बटुवाको तिर्खा मेटाउँदै

असार ३, २०८०

रुपा गहतराज

नेपालगन्ज — गर्मीले सडकमा मानिसको चहलपहल कम छ । सडक नै तातिएको छ । बजार सुनसान छन् । तर, ज्यालादारी मजदुरी गर्ने विपन्नलाई त्यो तातोमा पनि काम नगरी सुख छैन ।

त्यस्तै बाटो हिँड्ने बटुवालाई खानेपानी खुवाउन व्यस्त छन्– नेपालगन्ज उपमहानगरपालिका–५ गणेशपुरका ३० वर्षीय अजिज मलिक । गत शनिबारदेखि उखरमाउलो गर्मी बढेपछि उनी आफैं सडकमा निस्किएर बटुवालाई पानी पिलाइरहेका छन् ।

‘पैसा हुनेहरूले त चिसो पानी किनेर खालान् तर पैसा नहुनेहरूले पानी किनेर खाने अवस्था छैन,’ उनले भने, ‘त्यसैले यो गर्मीमा बटुवाका लागि पानी बाँड्ने काम सुरु गरेको हुँ ।’ उनलाई साथ दिन साथीभाइ स्वस्फुर्त जम्मा भएका छन् । पहिलो दिन शनिबार ५ पेटी पानी बाँडेका उनले आइतबारदेखि ५० पेटी पानी एकै दिन बाँडेको सुनाए । प्लास्टिकको गिलासमा पानी हालेर उनी गाडी/रिक्सा चालक र बटुवालाई वितरण गरिरहेका भेटिन्छन् । ‘यो कुनै अभियान होइन, कुनै स्टन्ट पनि होइन,’ उनले भने, ‘फगत मानवीय कर्म मात्रै हो ।’

यो आइडिया त्यसै नफुरेको भने उनले सुनाए । गत साता शनिबार बिहान कामका लागि भारतीय बजार बाबागन्ज पुगेका उनीसँग गोजीमा पैसा थिएन । गर्मीले बेहाल भएपछि उनलाई प्यास लाग्यो । तर, उनले नेपालगन्जसम्म पुग्दा बाटोमा कुनै धारा भेटेनन् । गोजीमा भएको मोबाइल स्विच अफ थियो । कसैलाई फोन गर्नसमेत पाएनन् । गर्मीले बेहाल भएका उनले तिर्खा मेट्ने पानी घरमै आएर पाए । ‘प्यासको महत्त्व बल्ल बुझें,’ उनले भने, ‘त्यसपछि आफैं पानी बोकेर सडकमा हिँडिरहेको छु ।’ 

लाखौं बजेट हुने स्थानीय तहले आफ्नो वडामा खानेपानीको व्यवस्था गर्न नसक्नु दुःखद भएको उनले सुनाए । ‘एउटा सानो खानेपानीको ट्यांकी राख्न कति नै बजेट चाहिन्छ र ?’ उनले प्रश्न गरे । पाँच दिनमा झन्डै १ लाख लिटर पानी बाँडिसकेका छन् । उनको यस अभियानलाई नेपालगन्ज–११ वडा कार्यालयले भने ट्यांकी उपलब्ध गराएर सहयोग गरेको छ । उनको एकल प्रयासलाई साथ दिँदै अहिले अन्य युवाले पनि नेपालगन्जको चारबाहिनी चोकमा निःशुल्क चिसो पानी वितरण सुरु गरेका छन् ।

मानवता नेपाल बाँकेको आयोजनामा आइतबार यहाँ खानेपानी वितरण गरिएको हो । ‘आउनुहोस् हराएको मानवताको खोजीमा सबैले हातेमालो गरौं’ भन्ने मूल नाराका साथ पानी वितरण गरिएको छ । पछिल्लो समय नेपालगन्जमा अत्यधिक गर्मी भएको र हिँडडुल गर्ने व्यक्तिलाई प्यास धेरै लाग्ने हुँदा उनीहरूको प्यास मेटाउन निःशुल्क पानी वितरण गरिएको मानवता नेपाल बाँकेका अध्यक्ष मधुसूदन अधिकारीले बताए । ‘पछिल्लो समय मानवता हराउँदै गएको छ । अहिलेको युवा पुस्ताले परेका बेला सहयोग गर्ने बानी बसाल्न यो अभियान थालेका हौं,’ उनले भने ।

आइतबार एक हजार जनालाई साढे ५ सय लिटर पानी वितरण गरिएको उनको भनाइ छ । एक सातासम्म पानी खुवाउने कार्य गर्न खोजे पनि आर्थिक अभाव हुँदा एक दिनमात्र निःशुल्क पानी खुवाउन सकिएको उनको भनाइ छ । कसैले पानी खरिदमा सहयोग गरे नेपालगन्जका चोकचोकमा पानी वितरण गरिने उनी बताउँछन् ।

संस्थामा आबद्ध सदस्यहरूले जन्मदिनको खर्च कटाएर मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको पनि उनले बताए । युवा पुस्ताको नवीन कामले समुदायलाई जोड्न सहयोग पुर्‍याउने समाजसेवी नन्नदलाल वैश्यले सुनाए । ‘युवाहरूले गरेको यो कामले सहयोगको भावना जगाउँछ,’ उनले भने, ‘सराहनीय कामको सबैले अनुसरण गर्नुपर्छ ।’

युवा ग्यालरी

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully