बोटेको ‘बिन्तीबाटी’

संस्कृति संरक्षणमा जुटेका बोटे समुदायका युवाले आफ्ना समस्या आफ्नै भाषाको गीतमार्फत चित्रण गरेका छन् । जुन गीत उनीहरूले ‘मछुवार नाच’ नाच्दा गाउँछन् । गीत लिएर उनीहरू यस पटक काठमाडौंसम्म पुगे । चितवनको राप्ती खोलाछेउका बोटेले काठमाडौं पुगेर आफ्नो गीत र नृत्य देखाएको यो पहिलो पटक हो । 

श्रावण ३, २०८०

रमेशकुमार पौडेल

बिन्तीबाटी सबै जाति के,आघु बडुहु हामी बोटे जाति के,आउन सखा माछो मारे है,छाक टारेके गाह्रो होखिक हम्रै तसोह्रना चिनौटा ल्य ल्य आयस है ।’बोटे समुदायको परम्परागत पेसा खोला–नदीमा माछा मार्ने र डुंगा चलाउने हो । समयक्रमसँगै माछा कम हुँदै गए, डुंगा तर्ने युग पनि सकियो । तर पुर्खाहरू बस्दै आएको नदी र खोलाका किनार छाडेर अहिले पनि बोटे समुदाय धेरै पर गएको छैन ।

परम्परागत पेसाले जीवन धान्न गाह्रो छ । नयाँ जमाना अनुसारको काम पाउन झनै कठिन छ । माछा मारेर छाक टार्न सकिँदैन, अगाडि बढ्ने चाहना पनि छ । आदिवासी समुदाय बोटेको आफ्नै भाषा, भेषभूषा र संस्कृति पनि छ । 

माथिको सुरु हरफको गीतमा बोटेहरूले आफ्ना समस्या र अवस्थालाई आफ्नै भाषमा चित्रण गरेका छन् । जुन गीत उनीहरूले ‘मछुवार नाच’ नाच्दा गाउँछन् । यो गीत लिएर उनीहरू यस पटक काठमाडौंसम्म पुगे । चितवनको राप्ती खोला आडबाट बोटेहरूले काठमाडौं गएर आफ्नो गीत र नृत्य देखाएको यो पहिलो अवसर थियो ।

‘व्यक्तिगत कामले त देशविदेश पुगियो । आफ्नो समुदायको सांस्कृतिक गीत र नाच देखाउन देशको कुनै पनि भागमा यसअघि गएका थिएनौं । आफ्नो गाउँटोल र समुदाय माझभन्दा पर चितवनमै पनि हामीले सार्वजनिक कार्यक्रममा आफ्नो नाच सायदै देखाएका थियौं,’ सन्तोष बोटेले भने । यस पटक काठमाडौं पुगेको ‘मछुवार नाच’ को टोली नेता उनै सन्तोष थिए ।

भरतपुर–१३ पटिहानी चौकीडाँडा राप्ती किनारमा घर भएका सन्तोष यसअघि बोटे समुदायको भाषाबारे अध्ययन गर्ने टोलीमा पनि सामेल थिए । ‘बिन्तीबाटी’ एकअर्कामा भेट हुँदा बोटे समुदायले गर्ने सुरुवाती अभिवादन हो । नेपाल बोटे समाज चितवनका अध्यक्ष इन्दिरा बोटले दुई महिनाअघि सन्तोषलाई फोन गरिन् । दुई जनाबीच बिन्तीबाटी आदानप्रदान भयो । फोन गर्नुको खास कारण थियो । भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले इन्दिरालाई एउटा खबर सुनाएका थिए ।

नेपाल टेलिभिजन प्लसबाट प्रसारण हुने नृत्यसम्बन्धी कार्यक्रममा बोटे जातिलाई अवसर दिने योजना रहेको कुरा वडाध्यक्ष महतोले बताएपछि इन्दिराले उपाध्यक्ष विश्व बोटे, सचिव प्रदिप बोटे र युवा अगुवा सन्तोषसँग यो जानकारी पुर्‍याइन् । कुरा सुनेपछि नेपाल बोटे महिला समाजका अध्यक्ष बिना बोटेले पनि हौसला बढाइन् । 

बिना र इन्दिरा मिलेर गीत लेखे, दुरपति बोटे गाउन तयार भइन् । नाच्नेहरूलाई सिकाउने कामको नेतृत्व सन्तोषले लिए । नौ पुरुष र एघार महिला गरेर २० जनाको टोली बन्यो । ‘बोटेहरू डुंगा खियाउने बहाना नै डुंगामा बजाउँदै गीत गाउने जाति हो । हाम्रा आफ्ना बाजाहरू पनि छन् । मादल, खैजडी, डम्फु पनि जुटायौं,’ उपाध्यक्ष विश्वले भने । नाच्ने ठूलो टोली थियो । ताल मिलाउन गाह्रै भयो । डेढ महिना मिहिनेत लाग्यो । गत असार १९ गते काठमाडौंमा कार्यक्रम देखाएपछि उनीहरूको उत्साह बढेको छ ।

‘मछुवार नाच’ जस्तै बोटे समुदायका मंगनी नाच, सोहोर्ना चिनौटा नाच, गोलेनी नाच, सोल्टा सोल्टनी र स्याल माछो जस्ता नाचहरू छन् । नाच्दा लगाउने परम्परागत पोसाकमा महिलाको कालो चोलो, रातो थोप्ला परेको कालै रंगको गुन्युँ र सोतो थोप्ला परेको घलेक ओड्छन् । पुरुषहरू सेतो कछाड, सेतो सर्ट र कालो स्टकोट लगाउँछन् ।

‘अब हामीलाई के विश्वास भएको छ भने हाम्रो आफ्नै पूजा, बिहे र अन्य संस्कारका क्रममा नाच्ने नाच र गाउने गीतहरू अन्य समुदायमाझ पनि लैजान सकिँदो रहेछ । उनीहरूले मन पराउँछन् भन्ने काठमाडौंबाट फर्केपछि विश्वास बढेर आएको छ,’ सचिव प्रदिप बोटेले भने । प्रदिप होटल व्यवसायी पनि हुन् ।

बोटे समुदायको बाक्लो बसोबास भएको भरतपुरको पटिहानी क्षेत्रमा राम्रा राम्रा पर्यटकीय होटल खुल्ने क्रम बढेको छ । होटलहरूमा थारू समुदायको सांस्कृतिक नाच देखाइने गरिन्छ । पर्यटकले यस्तो नाचलाई रुचाएका पनि छन् । बोटे समुदायको नाच पनि पर्यटकले मन पराउने प्रदिपलाई लागेको छ । गोलेनी नाच, सोह्रना चिनौटा र सोल्टना सोल्टनी नाच होटलहरूमा देखाउन सकिने उनले बताए । ‘अब हामी होटल व्यवसायी, वडा कार्यालय र महानगर नेतृत्वसम्म यो कुरा पुर्‍याउँछौं,’ सचिव प्रदिप बोटेले भने ।

पछिल्लो जनगणनाअनुसार बोटे समुदायको जनसंख्या देशभर ११ हजार २५८ छ । चितवनमा तीन हजार १४४ बोटेहरू छन् । भरतपुर महानगरका १३ र २२ वडामा पर्ने पहिटानीमा बोटेहरूको बाक्लो बसोबास छ । यी दुईवटा बडामा बोटेका करिब एक सय घर रहेका जिल्ला अध्यक्ष इन्दिरा बोटेले बताइन् । 

‘परापूर्वकालदेखि पुर्खा बस्दै आएको नदी र खोला किनार त्यागेर अन्यत्र जान सकेका छैनौं । जग्गाजमिन छैन । पढाइलेखाइ पनि कम भएका कारणले राम्रो जागिर पाइँदैन । खोलामा माछा मार्न निकुञ्जको बार बन्देज छ । डुंगा चढ्न पर्यटकबाहेक अरूलाई आवश्यकता छैन । हाम्रो समुदाय संकटमा छ,’ इन्दिराले भनिन् । त्यसैले युवाहरू सांस्कृतिक नाच गानलाई ब्युँताएर आफ्नो कथा संसारलाई सुनाउने र यसैबाट थोरै धेरै आर्जनमा पनि गर्ने मन बनाएको उनले बताइन् । 

युवा ग्यालरी

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully