जथाभावी बाटो काट्दा उपत्यकामा मात्र एक वर्षमै ५६ पैदलयात्रीको मृत्यु
काठमाडौँ — काठमाडौं उपत्यकाभित्र दर्जनौं आकाशे पुल छन् । सडक पार गर्न पैदलयात्रीका लागि बनाइएका त्यस्ता पुल सर्वसाधारणले प्रयोग नगर्दा दुर्घटना निम्तिने गरेको छ । छेउमै आकाशे पुल हुँदाहुँदै पनि त्यसको बेवास्ता गर्दै जोखिम मोलेर सडक पार गर्दा दुर्घटना हुने गरेका हुन् । परिणामस्वरुप काठमाडौं उपत्यकामा सवारी दुर्घटना र ट्राफिक जाम बढिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
व्यस्त सडकमा दुर्घटनाको पर्बाह नगरी आकाशे पुलमुनिबाट जोखिम मोलेर युवाहरूले समेत बाटो काटिरहेको देखिन्छ । तीव्र गतिमा हुइँकिरहेका सवारीसाधनको वास्तै नगरी यसरी बाटो काट्नेको संख्या अहिले पनि उत्तिकै छ । जसले सडक दुर्घटना बढाइरहेको छ । विशेष गरी पैदल यात्रुको चाप बढी हुने रत्नपार्क, कोटेश्वर, थापाथली, भद्रकालीजस्ता ठाउँमा जथाभावी बाटो काट्नेको संख्या बढी देखिन्छ ।
ट्राफिक कार्यालयको तथ्यांकअनुसार गएको एक वर्षमा असुरक्षित ढंगले सडक पार गर्दा उपत्यकामा सडक दुर्घटनामा परी ५६ जनाले ज्यान गुमाएका छन् । सडक व्यवस्थापन र दुर्घटना न्यूनीकरणसम्बन्धी मापदण्डअनुसार सवारी चाप बढी हुने सहरी क्षेत्रमा कम्तीमा १ सय २० मिटरको दूरीमा एउटा आकाशे पुल अथवा अन्डर पास वे हुनुपर्छ ।
त्यस्तो पूर्वाधार बनिनसकेको भए पनि भइरहेका संरचनाप्रति नै सडक प्रयोगकर्ता सचेत देखिँदैनन् । आकाशे पुल व्यक्तिगत सुरक्षा र सवारी व्यवस्थापनका दृष्टिले सडक पार गर्ने उपयुक्त पूर्वाधार हो । तर, आफ्नै सुरक्षा र सवारी व्यवस्थापनका चुनौती बेवास्ता गर्ने परिपाटीले ख्यालख्यालमै दुर्घटना बढिरहेको र ज्यानैसमेत गुमाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको दाबी छ ।



