वाइल्डलाइफ फोटोग्राफीमा करिअर

२५ वर्षीय विनयले खिचेका पानीमाथि टाउको निकालेको सर्पको तस्बिरले नेपाल बिम्ब फोटो प्रतियोगिताको वाइल्डलाइफ विधामा र रिसाएको चितुवाको तस्बिरले ‘प्रिजेन्टिङ नेपाल’ प्रतियोगितामा प्रथम स्थान हासिल गरिसकेका छन् 

जेष्ठ ३२, २०८०

महेश केसी

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१ का विनय रावल भर्खर २५ वर्षका भए । किशोर अवस्थादेखि नै फोटोग्राफीमा सक्रिय उनले आफ्नो परिचय बनाइसकेका छन् । बाइल्डलाइफ फोटोग्राफीमा जम्दै गरेका विनय सुरुमा भने रहरैरहरमा यस क्षेत्रमा लागेका थिए । तर पछिल्लो समय भने उनले आफ्नो भविष्य अब यसैमा देखेका छन् ।

१६ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर विज्ञान पढ्न काठमाडौं हानिएका थिए विनय । ‘तर हातमा कलेजको पुस्तकभन्दा पहिला साथीको क्यामरा पर्‍यो । एक दिन, दुई दिन गर्दागर्दै पढाइभन्दा क्यामराको रहर बढ्यो । अरूले फोटो खिचेको देखेर रहर जाग्यो अनि म यस पेसामा आकर्षित भएँ,’ उनले भने । रहर बढ्दै गएपछि क्यामराको आवश्यकता खड्कियो । ‘पढाइका लागि घरबाट पठाएको पैसा जोगाएर क्यामरा किनें,’ उतिबेलाको अवस्था सम्झिँदै विनयले भने, ‘अनि म त्यही क्यामरा बोकेर फोटोग्राफीसम्बन्धी एकमहिने तालिम लिएँ ।’

तालिम लिएपछि भने उनको रहरमा आँट थपियो, अनि क्यामरामा रमाउन थाले । सुरुमा जे भेटिन्छ त्यसैलाई क्यामरामा कैद गरेका विनयले सिकाइमै तीन वर्ष काठमाडौंमा बिताए । ‘त्यसपछि एक दिन चितवन जाने अवसर जुर्‍यो । केही दिन चितवनमा बसेपछि फोटो खिच्न त काठमाडौंभन्दा यता रमाइलो होला भन्ने लाग्यो उनलाई । ‘अनि, उतै रमाएँ,’ रावल भन्छन्, ‘चितवनमा मान्छेको हैन वन्यजन्तुको फोटो खिच्नुपर्छ भन्ने लाग्यो अनि त्यता तानिएँ । मैले यहींबाट हो वाइल्डलाइफ फोटोग्राफी थालेको ।’

काठमाडौंबाट चितवन पुगेका विनय करिब ५ वर्ष त्यहीं रमाए । तस्बिर खिच्ने विभिन्न आइडिया फुराउँदै वाइल्डलाइफ फोटोग्राफीको जग बसाएको चितवन छोडेर हाल उनी बर्दिया राष्ट्रिय निकुञ्जमा छन् । ‘घरमा आमा हुनुहुन्छ । श्रीमती र मचाहिँ यता छौं । अब त व्यावसायिक रूपमै फोटो खिच्न थालेको छु । सँगसँगै यहाँ आएका पर्यटकहरूलाई वन र वन्यजन्तुका बारेमा पनि बताउँछु,’ उनले भने ।

फोटो खिच्न हिँडिरहने उनले वन्यजन्तुको भाषासमेत अड्कल काट्न थालिसके । ‘विभिन्न वन्यजन्तु र चराचुरुंगीको भाषा र भाकाबारे बुझ्न थालेको छु । त्यसैले पनि हो, फोटो खिच्न झन् रमाइलो लाग्छ ।’ १८ वर्षको हुँदा बुवा गुमाएका विनय परिवारका कान्छा सन्तान हुन् । उनका एक दाजु र एक दिदी छन् । उनीहरू वैदेशिक रोजगारमा भए पनि सबैको राम्रो साथ र माया पाएको विनयको भनाइ छ ।

घरमा रहेकी आमा लक्ष्मीले घरबाट पढ्छु भनेर काठमाडौं गएको छोरो क्यामरा बोकेर फर्किंदा सुरुमा रिस उठेको बताइन् । अहिले भने उनी छोराको लगनशिलता र मिहिनेतको कदर गर्छिन् । ‘सुरुमा त फोटो खिच्ने पनि पेसा हुन्छ र भन्ने लाग्थ्यो । पछि छोराको मिहिनेत देखेर विश्वास गरे । अहिले खुसी लाग्छ ।’ पर्यापर्यटनका बारेमा जानकारी हासिल गरेर यसलाई तस्बिरमा उतार्दै महिनाको ५० हजारदेखि एक लाखसम्म आम्दानी गरिरहेको बताउँदै विनय भन्छन्, ‘मैले मेरो प्यासनलाई प्रोफेसन बनाए । यसमा घरपरिवार र साथीभाइको राम्रो साथ छ । अब म यसैमा गरेर खान्छु भन्ने विश्वास छ ।’

एउटा क्यामरामा १८ देखि ६ सय मिलिमिटर लामो लेन्स बोकेर सैनिकले लगाउने जस्तै पोसाक लगाएर वन–जंगल चहारिरहेका विनयलाई उनकी जीवनसाथी ममताको पनि दरिलो साथ छ । उनी भन्छिन्, ‘यताउता हिँडिरहनुहुन्छ । आफ्नो काममा दत्तचित्त भएर लागेको देखेर खुसी लाग्छ ।’ विभिन्न प्रकारका ग्याजेट र अपडेटेट प्रविधिको पनि ख्याल गर्नुपर्ने भएकाले फोटोग्राफी महँगो पेसा भएको विनयको भनाइ छ । तर पनि आफूले सकेको मिहिनेत गरेर यसमा भविष्य निर्माण गर्न लागिपरेको उनको भनाइ छ ।

विनयले खिचेका विभिन्न तस्बिरले देशभित्र भएका फोटो प्रतिस्पर्धामा पुरस्कारसमेत जितेका छन् । तीन वर्षअघि रुकुम आएका बेला पानीमाथि टाउको निकालेको सर्पको तस्बिरले उनलाई दुई वर्षअघि ‘नेपाल बिम्ब फोटो प्रतियोगिता’ को वाइल्डलाइफ विधामा उत्कृष्ट पुरस्कारसमेत दिलायो ।

त्यसपछि गत असोजमा रिसाएको चितुवाको तस्बिरबाट पनि उनले ‘प्रिजेन्टिङ नेपाल’ फोटो प्रतियोगितामा प्रथम स्थान हासिल गरे । दुई पुरस्कार पाएपछि थप हौसिएका विनय फोटोग्राफीमा आफ्नो भविष्य देख्छन् । पहिला घरपरिवार, साथी तथा शुभचिन्तकले यो क्षेत्रमा भविष्य नभएको भन्दै विभिन्न विकल्प सुझाएका थिए । ‘वाइल्डलाइफ फोटोग्राफी गर्न साहस र धैर्यता दुवै चाहिन्छ । जो मसँग छ जस्तो लाग्छ । यसैकारण पनि मैले आफ्नो रहरलाई धैर्यताका साथ कायम राख्न सकेको छु,’ उनले भने ।

आफूले मिहिनेत गरेपछि सफलताको मार्गमा हिँड्न सकिन्छ भन्ने विश्वासका साथ कर्ममा डटिरहेका विनयलाई तस्बिरमा झैं प्रकृतिमा पनि सुन्दरता भइरहोस् भन्ने लाग्छ । यसका लागि उनी वन–पर्यावरण संरक्षणका लागि युवाको सक्रियता जरुरी ठान्छन् ।

‘प्रकृति सुरक्षित रहे न यहाँ रहेका हामी जीवात्माहरू सुरक्षित छौं । यसकारण वन–वातावरणको संरक्षण एकदम जरुरी छ,’ विनय भन्छन्, ‘अहिले वन र वन्यजन्तु देखेर मान्छे डराउने तर मौका पाएपछि भने मास्न लाग्ने अवस्था छ । तर एकअर्कामा मैत्रीपूर्ण सम्बन्ध जरुरी छ । यो सम्भव पनि छ । यसका लागि मान्छेमा वन्यजन्तुप्रति प्रेमभाव हुनुपर्‍यो ।’

त्यसका लागि जनचेतना जगाउन आफू लागिपर्ने योजना बनाइरहेको विनयको भनाइ छ । साथै फोटोग्राफीमा आफूले सिकेको ज्ञान र सीप अरूलाई सिकाउने रहर पनि ।

युवा ग्यालरी

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully