ओखलढुंगा — हाते गिम्बलमा मोबाइल, पिठ्युँमा झोला । झोलामा नेपालको झन्डा । कालो टिसर्ट र नीलो जिन्समा ओखलढुंगा–सोलुखुम्बु सडकमा हिँडिरहेका भेटिए सुशील कवर योगी । रुकुम पश्चिम चौरजहारी नगरपालिका–९ कोटजहारीका योगी १८ वर्षका भए । पछिल्लो समय परिवारसँगै चितवनको भरतपुर महानगर–११ नीलगिरिटोल बस्ने योगीले १२ कक्षाको परीक्षा दिइसके । नतिजा आउने अवधिको सदुपयोगका लागि उनी मुलुकको भ्रमणमा निस्किएका हुन् । त्यो पनि बिनापैसा (खर्च) ।
जेठ १७ मा घरबाट निस्किएका उनी सुरुमा ट्रकलाई अनुरोध गरेर काँकडभिट्टा पुगे । त्यहाँबाट इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्र्रथुम, धनकुटा, सुनसरी, मोरङ, सप्तरी हुँदै सिरहा छोएर उदयपुरतर्फ लागे । उदयपुरबाट खोटाङको दिक्तेल हलेसी भएर १४ दिनमा ओखलढुंगा आइपुगेका हुन् । उनी सोलुखुम्बु हुँदै वाग्मती प्रदेशका जिल्लातिर लाग्ने सोचमा छन् । कोशी प्रदेशमा भने भोजपुर छुटेको छ । त्यसलाई पछि पूरा गर्ने सोच बनाएका छन् । ‘म पुरै पैदल भने हिँडेको होइन । जहाँ गाडी, मोटरसाइकलले लिफ्ट दिन्छ त्यहाँ सवारीबाटै हिँडेको छु,’ सुशीलले भने, ‘केही नपाइने ठाउँमा दैनिक १३ घण्टासम्म पैदल हिँडेको छु । नेपाल घुम्ने मेरो सानैदेखिको चाहना हो । यो पूरा गर्न धेरै पैसा लाग्ने भएपछि बिनापैसा घरबाट निस्केको हुँ । बाटोमा प्रायः सबैले सहयोग गर्नुभएको छ ।’
प्रायःले उनलाई गाँसबासका लागि सहयोग गरिरहेका छन् । कसै–कसैले दुई/चार पैसा नगद पनि दिएका छन् । घुम्न निस्कनुका पछाडि उनका दुई उद्देश्य छन् । पहिलो, नेपालको भूगोल, समाज र मान्छे चिन्ने र दोस्रो, घुमिसकेपछि यात्रा संस्मरण समेटेर पुस्तक लेख्ने । त्यसैले यात्राका क्रममा भेटिएका चाखलाग्दा कुरा डायरीमा नोट गरिरहेका हुन्छन् । ‘नेपालको भूगोल, समाज र मान्छे कति फरकफरक हुने रहेछ,’ उनले भने, ‘मैले केही जिल्ला घुम्दा नै धेरै कुरा थाहा पाइसकें ।’ भ्रमणका क्रममा सबै भूभाग घुम्न नसके पनि चर्चित ठाउँ र त्यस जिल्लाको सदरमुकाम भने पक्कै पुग्छन् । कतिपयले बाटोमा सहयोग माग्दा निकै नमिठो वचनसमेत पाएको उनले बताए । सबै कुराले आफूलाई सिकाइ भएको र त्यसले जीवनमा ठूलो सहयोग पुग्ने उनको आशा छ । त्यसो त घुम्नका लागि उनलाई सानैदेखि खुबै रहर लाग्थ्यो । परिवारले नमान्दा नमान्दै पनि लुम्बिनी, पोखरा जस्ता विभिन्न ठाउँमा उनी घुम्न गएका थिए ।
उनका बुबा नरेन्द्र कवर योगी मजदुरीका लागि भारतमा छन् । आमा भर्दशिला चितवनमै भाडाको जमिनमा कृषि गरिरहेकी छन् । एक दाजु लोक सेवाको तयारी गर्दै छन् । उनले जब नेपाल घुम्न प्रस्ताव राखे बुबाआमा कसैले सहमति जनाएनन् । त्यही पनि उनले धेरै विश्वास दिलाएर घरबाट निस्किए । ‘म घरबाट हिँडेको तेस्रो दिन आमाले फोन गरेर रुनुभयो । म बाटो खर्च पठाउँछु । फर्केर आइज भन्नुभयो,’ उनले भने, ‘आमा रोएको सुन्दा निकै दुःख लाग्यो । तर मैले फेरि सम्झाएँ र उहाँ मान्नुभयो । जसरी भए पनि ७७ जिल्ला घुमिसक्ने मेरो योजना छ ।’
विज्ञान संकाय लिएर १२ को जाँच दिएका उनले भविष्यको खाकासमेत बनाइसकेको बताए । विज्ञान विषयमै स्नातक गर्ने चाहना छ । त्यसपछि नेपालमै केही गर्ने र अरूलाई रोजगारी दिने किसिमको योजना उनले बनाएका छन् । ‘घुम्नका लागि इच्छा शक्ति भए पुग्छ, त्यसका लागि पैसा नै चाहिन्छ भन्ने छैन,’ उनले भने, ‘घुम्नका लागि सबैभन्दा उपयुक्त मेरो उमेर यही हो भनेर घरबाट निस्किएको हुँ । यो यात्राले सबैभन्दा बढी मलाई भोक के रहेछ भन्ने सिकाएको छ ।’
