टीएन एड्भेन्चर्सले भक्तपुर नगरपालिकासँगको समन्वयमा नःपुखुमा डुंगा र साइकल मिलाएर बनाइएको पानीमा तैरिने ‘वाटर साइकल’ सञ्चालनमा ल्याएको हो । यसमा रमाउन प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्छ । एउटा साइकलमा २ जना १५ मिनेट पोखरी घुम्न सक्छन् ।
भक्तपुर — पानीमा र्याफ्टिङ, क्यानोनिङ, कायाकिङ वा बोटिङ त नेपालीहरूका लागि पुरानै अनुभव हो । अब भने भक्तपुरको इताछेंस्थित नःपुखुमा पानीमाथि साइक्लिङको अनुभव लिन पाइने भएको छ । टीएन एड्भेन्चर्सले भक्तपुर नगरपालिकासँगको समन्वयमा शनिबारदेखि औपचारिक रूपमा ‘वाटर साइकल’ सञ्चालनमा ल्याएको हो ।
टीएन एड्भेन्चर्सले पर्यटन क्षेत्रमा नयाँ तथा साहसिक खेल भित्र्याउने उद्देश्यले पहिलो पटक नेपालमा ‘वाटर साइकल’ ल्याएको जनाएको छ । पर्यटन प्रवर्द्धनका लागि भक्तपुर नगरपालिकासँगको समन्वयमा कम्पनीले डुंगा र साइकल मिलाएर बनाइएको पानीमा तैरिने ‘वाटर साइकल’ सुरु गरेको हो ।
करिब एक वर्षदेखि नै नेपालको पर्यटन क्षेत्रमा नयाँ एड्भेन्चर भित्र्याउनका लागि आफूहरूले खोजी गरिरहेका र अन्ततः वाटर साइकल सुरु गरेको टीएन एड्भेन्चर्सका प्रबन्ध निर्देशक सुजन तिमिल्सिनाले बताए । ‘पर्यटन क्षेत्रमा नयाँ साहसिक खेल थप्ने हाम्रो उद्देश्य हो, त्यसैले विगत एक वर्षदेखि यो अवधारणामा काम गरिरहेका थियौं,’ उनले भने, ‘वाटर बाइक नेपालमै बनाउन पनि धेरै कम्पनीमा कुरा गर्यौं । तर सम्भव नभएपछि बाहिरबाट मगायौं ।’ यसका लागि आफूहरूले भक्तपुरस्थित सिद्धपोखरी उपयुक्त ठाउँको रूपमा छनोट गरे पनि नगरपालिकाले नःपुखुमा सञ्चालन गर्न स्वीकृति दिएको उनले बताए । ‘सिद्धपोखरीमा अर्कै बोट सञ्चालनमा रहेछ, सोही कारण नगरपालिकाले खाली रहेको नःपुखुमा काम गर्न सुझाउनुभयो,’ उनले भने, ‘हामीले ५ वटा साइकलका लागि अनुमति लिएका थियौं । नगरपालिकाले स्वीकृति दियो ।’
साइकल चलाउन वा पौडिन नजान्ने पनि ‘वाटर साइकल’ चलाउन सक्ने कम्पनीले जनाएको छ । नःपुखुमा ‘वाटर साइकल’ मा रमाउन प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्छ । एउटा साइकलमा २ जनाले १५ मिनेट पोखरी घुम्न सक्छन् । ‘एउटा साइकलमा २ जनाले चलाउन मिल्छ, पोखरीको २ पटक राउन्ड लगाउन मिल्छ,’ उनले भने, ‘पैसा प्रतिव्यक्ति दुई सय रुपैयाँ अर्थात् २ जनाले १५ मिनेट पोखरी घुम्दा ४ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।’ स्थानीयका अनुसार पोखरी ७ फिटसम्म गहिरो छ । एक राउन्डमा ८ सयदेखि ९ सय मिटर हुन्छ । बिदाको दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म र बिदाबाहेकका दिनमा भने बिहान ११ देखि बेलुका ७ बजेसम्म वाटर साइकल सञ्चालन हुन्छ । नेपालमै पहिलो पटक पानीमा चल्ने वाटर साइकल भित्र्याइएको दाबी कम्पनीको छ ।
नगरपालिकाले सञ्चालनको स्वीकृत दिएको र नयाँ साहसिक खेल सञ्चालनका साथै आन्तरिक पर्यटनलाई पनि बढावा दिइरहेको नगरप्रमुख सुनिल प्रजापतिले बताए । ‘पर्यटन विकासका लागि हामीले विभिन्न काम गरिरहेका छौं, सोहीअनुरूप सिद्धपोखरीमा डुंगा र नःपुखुमा साइकल चलाउन अनुमति दिएका हौं, त्यस्तै रानीपोखरीमा रंगीविरंगी माछा हेर्न पाइन्छ,’ उनले भने, ‘नगरभित्र पर्यटन क्षेत्रसँगै आर्थिक उत्पादनमा समेत जोड दिइरहेका छौं ।’ नगरपालिका क्षेत्रमा शनिबार तथा सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको धेरै चहलपहल हुने गरेको उनी बताउँछन् ।
भक्तपुर आउने सिद्धपोखरीमा डुंगा मात्र नभएर अब ‘वाटर साइकल’ मा रमाउने वातावरण तयार भएको प्रजापतिको भनाइ छ । ‘नःपुखुमा साइकल सञ्चालन गरेबापत कम्पनीले दैनिक तीन हजार नगरपालिकालाई तिर्नुपर्छ, यसले नगरको आम्दानी पनि बढ्यो, पर्यटकले नयाँ साहसिक खेलको अनुभव गर्न पनि पाए,’ उनले भने । औपचारिक रूपमा सञ्चालनमा आएको छोटो समयमै आन्तरिक पर्यटकको संख्या निकै बढेको उनको बुझाइ छ । कम्पनीले थप साइकलका लागि पनि अनुमति लिने जनाएको छ । टीएन एड्भेन्चर्सका अनुसार साइकल चालक आफैंलाई पनि लाइफ ज्याकेट दिइने र उद्धार टोली पनि ‘स्ट्यान्डबाई’ रहन्छ । कम्पनीले निकट भविष्यमै सर्लाहीको भरत तालमा पनि वाटर साइकल सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ । त्यसका लागि सर्लाहीस्थित वाग्मती गाउँपालिकाले स्वीकृति दिइसकेको तिमिल्सिनाले बताए ।
पछिल्लो समय मुलुकमा साहसिक खेलमा लगानी बढ्दै गइरहेको छ । एड्भेन्चर क्षेत्रमा लगानीकर्तासँगै उपभोक्ताको माग पनि बढ्दो छ । र्याफ्टिङ, बन्जी, जिपलाइन, स्विङलगायत एड्भेन्चर खेल मुलुकमा बढ्दो क्रममा छ । पेसाले चार्टेड अकाउन्टेन्ट (सीए) तिमिल्सिनाले व्यवसाय नै गर्ने उद्देश्यले पर्यटन व्यवसायमा पहिलो कदम चालेको बताउँछन् । ‘पेसाले म सीए हो, तर कृषि र पर्यटनमा आधारित रहेर भविष्यमा व्यवसाय नै गर्ने उद्देश्य छ,’ उनले भने, ‘त्यसैले पनि पहिलो कदम पर्यटन क्षेत्रमा चाल्यौं ।’
पछिल्लो समय नेपाल एड्भेन्चर टुरिजमको हबका रूपमा विकास हुँदै गइरहेको उनको बुझाइ छ । ‘त्यसका साथै आन्तरिक पर्यटक पनि यसमै आकर्षित भइरहेका छन्,’ उनले भने । सुजनसँगै अन्य दुई सीए गौरव पोखरेल र पवन राजवाहक, व्यवसायी परशुराम पराजुली र सुवास तिमिल्सिना तथा सूचना प्रविधि क्षेत्रमा क्रियाशील महेन्द्र पराजुली र सूर्यप्रसाद न्यौपाने मिलेर कम्पनी सञ्चालनमा ल्याएका हुन् । बिस्तारै अन्य फरक प्रकृतिका व्यवसाय पनि सुरु गर्ने योजना रहेको उनीहरूको भनाइ छ ।
