आजकै दिन : किङको ‘आई ह्याभ अ ड्रिम’

भाद्र ११, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६३ मा आजकै दिन (अगस्ट २८) मार्टिन लुथर किङ जुनियरले अमेरिकाको वासिङ्टनस्थित लिंकन मेमोरियलमा आयोजित बृहत् र्‍यालीलाई सम्बोधन गरेका थिए ।

र्‍यालीमा दुई लाखभन्दा बढी मानिससामु उनले गरेको भाषण ‘आई ह्याभ अ ड्रिम’ विश्वभर चर्चित छ । भाषणमार्फत उनले अमेरिकी सरकारलाई नश्लीय विभेद स्वीकार गरी समानताको पक्षमा कानुन ल्याउन प्रभावित पारेका थिए । 

किङ नागरिक अधिकारसम्बन्धी अमेरिकामा भएको आन्दोलनका एक प्रभावशाली नेता हुन् । अमेरिकामा नश्लीय विभेदसम्बन्धी कानुनको अन्त्यको माग गर्दै १९५५ देखि १९६८ सम्म आन्दोलन भएको थियो । माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन तथा नागरिक अवज्ञामा किङले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । उनको नेतृत्वमा १९५० को मध्य–दशकमा सुरु भएको आन्दोलनले अश्वेत अमेरिकीका लागि शिक्षा र रोजगारीको समान अधिकार स्थापित गरेको थियो । 

नागरिक अधिकार र सामाजिक न्याय स्थापित गर्न पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सन् १९६४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । लुथर किङको अगुवाईमा भएको आन्दोलनका कारण अमेरिकामा सन् १९६४ मा नागरिक अधिकार ऐन र १९६५ मा मताधिकार ऐन कार्यान्वयनमा ल्याइएको थियो । उनले भियतनाम युद्धमा अमेरिकी संलग्नताको समेत विरोध जनाएका थिए ।

सन् १९८३ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले समान अधिकार र न्यायका पक्षमा उनका प्रतिबद्धताको सम्मानमा संघीय बिदा दिने विधेयक ल्याएका थिए । समानता र न्यायको पक्षमा आन्दोलन गर्ने क्रममा मार्टिन लुथरले २ हजार ५ सयभन्दा बढी भाषण दिएका थिए । १९२९ को जनवरी १५ मा जन्मिएका किङको १९६८ अप्रिल ४ मा गोली हानी हत्या गरिएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully