काठमाडौँ — सन् १२१५ मा आजकै दिन बेलायतका राजा जोनले म्याग्नाकार्टामा हस्ताक्षर गरेका थिए । स्वतन्त्रताको महान् चार्टरका रूपमा समेत चिनिने म्याग्नाकार्टा बेलायतमा राजा र उनको सरकार कानुनभन्दा माथि नरहेको उल्लेख गरिएको पहिलो दस्ताबेज हो ।
राजा जोनको पोपसितको विवाद, युद्धपछि फ्रेन्च भूभागमा रहेको स्वामित्व गुमाएको अवस्था तथा निरंकुशताका कारण बेलायतका ब्यारोन, पादरी तथा सर्वसाधारण असन्तुष्ट थिए । जसका कारण राजा जोनले ब्यारोनहरूमाथि दुर्व्यवहार गर्नुका साथै विभिन्न कर लगाए ।
गुमेको फ्रेन्च भूभाग पुनः प्राप्त गर्न युद्ध गर्ने राजाको निर्णयको ब्यारोनहरूले विरोध गरे । फलस्वरूप दुवै पक्षबीच आपसी तनाव र द्वन्द्व बढ्यो । फलस्वरूप ब्यारोन तथा पादरीहरूले तयार पारेको ६३ बुँदे चार्टरमा लन्डन नजिकैको रनीमेडमा जोनले हस्ताक्षर गरी स्वीकृति दिन बाध्य भएका थिए ।
दस्ताबेजले जनतामाथि राजा तथा सरकारको शोषण अन्त्य गर्ने र कानुनी राज्य स्थापना गर्ने उद्देश्य राखेको थियो । म्याग्नाकार्टामा हस्ताक्षर गर्दै राजा जोनले कानुनी प्रक्रियाको पालना गर्ने र कानुनको सीमाभित्र रहन स्वीकार गरेका थिए । राजा जोनको मृत्युपछि १२१६, १२१७ र १२२५ मा पुनः जारी गरिएको म्याग्नाकार्टा कालान्तरमा इंग्लिस स्वतन्त्रताको मुख्य आधार बन्यो ।
