घुम्न आएर घर बिर्सेकी विपना

असार ६, २०८०

प्रकाश बराल

बागलुङ — पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका–६ की विपना तामाङ करिब सात वर्षअघि कक्षा १२ को परीक्षा सकेर घुम्नका लागि बागलुङ आइपुगेकी थिइन् । घुमघामकै क्रममा उनी २०७३ साउनमा बागलुङको मानव सेवा आश्रममा छिरिन् । त्यतिबेला मानव सेवामा केही समय खर्चने सोच बनाएकी विपनासँगै आफ्ना बाबु पनि थिए । एक महिना सेवा गरेपछि घर आउने भन्दै सँगै आएका बाबुलाई फर्काइदिइन् उनले । 

एक महिनामा फर्कने भनेकी विपना तीन महिनासम्म घर पुगिनन् । बाबुआमाले बोलाइरहे । २०७३ को तिहारमा घर गएकी विपना भने कहिले आश्रम फर्कन पाइएला भन्ने सोचमा हुन्थिन् । ‘जतिबेला पनि आश्रमको कुरा गरिरहेको सुनेर बाबुआमा दंग पर्नुभयो,’ उनले भनिन्, ‘मलाई मेरो गाउँमा बस्न मन लागेन, त्यसैले सिधै आश्रम हानिएँ ।’ तराईमा हुर्के, पढेकी विपनाका लागि त्यतिबेला पहाड अनौठो लाग्थ्यो । ‘तर अहिले भने बागलुङ प्यारो लाग्न थालेको छ,’ उनले भनिन्, ‘एक दिन आश्रममा सेवा गर्न नपाए पनि मन खल्लो हुन्छ ।’ 

त्यसअघि आश्रममा सञ्चालक भएर काम गरिरहेकी थिइन् सुमिरा लामाले । हेटौंडाकी लामाको सेवाले प्रभावित विपना पनि सडकमा बेवारिसे बनेका, बलात्कारपछि गर्भवती भएकौ घरपरिवारबाट अलग भएका र अभिभावकविहीनको उद्धारमा लागिन् । आश्रममा हाल सडकबाट उद्धार गरिएका ४८ जना छन् । २५ वर्षीया विपनाले बिहान उठेर उनीहरूलाई नुहाइधुवाइ गराउने, औषधि तथा पानी र खानेकुरा खुवाउँछिन् । कतिपयलाई आवश्यक स्याहारसुसार पनि गर्छिन् । त्यसका लागि आश्रमको सेवामा लागेकी अनमी भावना शर्माले उनलाई सघाउँछिन् । 

आश्रममा रहेका मध्ये ७ बालबालिका छन् । ६ जना विद्यालय जान्छन् । एक २ वर्षीया बालिका छिन् । विपनाले सबैलाई छोराछोरीझैं पालेकी छन् । उनले आमाले भन्दा पनि राम्रोसँग हेरचाह गरेकी आश्रमकी सञ्चालक सदस्य लक्ष्मी बाँस्कोटा बताउँछिन् । हाल ४८ जना भए पनि आश्रमले १ सय ४२ जनाको उद्धार गरिसकेको छ । तीमध्ये २७ जनाको पारिवारिक पुनर्मिलन भइसकेको छ । उपचारपछि निको भएका ६१ जना आफैं घर गएका छन् भने १३ जनाले आश्रममै ज्यान गुमाइसकेका छन् । 

२०७२ मा स्थानीय युवाको अगुवाइमा स्थापित आश्रम सञ्चालनका लागि हाल मासिक ७ लाख ५० हजारको हाराहारीमा खर्च हुन्छ । त्यो जुटाउने काममा पनि विपनाको अग्रणी भूमिका छ । एक वर्ष अघिसम्म सुमिरा पनि बागलुङमै थिइन् । अहिले उनी काठमाडौंको आश्रम व्यवस्थापनमा जुटेकी छिन् । स्थानीयको सहयोगमा चामल सहजै जुटेको भए पनि तरकारी, नुनतेल र औषधिका लागि समस्या छ । ‘कतिपयले जन्मदिन, संस्थाको स्थापना दिवसलगायतमा चामल ल्याइदिनुहुन्छ, त्यसैले किन्नुपरेको छैन,’ विपनाले भनिन्, ‘अन्य खर्च भने जुटाउन कठिन छ ।’ 

सुरुमा सामान्य रूपमा चलेको आश्रमका लागि सुमिरा र विपनाको पहलमा व्यवस्थापन समितिसमेत बनेको छ । समितिले आश्रमको घर बनाउने अठोट लियो । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी आएर यहाँ आश्रम बनाउनुपर्नेमा जोड दिएपछि स्थानीयले पनि दान दिन थाले । १२ करोड ५० लाख लागत स्टमेट गरिएको भवन निर्माणका लागि ४ रोपनी जग्गा खोजियो । हाल गण्डकी प्रदेश सरकारबाट १ करोड ५० लाख रुपैयाँ भवनका लागि जुटेको छ । बाँकी एक करोडभन्दा बढी स्थानीय तह र दाताबाट जुटाएर आश्रमको पहिलो तला बनेको छ । ‘मैले हिसाबकिताब राख्ने र छिटो सक्न पहल मात्र गरेकी हुँ, काममा समिति खटेको छ,’ विपनाले भनिन् । 

छोरीको सेवा देखेपछि आजकल भने बाबु ताराबहादुर र आमा रसमायाले उनलाई घर फर्कन कर लगाउन पनि छाडेका छन् । विपना जुम्ल्याहा सन्तान हुन् । उनीसँगै जन्मेकी सपनाको ५ वर्षअघि नै विवाह भइसक्यो । व्यवस्थापनमा स्नातक विपनाका कतिपय साथी र गाउँका धेरै युवा विदेश हानिए । उनका साथीले अझै पनि विदेशमा बोलाउँछन् । व्यवस्थापन पढेकाले कुनै व्यवसायमा लाग्ने वा ठूला फर्ममा जागिर खानुपर्ने सुझाव पनि उनले धेरै पाइन् । तर उनी भने जागिर र विदेशको मोह चटक्कै त्यागेर मानवीय सेवामा समर्पित भइन् । ‘उमेरले सानै भए पनि विपनाले हामीलाई धेरै कुरा सिकाएकी छन्,’ व्यवस्थापन समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठ भन्छन् । 

युवा ग्यालरी

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully