धनकुटा — पहाडको टुप्पो उसै पनि दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्छ । धनकुटा र मोरङको सीमावर्तीस्थल ध्वजेडाँडा पनि यस्तै स्थानमध्येको हो । यहाँको बाह्रैमास ठन्डा र मनोरम प्राकृतिक माहोलले लोभ्याउँछ । महाभारत शृंखलाको २ हजार ४७ मिटर उचाइमा छ, ध्वजेडाँडा ।
ध्वजैध्वजाले सजिएको स्थानमा अब विश्वभरिका झन्डा फहराइँदै छ । त्यसैले स्थानीयले उक्त स्थानको नाम फेरिदिएका छन् । अब ‘फ्ल्याग हिल’ पनि भन्न थालिएको छ । त्यही फ्ल्याग हिलमा सोमबार बिहान आन्तरिक पर्यटकको भीडभाड थियो । कारण, ध्वजेडाँडाभरि विश्वभरका झन्डा राख्न सुरु भएको छ । सोमबार सार्कसहित २२ मुलुकका राष्ट्रिय झन्डा सजाइएको छ । यति बेला भुइँ कुहिरोले ढपक्कै ढाक्ने गर्छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारको माथिल्लो भागमा पर्ने ध्वजेडाँडामा विश्वभरका २०४ मुलुकको झन्डा राखिनेछ । ‘पहिलो चरणमा २२ मुलुकको झन्डा राखियो,’ गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भने, ‘अब विश्वरका सबै मुलुकको झन्डाले डाँडालाई सजाउनेछौं ।’ विश्वभरका झन्डा राख्नका लागि उपभोक्ता समितिसमेत गठन गरिएको छ । समितिका अध्यक्ष राजकुमार लिम्बू पनि निकै उत्साहित छन् । विश्वभरका झन्डा राख्ने योजनाका लागि अनुमानित खर्च ६ लाख ३३ हजार १ सय ४ रुपैयाँ रहेको उनले बताए । नेपाल पर्यटन बोर्डबाट ५ लाख, गाउँपालिकाबाट १ लाख २५ हजार र जनसहभागिताबाट ३५ हजार ६ सय ४ रुपैयाँ जुटाइएको छ ।
आयोजनाको सम्झौता जेठ १० मा भएको थियो । सम्झौता भएको एक महिनामै २२ मुलुकको झन्डा राख्ने काम सम्पन्न भएको छ । साँगुरीगढी–५ का वडाध्यक्ष खड्गबहादुर लिम्बूले वर्षौं पहिलेदेखिको योजना सार्थक भएको बताए । मोरङको विराटनगर र धनकुटा सदरमुकामबाट समान ५०/५० किलोमिटर दूरीमा रहेको ध्वजेबाट मौसम सफा रहेका बेला पूर्वी क्षेत्रका विभिन्न जिल्ला देखिने पर्यटन व्यवसायी कृष्ण ब्लोन बताउँछन् । डाँडाबजारबाट करिब डेढ किलोमिटर ठाँडो उकालो पैदल दूरीमा पर्ने ध्वजे नजिकसम्म पछिल्लो समय सवारी साधनसमेत पुग्छ ।
उत्तरतर्फ मकालु, कुम्भकर्ण र कञ्चनजंघालगायत हिमालले लोभ्याउँछ । दक्षिणतर्फ पूर्वी मधेशको फराकिलो फाँट नियाल्न सकिन्छ । सूर्योदयका लागि समेत प्रसिद्ध छ ध्वजे । ऐतिहासिक दृष्टिले समेत महत्त्वपूर्णस्थल ध्वजेको माथिल्लो भागमा रहेको प्राकृतिक पोखरीलाई दैविकस्वरूप महत्त्व राखेर स्थानीयले विशेष पूजा गर्छन् ।
