मिटरब्याज पीडितलाई फेरि त्रास

उजुरी लिने तर कानुन ल्याउन नहतारिने सरकारविरुद्ध कडा आन्दोलन गर्ने पीडितको चेतावनी, उता आयोग अध्यक्ष भन्छन्– अध्यादेश खारेजीले काम गर्न अप्ठ्यारो पर्दैन

असार २५, २०८०

शंकर आचार्य, सन्तोष सिंह

धनुषा, रौतहट‚ पर्सा — संघीय संसद्‌मा रहेको मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न ल्याइएको अध्यादेश गत बुधबार निष्क्रिय भएपछि मिटरब्याजपीडितमा निराशा छ । फेरि उही प्रताडना भोग्नुपर्ने भयले उनीहरू संशकित छन् । 

ऋणको चार गुणासम्म बढी असुल्ने र जायजेथा हडप्ने गरी फर्जी तमसुक बनाएर मिटरब्याजी (सुदखोर) बाट प्रताडना खेप्दै आएका मधेशका विपन्न परिवारलाई सरकारले अध्यादेश ल्याएपछि न्यायको आश पलाएको थियो । मिटरब्याजीबाट दिनदिनै घरमा आएर हुलहुज्जत मात्रै होइन, इज्जतसँगै खेल्न थालेपछि मधेशका महिला पैदल मार्च गरी काठमाडौं पुगेर धर्ना दिएका थिए । सरकारले बाध्य भएर छानबिन कार्यदल, अयोग गठन गर्दै अध्यादेशमार्फत कानुन बनाउने तयारी गरेको थियो । 

मिटरब्याजपीडितको लामो संघर्षपछि सरकारले मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी परिभाषा गरी दण्डनीय हुने व्यवस्था गर्न मौजुदा कानुनमा संशोधन गर्दै अध्यादेश जारी गरेको थियो । कानुनबमोजिम अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्नुपर्थ्यो । उक्त अध्यादेशमा मुलुकी अपराध संहिता २०७४ मा संशोधन गर्ने प्रावधान थियो । सरकारले त्यहीअनुरुप गठन गरेको आयोगले संशोधित कानुनका आधारमा मिटरब्याज पीडितबाट उजुरी संकलन र छानबिनसमेत गरिरहेको छ । सरकारले कानुनमा समेत संशोधन गरेर आयोग गठन गरेपछि आन्दोलनरत पीडितहरू घर फर्किएका थिए ।

मिटरब्याजीपीडित संघर्ष समिति रौतहटका अध्यक्ष शिवशंकर महतोले सरकारले कानुन पास गर्न नसकेकाले पीडितलाई झनै समस्यामा पारेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए । ‘सरकारले केही गर्न सकेन, अब कडा आन्दोलन गर्छौं,’ उनले भने, ‘साहु–महाजनको घरघर पसेर तमसुकलगायत कागज कब्जा गर्छौं ।’

जिल्ला प्रशासन रौतहटमा २ हजार ७८ पीडितले अनुचित लेनदेनसम्बन्धी निवेदन दिएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले तीमध्ये १ सय ९५ वटा छलफलको माध्यमबाट मिलापत्र भएको सुनाए । ‘अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग र गृह मन्त्रालयबाट स्पष्ट मार्ग निर्देशन नआएसम्म मिटरब्याजसम्बन्धी उजुरीको छानबिन जारी राख्छौं,’ उनले भने, ‘अहिलेसम्म माथिबाट कुनै निर्देशन आएको छैन । हामी निर्देशन पर्खिरहेका छौं ।’ मिटरब्याजी पीडित मधुसूदन धितालले कानुन बन्न नसक्दा आफूहरूको निवेदनमाथि करबाही नहुने चिन्ता लागेको गुनासो पोखे ।

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन गरेको आरोपमा १० जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ तर अध्यादेश नै निष्क्रिय भएपछि उनीहरूमाथि थालिएको कारबाही के हुने भने अन्योल छ । पर्साका सहायक प्रजिअ भीमकान्त पौडेलका अनुसार दर्ता भएका उजुरीको छानबिनपछि १० जना मिटरब्याजीलाई थुनामा राखेर कारबाही अघि बढाइएको हो । पर्सामा मिटरब्याजीविरुद्ध १ हजार ३ सय २१ उजुरी दर्ता भएका छन् । उनले ८० उजुरीमा दुवै पक्षले मिलापत्र गरेका छन् भने २ वटामा मुद्दा दर्ता भएका छन् । मधेशमा वैशाख १७ देखि उजुरी दर्ता गर्न थालिएको हो । पौडेलले सामान्यतया मिटरब्याजीले कसैलाई थोरै रकम दिएर त्यसबापतको कपाली तमसुक र दोब्बरदेखि तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको बताए ।

यसरी एकै व्यक्तिलाई धितोबापत सापट दिएको रकमको दोब्बर–तेब्बरभन्दा पनि बढी रकम लेखेर कपाली तमसुक गराउने र बैंकको चेकसमेत लिएर हदैसम्म अन्याय गर्ने प्रवृत्ति पाइएको उनले बताए । प्रशासनले उजुरी छानबिनका क्रममा दुवै पक्षमात्र नभई कपाली वा अन्य कागजात लेख्ने लेखापढी वा कानुन व्यवसायीलाई पनि कार्यालयमा बोलाएर आवश्यक सोधपुछ तथा बयान लिएको थियो ।

‘आयोगलाई असर गर्दैन’ 

अनुचित लेनदन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले मिटरब्याज पीडितको पक्षमा कानुन बनाउन ल्याएको अध्यादेश खारेज भए पनि आयोगलाई काम गर्न कुनै असर नपर्ने बताएका छन् । आयोगमा मधेश प्रदेशका ८ जिल्लाबाट १८ हजार २१ सहित देशभरिबाट २४ हजार उजुरी परेको र १ हजार २ सय ७० उजुरीमा छलफल गरी मिलापत्र गराइएको छ ।

उजुरीअनुसार ऋणीले ९ करोड मात्र कर्जा लिएको बताउँदा महाजनले २६ करोड ऋण दिएको दाबी गरे पनि छलफलमा महाजनको ऋण १२ करोडमा आएको उनले बताए । ‘मधेशमा मात्रै १ हजार ३८ उजुरीमा मिलापत्र भएको छ, महाजनबाट ३० किता जग्गा ऋणीले फिर्ता पाएको छ,’ अध्यक्ष कार्कीले भने । मिटरब्याजको समस्या समाधान गर्न हरेका जिल्लामा सहायक प्रजिअको संयोजकत्वमा सरकारी वकिल र प्रहरी निरीक्षकसहितको कार्यदलले काम गरिरहेको उनले बताए । ‘अध्यादेश खारेज भए पनि जाँचबुझ आयोग र कार्यदललाई काम गर्न खासै असर पर्दैन,’ अध्यक्ष कार्कीले भने, ‘जुन समयमा घटना घटेको हो, त्यतिबेलाको कानुन लाग्ने हो । यो समस्यामा अध्यादेश खारेज भए पनि पुरानो घटनालाई असर पर्दैन । नयाँ घटनामा फौजदारी मुद्दा लाग्ने अवस्था थियो ।’

अध्यादेश खारेजीले जिल्ला प्रशासन कार्यालयमा परेको उजुरी छानबिन र मिलापत्र गराउन कुनै समस्या नहुने उनले बताए । धनुषामा २ हजार ६ सय १५ उजुरीमा १ सय १९ मिलापत्र र पुरानो उजुरीमा १ सय ६७ उजुरीको मिलापत्र भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । अध्यादेश निष्क्रिय भए पनि जिल्ला प्रशासनमा हेल्पडेस्क चालु रहने उनले बताए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully