्षको उमेरदेखि भारी बोक्न थालेको मेनबहादुरले बताए । तर, पछिल्लो १० वर्षयता उनी कामविहीन छन् । बेंसीसहरबाट चामेसम्मको ६५ किमि सडकको ट्र्याक खुलेसँगै उनको भारी बोक्ने काम बिस्तारै सुस्ताएको थियो । मालसामान सबै जिपमा ओसार्न थालेपछि ०७१ सालदेखि त भरियाको काममै पूर्णविराम लागेको उनले सुनाए । ‘हेर्दाहेर्दै गाडीले भारी बोक्न थाले,’ जिपपछाडि राखेका भारी देखाउँदै उनले भने, ‘काम खोसिएपछि छोराछोरी हुर्काउनै पो धौधौ परिरहेको छ ।’ 

जन्मेको ५ महिनामै आमा गुमाएका धादिङको रुवी भ्याली गाउँपालिका–४, लापाका मेनबहादुरलाई बुवाले हुर्काए । ३ कक्षामा पढ्दै गर्दा बुवाले अर्की आमा भित्र्याएपछि उनलाई घरमा बस्नै मन लागेन । उनी कामको खोजीमा धादिङबाट पोखरा पुगे । गाउँ–गाउँमा पुगेर भारी बोक्न थाले । त्यतिबेला तत्कालीन सरकार–माओवादीको द्वन्द्व चरम उत्कर्षमा थियो । भारी बोकेर हिँड्ने क्रममा केही अपरिचितले केरकार गरेपछि उनी ०६२ को दसैंलगत्तै मलेसिया उडे । साढे ३ वर्षसम्म काम गर्दा पनि पैसा नपाएपछि उनी लमजुङ फर्किए । ‘त्यसपछि बेंसीसहरको मनाङे चौतारादेखि मनाङसम्म भारी बोक्न थालें,’ उनले भने, ‘कहिले गोराको भारी बोकियो त कहिले साहुको ।’ उनले ०६५ सालको आधाआधीदेखि ०७१ सम्म बेंसीसहरबाट मनाङको गाउँगाउँसम्म भारी बोके ।

मनाङमा ०५० सालसम्म खासै होटल थिएनन् । चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापना भएपछि यसले संरक्षण र पर्यटनमा काम गर्न थाले । सन् १९९६ देखि चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको तथ्यांक लिने र यसको प्रचारप्रसार गर्न थाले । त्यतिबेलासम्म पनि मनाङमा खासै खच्चड हिँड्ने थिएनन् । पर्यटक र स्थानीय कतै–कतै डोरी र भर्‍याङमार्फत हिँड्थे । यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् । उनका अनुसार सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ । त्यो पनि न्यून मात्रामा छ । ‘गाडी चलेपछि खच्चड र भरिया विस्थापित भए,’ उनले भने । उनले भारी बोक्ने खच्चड पनि बिस्तारै घट्दै गएको र नार्पाभूमितिर मात्रै भारी बोक्न खच्चड प्रयोग हुन थालेको बताए ।

वि.सं. ०६९ मा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो । चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधै होटलमा बास बस्न थालेका छन् । होटलमा बस्न थालेपछि खानपान र भाँडाकुँडा बोक्नुपरेन । ‘गाडी चल्न थालेपछि पर्यटक पनि गाडीमै, सामान पनि गाडीमै । अहिले भरियाहरू छैनन्,’ मनाङ ङिस्याङ गाउँपालिका–१, पिसाङका ८० वर्षीय याङडुङ गुरुङले भने, ‘भरियाबिनै काठमाडौं–पोखराबाट बेंसीसहर हुँदै सिधै माथिल्लो मनाङ पुग्ने गरेका छन् ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा चक्रीय अन्नपूर्ण पदमार्गमा बर्सेनि १९ हजारको हराहारीमा विदेशी पर्यटक यहाँ भित्रिन्थे । सन् १९९९ मा ८ हजार बढी पर्यटकले चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्यांक राखिए पनि कुनै पनि निकायले भरियाको तथ्यांक राखेका छैनन् । बेंसीहरसम्म मोटर चल्ने भएकाले पर्यटकहरू बेंसीसहर बास बस्न आउँथे । बेंसीसहरबाटै भरिया लैजान्थे । जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेका अनुसार २ जना बराबर १ जना भरिया हुन्थे । ‘हिँडेरै आउने पर्यटकसँगै उनीहरूका भारी बोक्ने दाजुभाइको राम्रो कमाइ हुन्थ्यो । नेपाली भनेर मनाङीले भरिया सुतेको पैसा लिँदैनथे,’ उनले भने, ‘अचेल त पर्यटक गाडीमा आउँछन्, त्यसकारण भरिया देखिनै छाडेका छन् ।’

करिब दुई दशक पथप्रदर्शक रहेका लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा ०५० सालतिर भरियारले प्रतिदिन २ सय ५० रुपैयाँ लिन्थे । ०६५ तिर प्रतिदिन ५ सय रुपैयाँ लिन्थे । पछिल्लो समय ०६९/०७० तिर प्रतिदिन १ हजार रुपैयाँ लिन थालेको अधिकारीले बताए । ‘पर्यटकीय मौसमको ६ महिनामा एक जना भरियाले मात्रै सवा लाख बढी आम्दानी गर्थे,’ उनले भने, ‘अरू महिना मनाङसम्म खाद्यान्न, निर्माण सामग्री बोक्थे । उनीहरूको गुजारा चल्थ्यो । अहिले सिधै पोखरा–काठमाडौंबाट केही भरिया ल्याउँछन् ।’ पहिले बेंसीसहरदेखि मनाङ–मुस्ताङ हुँदै बेनी–पोखरासम्मको २१ दिनका लागि बेंसीसहरबाट भरिया लगिन्थ्यो । अहिले मोटर चलेपछि काठमाडौं–पोखराबाट पर्यटक सिधै मनाङ पुग्छन् । खाङसारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला पास हुँदै मुक्तिनाथसम्म तीन–चार दिनका लागि चाहिने भरिया उतैबाट ल्याउँछन् । ‘अहिले यताका भरिया त कता हराए कता, सबै पलायन भएजस्तो छ,’ अधिकारीले भने ।

उनका अनुसार प्रत्येक २ जना पर्यटकका लागि एक जना भरिया अनिवार्यजस्तै थिए । २० जनाको ग्रुपलाई चक्रीय अन्नपूर्ण पदमार्ग घुमाउँदा १० जना भरिया हुन्थे । ‘हामी ४ जना त गाइड थियौं, पहिले भरियालाई खाना र बस्न फ्रि थियो । पछि खानाको पैसा लिन थाले, सुत्न भने फ्रि दिन्थे,’ अधिकारीले भने, ‘राम्रो व्यवहार गर्ने भरियालाई पर्यटकहरू टिप्स पनि दिन्थे ।’ 

आरुघाट गाउँपालिका–१, माझगाउँ गोरखाका ४२ वर्षीय धीरनसिंह गुरुङ गाउँमा माओवादी कार्यकर्ता र सेनाले दुःख दिन थालेपछि सुरक्षित हुन मामागाउँ मान्बु पुगे । तर, त्यहाँ पनि द्वन्द्वको छाया उस्तै थियो । ०५८ को जेठतिरको कुरा हो । मान्बुनजिकै आल्माले पुलमा माओवादी कार्यकर्ताले कांग्रेसका एक स्थानीय नेताको हत्या गरे । त्यसबेला उनी मकैबारीमा काम गरिरहेका थिए । एक्कासि माओवादी कार्यकर्ता आएर उनीसहितका १४ जनाको टोलीलाई चामल बोकाउँदै तीन दिन हिँडाएर गुम्दा पुर्‍याए । गुम्दामा भने उनीहरू सेनाको घेरामा परे । ‘त्यही बेला सेनाको गोली लागेर एक किशोरको मृत्यु भयो, म भने त्यहाँबाट भाग्ने क्रममा कसो कसो गरेर पोखरा पुगें,’ उनले भने, ‘त्यसको केही समयपछि लमजुङ आइपुगें । अनि, सुरु भयो मनाङ र गोरखामा भारी बोक्ने काम ।’ पछिल्लो समय भारी नबोकेकै छ/सात वर्ष भएको धीरनले सुनाए । ‘अहिले साहुको मालसामान र विदेशी पर्यटकका भारी सबै गाडी (जिप) ले बोक्छन् । के गर्ने, झगडा गरेर, रोएर र कराएर भएन,’ उनले भने, ‘गाडीले भारी बोक्ने काम खोसिदिएपछि ज्यालादारी कामको खोजीमा अनेकतिर भौंतारिरहेछु ।’ 

मेनबहादुर १५ वर्षअघिको समयमा फर्किए । जतिबेला उनलाई लमजुङको सदरमुकाम बेंसीसहरबाट भारी बोकेर लार्केपास हुँदै गोरखा सामागाउँ पुग्न ११ दिन लाग्थ्यो र त्यहाँबाट तिलिचो र थोराङ्ला बेसक्याम्प पुग्न पनि त्यति नै समय लाग्थ्यो । ‘दिनमा सुक्खा (आफ्नै खाएर) ४ सय दिन्थे । पछि प्रतिकिलो ५ रुपैयाँको हिसाबले बोक्न थालियो,’ उनले भने, ‘किलोको हिसाबले बोक्दा धेरै पैसो आउने भएपछि सय किलोसम्मको भारी बोक्न तम्सिन्थें ।’ एक समय भारी बोकेर हिँड्नेहरूको आफ्नै खालको दैनिकी हुन्थ्यो । तर, धमाधम बाटो बन्न थालेपछि भरियाको यो संसार सम्झनामै मात्र सीमित भएको उनले सुनाए । ‘खानका लागि भाँडाकुँडासहित चामल, नुन–खुर्सानी, ओढ्ने–ओछ्याउने बोकेर हिँडिन्थ्यो,’ मेनबहादुरले सुनाए, ‘दाउरा खोजेर आगो बालिन्थ्यो । ओडारमा बास बसिन्थ्यो । ओडार नभएको ठाउँमा गाउँमै बास मागिन्थ्यो ।’ नेपाली सेनाले मनाङ सदरमुकाम चामेसम्म सडकको ट्र्याक खोलेर हस्तान्तरण गरेसँगै मेनबहादुर र धीरनजस्ता भरियाको पेसा संकटमा पर्न सुरु भयो । 

बस्तीहरूसमेत नभएको पहाडी बाटोमा भारी बोकेर हिँड्ने काम सजिलो भने होइन । भारी बोक्दाका दुर्घटना र कहालीलाग्दा घटना मेनबहादुरको सम्झनामा अहिलेसम्म ताजै छन् । भारी बोक्ने सुरुवाती दिनकै कुरा हो । उनी लमजुङको सबैभन्दा अन्तिम गाउँ च्याम्चेबाट मर्स्याङ्दी पार गरेर मनाङ जाँदै थिए । तालडाँडा पुग्नै लाग्दाको उकालोमा अघि रहेका भरिया साथीलाई भीरबाट हुर्रिंदै आएको ढुंगाले लाग्यो । साथीको घटनास्थलमै मृत्यु भयो । भाग्यवश मेनबहादुरको भने ढुंगाले खुट्टामा मात्रै चोट लागेर रगत बग्यो । ‘त्यो खत अझै छ,’ उनले दायाँ खुट्टाको खत देखाउँदै भने, ‘त्यसपछि त फटाफट हिँड्नै नसक्ने भएँ ।’ उनी भारी बोकेरै मनास्लु पदमार्गको लार्के पास भएर गोरखाको सामागाउँदेखि मनाङको तिलिचो बेसक्याम्प र थोराङ्ला बेसक्याम्पसम्म पुगेका छन् । ‘लार्के पास गरेर सामागाउँ पुग्न ११ दिन लाग्थ्यो र त्यहाँबाट तिलिचो र थोराङ्ला बेसक्याम्प पुग्न पनि थप त्यति नै लाग्थ्यो,’ उनले भने, ‘दिनमा सुक्खा ४ सय दिन्थे । पछि किलोको हिसाबले बोक्न थालियो ।’

भारी बोकेर मनाङ पुगेकाहरू फर्किंदा रित्तै फर्किनुपर्ने भएपछि ३ रुपैयाँ किलोमा आलु किन्थे र बेंसीसहर ल्याएर ६ रुपैयाँ प्रतिकिलोमा बेच्थे । प्रतिगोटा स्याउ १–२ रुपैयाँमा किन्थे र बेंसीसहर ल्याएर प्रतिगोटा ३–४ रुपैयाँमा बेच्थे । ग्रामीण अर्थतन्त्रको यो स्वरूप गाडी गुड्न थालेपछि अहिले फेरिएको छ । ‘धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर फल्छ । मनाङको आलु धेरैजसो मनाङमै बिक्री हुन्थ्यो । हिजोआज आलु मनाङमा बिक्री हुँदैन । पहिले फापर फलाउँदै आएका किसानले खेती गर्न छाडेका छन्,’ मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले भने, ‘आलु भने बेंसीसहर हुँदै पोखरा–काठमाडौंसम्म पुग्छ । आफ्नै गाउँठाउँमा बिक्री गरेजस्तो मनाङीलाई बाहिर लगेर बेच्न सहज भने छैन ।’

एक समय बेंसीसहरबाट हिँडेर दुई दिनमा पुगिने मनाङको धारापानीसम्म अचेल जिपमा चार घण्टामै पुगिन्छ । धारापानीदेखि तिल्चे (मनाङ) सम्म पनि यातायात चल्छ । त्यसपछि भीमथाङ, लार्के (मनाङ–गोरखा) सिमाना हुँदै सामागाउँ एक सातामा पुगिन्छ । मनास्लु पदमार्गको यो बाटोमा अहिले खच्चड प्रयोग हुन्छ । तिलिचोतर्फ खाङसारसम्म जिप एकै दिनमा पुग्छ । खाङ्सारदेखि तिलिचो बेसक्याम्प एक दिनमै पुगिन्छ । लमजुङ बेंसीसहरबाट थोराङ्लातर्फ मनाङगाउँसम्म एकै दिनमा पुगिन्छ । त्यहाँबाट २ दिनको यात्रामा थोराङ्ला बेसक्याम्प पुगिन्छ । 

०६९ सालसम्म बेंसीसहरको मनाङे चौतारा, पुमाखोला, चनौटे, बेलौती बिसौना आसपास बस्ने भरियाहरूले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा गर्थे । कोही मनाङ प्रवेशपछि मनास्लु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे । सिंगो मनाङमा भरियाले नै खाद्यान्न पुर्‍याउँथे । मंसिरदेखि फागुनसम्म चार महिना गाउँमा नबस्ने मनाङी भरियाले बोकेको खाद्यान्न खाएर अरू ८ महिना गाउँमै बस्थे । ०७०/७१ तिर माथिल्लो मनाङसम्मै जिप पुग्न थालेपछि त्यसमाथिका ठाउँहरूको भारी बोक्न खच्चड प्रयोग हुन थालेको गोरखाको आरुघाट गाउँपालिकाका ५७ वर्षीय आसराम गुरुङले बताए । ‘मनाङ जाने बाटोमा भर्‍याङ बनाएर डोरीमा झुन्डिएर जानुपर्थ्यो । त्यो बेला हामीले भारी बोक्यौं । अलि पछि मान्छे हिँड्ने बाटो बन्न थाल्यो । त्यसपछि खच्चड हिँड्न थालेपछि हामीलाई नै समस्या पर्‍यो,’ उनले भने, ‘अहिले झन् केही बाँकी नराखी सबै सामान जिपले ओसार्छ । हामी त रित्तै । कामै नपाएपछि अहिले गाउँ फर्किएको छु ।’

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully