अध्ययनपछि एक दशक स्वास्थ्य क्षेत्रमा बिताएका गुर्भाकोटका हीराबहादुर घर्तीले जागिर छाडेर ड्रागन फ्रुट फार्म सञ्चालन गरिरहेका छन् । कर्णालीमा व्यावसायिक रूपमा ड्रागन खेती भित्र्याउने पनि उनै हुन् ।
वीरेन्द्रनगर — सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ गुमीका हीराबहादुर घर्ती पेसाले स्वास्थ्यकर्मी हुन् । हेल्थ असिस्टेन्ट (एचए) पढे भने करिब ११ वर्ष स्वास्थ्य क्षेत्रमा बिताए । पछिल्लो समय गोर्खा वेयरफेयर ट्रस्ट सुर्खेतमा काम गरेका उनको पारिश्रमिक मासिक ७० हजार रुपैयाँ थियो । तर अहिले उनी जागिर छाडेर ड्रागन खेतीमा रमाएका छन् ।
उनले आफ्नै गाउँमा कर्णाली ड्रागन फ्रुट फार्म सञ्चालन गरिरहेका छन् । व्यावसायिक रूपमा ड्रागन खेती कर्णालीमा भित्र्याउने श्रेय पनि उनैलाई जान्छ ।
सन् २०२० मा कोरोना भाइरसका कारण देश लकडाउनमा थियो । हीराबहादुर सुर्खेत वीरेन्द्रनगरको खजुरास्थित घरमै बसेर दिन कटाउँथे । मोबाइल चलाइरहेका बेला एक दिन ड्रागन फ्रुट व्यवसायसम्बन्धी भिडियो देखे । त्यतिबेलासम्म उनले ड्रागनको स्वाद चाखेका पनि थिएनन् । उनले गुगल र
युट्युबमा यसको खेतीबारे अध्ययन गर्न थाले । ज्ञान बढाउँदै गए । अनि आफ्नो पुर्ख्यौली जग्गामा खेती गर्ने सोच बनाए । सुरुमा जागिरसँगै ड्रागन खेतीको व्यवसाय गरे । तर दुवै काम गर्दा समय पुगेपछि उनी जागिर छाडेरै कृषिमा रमाइरहेका छन् । माटोमा मिहिनेत गर्ने युवाहरू नेपालमा कमै भएकाले पनि आफूले माटोमा मिहिनेत गर्नुपर्छ भन्ने सोचेर जागिर छोडेको उनी बताउँछन् । ‘युवाहरू धमाधम विदेश गइरहेका छन् मलाई भने आफ्नै माटोको माया लाग्यो,’ उनले भने, ‘आफ्नै गाउँको माटोको सदुपयोग गरेर कर्णालीलाई समृद्ध बनाउने मेरो सपना हो ।’
उनले ड्रागन खेती गर्न थालेको २ वर्ष भयो । अहिले उनले ८ औं लटको ड्रागन उत्पादन गरिसकेका छन् । उनी खेतीबाट पनि सन्तुष्ट छन् । सुविधासम्पन्न घरमा बस्ने अवसर पाएर पनि उनी अहिले आफूले खेती गरिरहेकै स्थानमा टिनको छानोमा जिन्दगी बिताइरहेका छन् । ‘मेरो लागि अहिले सबैथोक भनेको यही खेती हो, म यसमै रमाइरहेको छु ।’ उनले भने । सुरुमा १३ रोपनीमा व्यवसाय सुरु गरेका उनले अहिलेसम्म यसमा झन्डै २० लाख रुपैयाँ लगानी गरिसकेका छन् । देशले कर्णालीलाई हेर्ने नजर परिवर्तन गर्ने योजना रहेको हीरा बताउँछन् । यसका साथै युवाहरूलाई व्यावसायिक रूपमा कृषिमा लगाउने रहर उनको छ ।
आजभोलि यही खेतीले आफूलाई खुसी दिएको हीरा बताउँछन् । अहिले धेरै ठाउँबाट उनलाई ड्रागन खेती कसरी गर्ने भन्नेबारे फोन आइरहन्छ । धेरै मान्छेहरू उनले खेती गरेकै स्थानमा पनि पुग्ने गरेका छन् । उनको फार्ममा थप एक जनाले पनि रोजगार पनि दिएका छन् । अन्य कामदारहरू काम परेको बेला लगाउँछन् । ड्रागन खेतीसँगै उनी फूल व्यवसायमा पनि संलग्न छन् । ड्रागनको फूलमा मौरीहरू आउन थालेपछि मौरी व्यवसाय गर्ने सोच पनि बनाएको उनको भनाइ छ । केही समयअघि मात्र उनले युवा तथा खेलकुद मन्त्रालयबाट कृषिमा राष्ट्रिय युवा प्रतिभा सम्मान पनि पाएका छन् । सरकारको सम्मानले कृषिमै धेरै काम गर्न प्रेरित गरेको उनले बताए ।
अहिले सुर्खेतमा ३३ जना ड्रागन खेती गर्ने व्यवसायी छन् । व्यवसायीहरूले हीरालाई नै अध्यक्ष बनाएर ड्रागन उत्पादक किसान संघ पनि गठन गरेका छन् । अहिले सुर्खेतमा उत्पादन भएको ड्रागन कर्णालीमै खपत हुन्छ । हीरासँगै ३६ वर्षका अर्का युवा चन्द्रबहादुर सिंजालीले पनि सुर्खेतको वीरेन्द्रनगरमा ड्रागन खेती गरिरहेका छन् । सरकारी जागिरे उनले कृषिमा युवाहरू लाग्नुपर्छ भन्ने लागेर व्यवसाय सुरु गरेको बताए । वीरेन्द्रनगर नगरपालिका–८ इत्राम निवासी उनी प्राविधिक नायब सुब्वा हुन् । उनी निजामती सेवामा लागेको ११ वर्ष भयो । कार्यालय समयपछि बचेको समयमा आर्थिक उपार्जनका कामहरू गर्नुपर्छ भन्ने लागेर कृषि क्षेत्रमा लागेको उनले बताए ।
यसै क्रममा आफू ड्रागन खेतीमा आकर्षित भएको उनी बताउँछन् । ‘आफ्नै जमिन बाँझो रहेको थियो,’ उनले भने, ‘माटोमा केही गर्नुपर्छ भन्ने लाग्यो ।’ सुरुको वर्ष करिब ९ सय बेर्ना लगाएका थिए । अहिले उनको ९ कट्ठा बारीमा २ हजारजति ड्रागनका बेर्ना छन् । सुरुमा १५ लाखमा सुरु गरेको व्यवसायमा अहिले ३५ लाख रुपैयाँ लगानी पुगेको छ । सरकारले पनि कृषि गर्ने युवालाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ । सरकारले दिने अनुदान वास्तविक कृषकलाई नभएर कृषि गरेजस्तोलाई मात्र दिन थालेपछि युवाप्रति नैराश्यता बढेको उनको भनाइ छ । कर्णाली सरकारले अर्गानिक कर्णालीको नारा मात्र नलगाएर कृषिमा युवाहरूलाई लाग्नका लागि वातावरण मिलाइदिनुपर्नेमा उनले जोड दिए ।
वीरेन्द्रनगर नगरपालिका–८ का अर्का युवा कृष्ण अधिकारी पनि ड्रागन खेतीमा लागेका छन् । कोरियामा झन्डै ५ वर्ष बसेर नेपालमै केही गर्नुपर्छ भन्दै फर्केका उनले व्यावसायिक रूपमा ड्रागन खेती सुरु गरेका छन् । सन् २००७ सालमा पढ्का लागि कोरिया गएका उनले उतैबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । उनलाई सन् २०१८ मा अमेरिकाको डीभी पनि परेको थियो । तर सबै छाडेर उनी कृषिमा रमाएका छन् । कोरिया पढ्दा कृषि फार्म देखेपछि उनलाई कृषिमा आफ्नो ठाउँमै केही गर्ने रहर जाग्थ्यो ।
त्यही रहरले उनले ड्रागन व्यवसाय सुरु गरेका हुन् । कम लगानी र कम कामदारले पनि गर्न सक्ने व्यवसाय भएकाले पनि आफू यो खेतीमा लागेको उनले बताए । उनलाई व्यवसायमा श्रीमतीले साथ दिएकी छन् । एक जनालाई रोजगार पनि दिएका छन् । कहिलेकाहीँ केही कामदार पनि लगाएर काम गराउने गरेका छन् । २३ कट्ठा जमिन लिजमा लिएर आफूले व्यवसाय सुरु गरेको उनले बताए । उनले ४० लाख खर्चमा व्यवसाय सुरु गरेका हुन् । उनले सुरु गरेको २ वर्ष बित्यो । युवालाई कृषिमा लगाउनका लागि तीनै तहका सरकारले समन्वय गर्नुपर्ने बताउँछन् उनी ।
