सिन्धुपाल्चोक — पर्वतारोहण जति साहसिक हुन्छ, उत्तिकै जोखिमपूर्ण पनि । त्यसै कारण पनि होला यसमा अझैसम्म पुरुषकै बाहुल्य छ । खासमा साहसिक क्षेत्रमा पुरुष मात्रै अब्बल हुन्छन् भन्ने आम बुझाइ पनि छ समाजमा । तर त्यसलाई चिर्ने पात्र हुन् माया गुरुङ । विश्वकै सर्वोच्च शिखर सगरमाथा, सेभेन समिट्स (सातवटै महादेशका अग्ला हिमाल) तथा जुगल हिमाल लगायतका दर्जनौं चुचुरा नापिसकेकी छन् उनले ।
पाँचपोखरी थाङपाल गाउँपालिका–७, भोटेनाम्लाङकी मायाले पहिलो समावेशी नेपाली महिला टोलीको सदस्यका रूपमा सन् २००८ मै सगरमाथा आरोहण गरेकी हुन् । उनी गुरुङ समुदायबाट सगरमाथा आरोहण पहिलो महिला बनिन् । सगरमाथा आरोहणपछि २००९ देखि २०१८ सम्म उनीसहितको समावेशी टोलीका सात जनाले विश्वका सातै महादेशका अग्ला हिमाल चढेर विश्व रेकर्ड कायम गरे ।
त्यतिमात्र होइन, २००८ अक्टोबरमा एक्सपोलर हिमालयन ट्राभल एन्ड एड्भेन्चरको आयोजनामा उनले सगरमाथाबाट ‘स्काइडाइभ’ गर्ने एसियाकै पहिलो महिला बनिन् । मायाले जुगल हिमशृंखलाका ११ मध्ये ६ हजार १ सय ५१ मिटरको उचाइको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) को बाटो खोल्दै पहिलो पटक आरोहण गरेकी हुन् । प्रदेश र स्थानीय सरकारको सहयोगमा ०७५ चैत २९ मा उनको नेतृत्वमा ७ जनाले जुगलको चुचुरोमा पहिलो पटक झन्डा फहराएका थिए ।
‘यो पेसा चुनौतीपूर्ण छँदै छ । तर सरकारले आरोहणका लागि खुला गरिएका हिमालमा पनि बाटो छैनन् । हामी आफैं सक्षम छौं भनेर पनि जुगललगायत नयाँ पिक पहिलो पटक आरोहण गरेर बाटो खोल्यौं,’ उनले भनिन् । मायाकै अगुवाइको टोलीले २०२० डिसेम्बरमा पाँचपोखरी थाङपाल गाउँपालिकाको युवा पिक (५५५६ मि.), तिलमान पास (५३०० सय मि.) र पाँचपोखरी पिक (४३०० मि.) आरोहण गर्यो । नेपालमा मात्रै होइन, मायाले युरोपका विभिन्न हिमाल आरोहण टोलीको पनि नेतृत्व गरिसकेकी छन् ।
हाल भने उनी हिमाल संरक्षण अभियान र मानव बेचबिखनबाट उद्धार गरिएका महिला तथा युवतीलाई पर्वतारोहणसम्बन्धी तालिम दिँदै पनि आइरहेकी छन् उनले ।
पर्वतारोहणमा सक्रिय टोलीसँगै उनले आफ्नो अभियान तीव्र पारेकी हुन् । पछिल्ला केही वर्षयता उनले हिमशृंखलाको लेकाली वातावरण संरक्षण, यससम्बन्धी शिक्षा र यसमा महिला सशक्तीकरणलाई लिएर काम गरिरहेको उनको भनाइ छ । ‘जसमा सगरमाथा, मनास्लु, धौलागिरिलगायत हिमालको बेसक्याम्पमा माउन्टेन इन्भायरोमेन्ट क्याम्पेन चलाउँदै सरसफाइको कामलाई अभियानका रूपमा सुरु गरेका छौं,’ उनले भनिन् ।
मायाले यससम्बन्धी जनचेतना र जलवायु परिर्वतनका कारण हिमालमा परेको असरबारे वकालत गरिरहेकी छन् । उनी ‘शक्ति समूह’ सँगको समन्वयमा २००९ यता हिमाल र यसबारे शिक्षा दिने काममा समेत क्रियाशील छन् । त्यहीअन्तर्गत यसअघि विश्व समावेशी साहसी संस्थाको सल्लाहकार रहेकी उनले हालसम्म एक सय २५ जनालाई हिमालसम्बन्धी आरोहण, क्लाइबिङ, गाइडजस्ता प्राविधिक शिक्षा दिइसकेकी छन् । तीमध्ये ३५ जनालाई भविष्यमा उनीहरूकै इच्छाअनुरूप व्यावसायिक हिमाल आरोही तथा पथप्रर्दशक बनाउने गरी काम भइरहेको उनको भनाइ छ ।
विश्व समावेशी साहसी संस्थाका अनुसार ‘फिमेल लिडरसिप एकेडेमी ट्रेनिङ’ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका पाँच विद्यालयमा यस्ता तालिम सम्पन्न भइसकेका छन् । जसमा पर्वतारोहण र अन्य नेतृत्व विकासमा उत्सुक झन्डै दुई सय किशोरकिशोरीले तालिम लिइसकेका छन् । त्यसका साथै, संस्थाले जिल्ला सदरमुकाम चौतारा, जुगलको चनौटे, पाँचपोखरी थाङपाल, मेलम्चीलगायत विद्यालयमा महिला नेतृत्व विकासको तालिम दिइरहेको छ । केही समयअघि एक सय ६ किशोरीलाई जुगल हिमालको आधार शिविर क्षेत्रमा पुर्याएर पर्वतारोहीसम्बन्धी तालिमसमेत दिइएको थियो ।
