काठमाडौँ — गायक तथा संगीतकार जेम्स प्रधानले आफ्नै निर्देशनमा सर्ट फिल्म ल्याएका छन् । सर्ट फिल्म ‘एसटीएमएल (सर्ट टर्म मेमोरी लस)’ मा छिनछिनमा बिर्सने समस्या भएका दुई प्रेमीप्रेमिकाको सम्बन्धमा आउने उतारचढाव देखाइएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रिमियर गरिएको १९ मिनेट लामो फिल्ममा समिसन जिसी र वेदना राईले अभिनय गरेका छन् । फिल्ममा श्याम तामाङको छायांकन, जेसिका प्रधानको सम्पादन र कपिल पराजुलीको रंग संयोजन रहेको छ ।
फिल्मको प्रिमियरका क्रममा प्रधानले इन्टरनेटको माध्यमबाट आफूले सिकेको सीप प्रयोग गरेर सर्ट फिल्मको निर्देशन गरेको जनाए । आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशनमा समेत आउने सक्ने उनको भनाइ छ । यो उनको दोस्रो सर्ट फिल्म हो ।
कार्यक्रममा निर्देशक राजेन्द्र शलभले विज्ञापन बनाउने क्रममा नै जेम्सको प्रतिभालाई महसुस गरेको र त्यो पछिल्लो समय निर्देशनमा देखिएको बताए । प्रिमियरमा गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भीम तुलाधर, संगीतकार न्हू वज्राचार्य, निर्देशक सुब्रतराज आचार्य, अभिनेता प्रशान्त ताम्राकारलगायतको उपस्थिति थियो ।
