आजकै दिन : ज्याक्सनको जन्म

भाद्र १२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९५८ मा आजकै दिन (अगस्ट २९) मा अमेरिकी गायक माइकल ज्याक्सनको जन्म भएको थियो । अमेरिकाको इन्डियानामा जन्मिएका ज्याक्सन ‘किङ अफ पप’ को नाममा विश्वभर चर्चित छन् । उनी २० औं शताब्दीका एक निकै महत्त्वपूर्ण सांस्कृतिक व्यक्तित्व मानिन्छन् ।

आफ्नो चार दशक लामो करियरका क्रममा ज्याक्सन संगीत, नृत्य र फेसनका क्षेत्रमा पुर्‍याएको योगदानका कारण विश्व चर्चित बने । १९६४ मा आफ्ना दाइहरूसँग पहिलो सार्वजनिक कार्यक्रममा प्रस्तुति दिएका ज्याक्सनले एक करिअर भने १९७१ बाट सुरु गरेका थिए । 

ज्याक्सनका ‘थ्रिलर’, ‘अफ द वाल’, ‘ब्याड’, ‘डेन्जरस’, ‘गट टु बी दियर’, ‘इन्भिन्सिबल’, ‘स्केप’ ‘किङ अफ पप’, ‘दिस इज इट’ लगायतका एल्बम निकै लोकप्रिय छन् । उनका एल्मब ४० करोड प्रतिभन्दा बढी बिक्री भएका बताइन्छ । उनको नाममा १५ ग्रामी अवार्ड, ६ ब्रिट अवार्ड, एक गोल्डन ग्लोब अवार्ड र ३९ गिनिज वर्ल्ड रेकर्ड छन् । 

सांगीतिक करिअर निकै शिखरमा पुगेका बेला १९८५ मा प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा हारेपछि ज्याक्सनले एटीभी म्युजिकलाई ४७.५ मिलियन अमेरिकी डलर तिर्नुपरेको थियो । बिटल्स ब्यान्डका जोन लेनन र पल म्याककार्टनीले लेखेका गीतहरूको प्रयोगका विषयमा उनले जरिवाना तिरेका थिए । त्यसपछि उनीविरुद्ध १३ वर्षीय बालकमाथि यौन दुराचार गरेको आरोप लागेको थियो । उक्त मुद्दा मिलाउन ज्याक्सनले २२ मिलियन अमेरिकी डलर खर्चेका थिए ।

त्यस्तै कतिपय व्यक्ति तथा मनोरन्जन कम्पनीले तिर्नुपर्ने पैसा नदिएको वा सम्झौताअनुसार कार्यक्रम नगरेको भन्दै ज्याक्सनविरुद्ध मुद्दा दायर गरेका थिए । जसका कारण जीवनका पछिल्ला दिनमा ज्याक्सन चरम आर्थिक अभावबाट गुज्रिएका थिए । द गार्जियनका अनुसार मृत्यु हुँदाका बेला ज्याक्सनले विभिन्न व्यक्ति तथा कम्पनीलाई करिब पाँच सय मिलियन अमेरिकी डलर तिर्नुपर्ने थियो । ज्याक्सनको २००९ जुन २५ मा लसएन्जल्समा मृत्यु भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully