आजकै दिन : अन्तरिक्षमा पहिलो पटक महिला 

असार १, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६३ मा आजकै दिन (जुन १६ मा) पहिलो पटक एक महिला अन्तरिक्षमा पुगेकी थिइन् । सोभियत संघकी अन्तरिक्षयात्री भालेन्तिना तेरेस्कोभा भोस्तोक–६ यानमार्फत अन्तरिक्षमा पुगेकी हुन् । 

पृथ्वीमा फर्कनुअघि उनले उक्त यानबाट ४८ पटक पृथ्वीको कक्षको परिक्रमा गरेकी थिइन् । त्यसका लागि उनलाई ७१ घण्टाको समय लागेको थियो । अन्तरिक्ष यात्राबाट फर्केपछि उनलाई ‘हिरो अफ सोभियत संघ’ घोषित गरिएको थियो । त्यसका साथै उनले संयुक्त राष्ट्रसंघबाट शान्तिका लागि स्वर्ण पदक प्राप्त गरेकी थिइन् । 

१९३६ को मार्च ६ मा जन्मिएकी तेरेस्कोभा अन्तरिक्ष यात्रामा जोडिनुअघि एक कपडा कम्पनीमा काम गर्थिन् । अन्तरिक्षबाट फर्केपछि उनी युनाइटेड रसिया पार्टीबाट सक्रिय राजनीतिमा आइन् ।

२००८ मा उनी रुसी प्रान्त यारोस्लाभोलको संसद्को उपाध्यक्ष बनेकी थिइन् । त्यसको तीन वर्षपछि तेरेस्कोभा रुसी संसद्को सदस्य बनिन् । उनी दुई पटक ‘अर्डर अफ लेनिन’ अवार्डबाट सम्मानित भइसकेकी छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully