मलेसियामा सम्पन्न चार देश सम्मिलित टी–२० सिरिजमाथि नेपालले कब्जा जमायो । फाइनल खेलमा १९ रन बटुलेकी इन्दु बर्मा प्रतियोगिताको समग्र प्रदर्शनका आधारमा ‘प्लेयर अफ द सिरिज’ घोषित भएकी हुन् ।
लुम्बिनी — मलेसियामा शनिबार भएको चार देश सम्मिलित टी–२० सिरिज नेपालको पोल्टामा पर्यो । खेल जित्नका लागि मैदानमा प्रवेश गरेका सीता राना मगर र काजल श्रेष्ठले ओपनिङ गरे । काजल मैदानमा धेरैबेर टिक्न नसकेपछि उपकप्तान रहेकी अलराउन्डर इन्दु बर्मा मैदान छिरिन् ।
फाइनल खेलमा १९ बलमा १९ रन हानेकी उनी प्रदर्शनका आधारमा सिरिजको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । नेपाली राष्ट्रिय महिला टोलीमै उनी पहिलो पटक ‘प्लेयर अफ द सिरिज’ बनेकी हुन् ।
नेपालले फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनले हराएर उपाधि जितेको थियो । इन्दुले प्रतियोगितामा ४ खेलमा ७१ रन बनाएकी थिइन् । सिरिजमा मलेसियाकी ऐना हामिजाह हासिम ९१ रनका साथ शीर्ष र इन्दु दोस्रो स्थानमा थिए । इन्दुले ५ विकेट लिएकी थिइन् । हङकङलाई ९ विकेटले हराउन इन्दुले २ विकेट लिनुका साथै ९ रन बनाएकी थिइन् ।
रूपन्देहीको एपेक्स विद्यालयबाट क्रिकेट खेल्न सुरु गरेकी इन्दु २०५४ सालमा बागलुङको हुक्दीसिरमा जन्मिएकी थिइन् । २०६१ सालमा परिवार बसाइँसराइ गरेर रूपन्देही आएपछि तिलोत्तमा–१ मा बस्दै आएकी उनले विद्यालय तहमै क्रिकेटको ज्ञान पाइन् । ‘म आर्थिक रूपमा सामान्य परिवारमै हुर्किरहेकी थिएँ,’ उनले भनिन्, ‘बुबा विदेश लागेपछि सरकारी विद्यालयबाट सरेर कक्षा ५ मा घर नजिकैको एपेक्स बोर्डिङ स्कुलमा भर्ना भएँ, त्यहींबाट क्रिकेट खेल्न थालेकी हुँ ।’ पहिलेपहिले दौड प्रतियोगितामा केटाहरूको बीचमा एक्ली केटी दौडिएर प्रथम हुने गरेकी उनलाई शिक्षकले नै अन्य खेलमा संलग्न गराउनुपर्छ भनी क्रिकेट सिकाउने सल्लाह दिएका थिए ।
विद्यालयले वसन्त शाहीलाई प्रशिक्षकका रूपमा विद्यालयमा ल्याएको थियो । त्यसबखत प्रशिक्षकले क्रिकेट खेल्नका लागि चाहिने सबै ड्रेस सेट ल्याउने विद्यार्थीलाई मात्र टिममा राख्ने सूचना दिएका थिए । झरीमा रुझ्दै रुझ्दै इन्दुकी आमा ड्रेस सेट ल्याइदिएकी थिइन् । ‘त्यतिबेला म साह्रै खुसी भएकी थिएँ,’ उनले भनिन्, ‘त्यही ड्रेसका कारण स्कुल टिममा परें, अहिले राष्ट्रिय टिमबाट देशको लागि खेल्न पाएकी छु ।’ क्रिकेट सिक्ने क्रममा आफूहरूले टेनिस बलले खेलेको सम्झिन्छिन् उनी । ‘सरले ड्युज बल ल्याउँदा डराएर खेल्नै मन लाग्दैनथ्यो,’ उनले भनिन्, ‘प्याड, हेलमेट लगाएर खेल्न त साह्रै गाह्रो भयो । तर अभ्यास गर्दै गएपछि सिकियो ।’
कक्षा ६ मा हुँदादेखि इन्दुले विभिन्न विद्यालयका प्रतियोगितामा खेलिन् । पछि रूपन्देही जिल्लाको प्रतिनिधित्व गरेर नेपालगन्जमा खेल्ने मौका पाइन् । नेपालगन्जमा चुनिएपछि उनलाई क्षेत्र नं. ४ का तर्फबाट राष्ट्रियस्तरमा खेल खेल्ने अवसर मिल्यो । ‘मैले खेल्दा सबैले सानी भए पनि राम्रो खेल्ने रैछे भन्थे,’ उनले भनिन्, ‘म दिदीहरूको बीचमा माया पाएरै टिममा खेल्दै अघि बढें ।’ खेल जीवनमा विद्यालयका शिक्षक उमेश श्रेष्ठले धेरै सघाए । हरेक प्रतियोगितामा उनलाई लैजाने, ल्याउने अभिभावक नै बनेका ‘उमेश सर’ ले आफ्नो करियर यहाँसम्म ल्याइपुर्याउन निकै सहयोग गरेको उनको भनाइ छ ।
२०१२ मा नेपालको सिनियर टिममा पर्न सफल भएकी उनले २०१० मा एसीसी यु–१९ मा सिंगापुरमा डेब्यु गरेकी थिइन् । नेपालले यु–१९ को एसीसी महिला कपको तीन संस्करणमा भाग लिदा इन्दु हरेक पटक टिममा थिइन् । उनी पहिलो पटक सहभागी मात्रै भएकी थिइन् तर दोस्रो तथा तेस्रो खेलमा महत्त्वपूर्ण योगदान पुर्याइन् । २०१४ मा उनले कोरियामा एसिया कप खेलिन् । २०१६ बाट नेपालका लागि नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेकी छन् । क्रिकेट खेल्ने क्रममा हालसम्म कोरिया, पाकिस्तान, बंगलादेश, कतार, मलेसिया, दुबई, थाइल्यान्ड, हङकङसम्म पुगिसकेकी छन् इन्दु । ती ठाउँको अनुभवसँगै पहिलो पटक मिलेको ठूलो सफलताले भने अब आफू हरेक खेलका लागि पूर्ण रूपमा तयार रहेको इन्दु बताउँछिन् ।
पछिल्लो सफलतापछि भने उनी फरक मोडमा पुगेकी छन् । कारण आगामी दिनमा चुनौती पनि थपिएका छन् । टिम मेम्बर, कोच तथा क्यानका पदाधिकारी र आमाबुबाले दिएको बधाईसँगै जिम्मेवारी पनि थपिएको छ । ‘खेल जितेपछि पहिले आमाले फोन गर्नुभयो,’ उनले भनिन्, ‘छोरीको अझै प्रगति देखिरहन पाउँ भन्नुभयो, खुसीले आँखा रसाए,’ उनले भनिन् । इन्दुका एक भाइ छन् । उनी भारतीय सेना हुन् । पछि भाइ र बुबाले पनि बधाई दिए ।
इन्दुको हरेक सफलतामा खुसी हुने उनकी आमा भुमा वर्माले छोरीले खेलमा उत्कृष्ट प्रदर्शन गर्नु परिवार, आफन्त, समाज र राष्ट्रकै लागि गौरवमय क्षण भएको बताइन् । ‘छोरीले विजयी भएको बताइन्,’ उनले भनिन्, ‘म त निकै खुसी भएँ ।’ ७ महिनामै जन्मिएकी छोरी भाग्यशाली पनि छ भन्ने लाग्छ भुमालाई । छोरीकै कारण आफूहरू पनि चिनिन पाएकोमा भने दंग छिन् उनी । बुबा रमेश वर्मा पनि इन्दुको खेलबाट सन्तुष्ट नै छन् । २०१३ बाट उनले छोरीको खेल हेर्न सकभर छुटाएका छैनन् । ‘वैदेशिक रोजगारमा छँदा सबैलाई मेरी छोरीबारे सुनाउँथें,’ उनले भने, ‘अहिले अरूले फोटो, भिडियो पठाउँछन् । निकै आनन्द महसुस हुन्छ ।’
बाल्यकालदेखि नै इन्दुलाई खेलमा अघि बढाउनुपर्छ भनेर लागिपरेका शिक्षक उमेश श्रेष्ठ पनि इन्दु खेल्नकै लागि जन्मिएको बताउँछन् । ‘इन्दुकी आमाले चलाएको होटलमा खाजा खान जाँदा उनले सडकमा केटाहरूसँग क्रिकेट खेलेको देख्थें,’ उनले भने, ‘शिक्षक सबैले सल्लाह गरेरै इन्दुलाई विद्यालयमा पढ्न ल्याइयो । पछि क्रिकेट खेल्ने टिम बनाउन उनी आफैं लागिपरिन् ।’ आफूले खेल्न नपाएको भए पनि विद्यार्थीलाई टिम म्यानेजर बनेर गाइड गरेको बताउँछन् उनी । श्रेष्ठले विद्यालयको महिला टिमलाई विभिन्न स्थानमा खेल्नका लागि लग्ने गर्थे ।
‘त्यसबेला विद्यालयका इन्दु र प्रतीक्षा बस्याल टिममा परेका थिए,’ उनले भने, ‘एउटी अलराउन्डर, अर्की विकेटकिपर भएर खेले । विद्यालय र हाम्रो नाम राखे ।’ इन्दुको सफलता देखेर नै क्रिकेटमा महिला खेलाडी अघि बढ्न चाहेको उनको अनुभव छ ।
