आजकै दिन : भिक्टोरिया बेलायतकी महारानी

असार ५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १८३७ मा आजकै दिन (जुन २०) मा एलेक्जेन्ड्रिया भिक्टोरिया बेलायतको महारानी बनेकी थिइन् । बेलायतमा ६३ वर्ष २ सय १६ दिन महारानी बनेकी उनको शासनका ‘भिक्टोरिया युग’ ले परिचित छ ।

उनको शासनकालमा बेलायतमा औद्योगिक, राजनीतिक, वैज्ञानिक तथा सैन्य क्षेत्रमा व्यापक परिवर्तनहरू भएका थिए । त्यसका साथै, बेलायती साम्राज्य सबैभन्दा बढी विस्तार भएको थियो । भिक्टोरिया युगमा भारत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका गरी विश्वको करिब २० प्रतिशत भूभाग बेलायतअन्तर्गत थियो । 

महारानी भिक्टोरियालाई सन् १८७६ मा बेलायती संसद्ले मतदानमार्फत ‘इम्प्रेस अफ इन्डिया’ समेत घोषित गरेको थियो । संवैधानिक राजसंस्थाकी प्रमुख भए पनि उनले मन्त्रिपरिषद्मा नियुक्ति तथा सरकारी नीति प्रभावित पार्ने गर्थिन् । व्यक्तिगत नैतिक मापदण्डका कारण उनी देशभर निकै चर्चित थिइन् । बेलायती राजा/महारानीमध्येमा उनले पहिलो पटक रेल चढेकी थिइन् । 

१८१९ को मे २४ मा जन्मिएकी भिक्टोरियाले १९४० मा राजकुमार अल्बर्टसँग विवाह गरेकी थिइन् । १९६१ मा अल्बर्टको मृत्युपछि गहिरो शोकमा परेकी भिक्टोरिया केही समय सार्वजनिक कार्यक्रमहरूमा देखिन छाडेकी थिइन् । तर पछि राजकाजमा पुनः क्रियाशील भएकी भिक्टोरियाका स्वर्ण तथा हीरक जयन्तीहरूमा अभूतपूर्व उत्सव तथा उपस्थिति हुने गर्थ्यो । 

भिक्टोरियाको १९०१ को जनवरी २२ मा ८१ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको हो । उनको मृत्युपछि बेलायतमा एडवार्ड सातौं राजा भएका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully