पूरा हुँदै ‘साम्बा’ सपना

जेष्ठ ३२, २०८०

हिमेश

काठमाडौँ — नेपाली फुटबलले अब घमण्ड गर्न सक्नेछ, हाम्रा खेलाडीले पनि युरोपेली फुटबलमा खेल्नेछन् । त्यो पनि युरोपको माथिल्लो डिभिजनमा । खासमा यो सबै नेपाली फुटबलप्रेमीको सपना हो अनि सावित्रा भण्डारीको पनि । उनी तिनै भाग्यमानी खेलाडी हुन्, जसले अब युरोपको माथिल्लो डिभिजनमा खेल्दैछिन् ।

पुरुष होस् वा महिला, यस्तो उपलब्धि हात पार्ने उनी नै पहिलो नेपाली खेलाडी हुनेछिन् । बुधबार दिउँसो पूर्णतः अभ्यासमा व्यस्त रहेकी सावित्रा एक महिनापछि इजरायल जानेछिन् । एसियामा रहेको इजरायल युरोपेली फुटबल महासंघको सदस्य छ । 

अभ्यासपछि केही थाकेकी तर अनुहार खुसीले भरिएकी सावित्राको पहिलो प्रतिक्रिया थियो, ‘म त के के मात्र भनौं, यो त खासमा मेरो सपना पूरा हुन लागेको हो । सबै नेपाली फुटबलप्रेमीको सपना पूरा हुन लागेको हो ।’ यसका लागि पुरुष नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसलाई धन्यवाद दिनैपर्छ । सावित्राको खेलबाट प्रभावित एनिसले सावित्रालाई युरोपेली फुटबलका एक एजेन्टसँग भेटाउने काम गरे ।  

अघिल्लो दिनमात्रै यसैबारे एउटा खुसीको सामाचार के आएको थियो भने सावित्रालाई इजरायलको महिला फुटबलको माथिल्लो डिभिजन लिगाट नसिममा खेल्ने हापोइल रानानाले अनुबन्ध गरेको छ । क्लबको सामाजिक सञ्जालबाट त्यसबारे औपचारिक घोषणा भएको हो । उनलाई प्रायः ‘साम्बा’ उपनामले बेलाउने गरिन्छ । यसमा उनी उत्तिकै खुसी हुन्छिन् । उनी भन्छिन्, ‘हामीमध्ये धेरैले युरोपेली फुटबल नजिकबाट नियाल्छौं । धेरैले युरोपेली च्याम्पियन्स लिग र इंग्लिस प्रिमियर लिगको कुरा गर्छौं ।  म त्यही युरोपमा खेल्नेक्रममा छु ।’

दक्षिण एसियाली महिला फुटबलमै सावित्रा सबैभन्दा ठूलो नाममध्ये एक हो । एपीएफ क्लबबाट खेल्नेक्रममा उनले नेपालको घरेलु लिगमा आफूले सक्दो कीर्तिमान बनाइसकिन् । छिमेकी भारतकै महिला फुटबलमा पनि उनी सबैभन्दा ठूला स्टारमध्ये एक बनेकी छन् । उनकै गतिलो योगदानका क्रममा हालै मात्र गोकुलम केरलाले त्यहाँको महिला लिग जितेको छ । त्यसक्रममा उनले एकपछि अर्को गोल गरिन् । अब वास्तवकै कति उम्दा खेलाडी हुन् त ? त्यसको वास्तविक नाप भने अब हुनेछ । 

‘यो मेरा लागि अवसर हो, चुनौती पनि हो,’ उनी भन्छिन्, ‘मैले अहिलेसम्म नाम र ख्याति सबै फुटबल खेलेर नै पाएको छु । त्यसलाई अझ माथिसम्म लैजाने काम पनि मेरै हो । म माथिल्लो स्तरको फुटबलमा खेल्न चाहन्छु ।’ 

केही समय अगाडिसम्म उनको गुनासो थियो, आफूले फुटबलको एक सही एजेन्ट भेट्न नसकेकोमा । त्यस्तो एजेन्ट हो, जसले उनलाई युरोपसम्म पुर्‍याउन सकोस् । अहिले त्यो पूरा भएको छ । यसको धेरै श्रेय केही साताअगाडि मात्र सकिएको वुमेन्स आई लिगलाई पनि जान्छ । उनी भन्छिन्, ‘यसपल्टको लिगमा मैले सक्दो राम्रो खेलें र हाम्रो टिम च्याम्पियन पनि भयो ।

यसपल्टको लिग यसअघिका प्रतियोगिताभन्दा स्तरको आधारमा धेरै माथि थियो । हामी यसपल्ट वास्तविक विजेता रह्यौं, किनभने हामीले उपाधि जित्नेक्रममा धेरै मिहिनेत गरेका थियौं । त्यही सफलताले गर्दा धेरैले मेरो खेलबाट रूचि राख्न सुरु गरे ।’ अब त उनी के पनि भन्छिन् भने युरोपमा जति पनि मौका प्राप्त हुनेछ, त्यसमा शतप्रतिशतभन्दा बढी राम्रो खेल्ने प्रयास गर्नेछु ।

युवा ग्यालरी

हिमेश

Link copied successfully