तेह्रथुम — धनकुटा र तेह्रथुमको सीमा चित्रे बजारमा मंगलबारबाट यस क्षेत्रकै ठूलो राँके मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो मेलामा पूर्वी पहाडी जिल्लाका युवायुवतीको बाक्लो उपस्थिति छ ।
धनकुटा, धरान, इटहरी, झापा, भोजपुर, संखुवासभा, तेह्रथुम र भारतको दार्जिलिङबाट युवायुवतीको सहभागिता रहेको मेला संयोजक पूर्णजंग राईले बताए । बजारका सबैजसो होटल मेला भर्न आएकाहरूले भरिभराउ छ । वर्षमा एक पटक साउन २ बाट सुरु हुने यो पूर्वी पहाडी जिल्लाकै पुरानो मेला भएको स्थानीय होम रायमाझीले बताए ।
स्थानीय बुढापाकाका अनुसार यो मेला चित्रे बजारमा दुई सय वर्षअघिबाट लाग्न थालेको हो । मेलाको प्रमुख आकर्षण लिम्बू समुदायको धान नाच भए पनि पछिल्लो समय यो हराउँदै गएको छ । तेह्रथुममा ३६ प्रतिशत लिम्बू समुदायको बसोबास छ । यिनै समुदायको सिको गरेर अन्य समुदायका युवायुवतीहरू समेत एकआपसमा हात समाएर मायापिरती साटासाट गर्छन् ।
तर पछिल्लो पुस्ताका लिम्बू युवायुवतीमा धान नाच्ने संस्कार कम हुँदै गएको अगुवा थानाहाङ सुब्बाले बताए । कतिपय युवायुवती मेलामै चिनजानपछि विवाहसमेत गर्छन् । त्यसैले बुढापाकाहरू मेलालाई ठिटाठिटीहरूले ‘जोडी बाँध्ने मेला’ पनि भन्छन् । लेकाली क्षेत्रमा लाग्ने यो मेलामा औल क्षेत्रमा उत्पादन हुने आँप, लिची, कटहरलगायतका फलफूलको अत्यधिक व्यापार हुने गरेको चित्रे बजार व्यवस्थापन समिति पूर्वअध्यक्ष नारद कटुवालले बताए । यो मेलालाई
औल र लेकाली क्षेत्रवासीहरूले आपसमा भेटघाट र चिनजान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि लिने गरेको धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले बताए ।
फलफूल लिएर मेलामा आएका औल क्षेत्रवासी लेकाली क्षेत्रमा उत्पादन भएको आलु लिएर फर्किन्छन् । लेकाली क्षेत्रवासी आलुसँग औलमा उत्पादन भएको आँप, कटहर जस्ता फलफूल साटेर लैजान्छन् । रोपाइँ सकेका किसानको समेत मेलामा राम्रै उपस्थिति छ । मेला भर्न र व्यापार गर्न आएको सहिदभूमि गाउँपालिका–५ धनकुटाबाट कटहर लिएर आएका युगेश राईले बताए ।
गाउँगाउँबाट अघिल्लो दिनदेखि नै मेलामा उमेर ढल्किएकाहरू समेत आइपुगेका छन् । बाहिरी जिल्लाबाट आएका युवायुवतीका कारण तेह्रथुमको वसन्तपुरदेखि चित्रे बजारसम्मको सडकमा भीडभाड बढेको छ । मेला स्थल र आसपासका बजार क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । इलाका प्रहरी कार्यालय वसन्तपुरले यी क्षेत्रमा रात्रि गस्तीसमेत बढाएको निरीक्षक हेमराज ओलीले बताए । दिउँसो चित्रे र राति वसन्तपुर बजारमा केही वर्षअघिसम्म एक सातासम्म मेला लाग्थ्यो । तर अहिले बढीमा तीन दिनसम्म मात्र लाग्छ ।
