पुरातत्त्व खोजका सारथि

रूपन्देहीको देवदह नगरपालिकास्थित घोडाहा जंगलमा बुद्धकालीन सम्पदा तथा पुरातात्त्विक महत्त्वका वस्तुहरूको उत्खननमा कर्नी, बेल्चा र पेन्सिल चलाउँदै दुई युवती

असार ५, २०८०

सन्जु पौडेल

लुम्बिनी — कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका पालिकापिच्छे बुद्धस्थल छन् । तर, ती सबै स्थलको पुरातात्त्विक महत्त्व प्रस्ट हुने गरी उत्खनन भने गरिएको छैन । तर खुसीकै कुरा हो, पछिल्ला केही वर्षयता कपिलवस्तु र रूपन्देहीका पुरातात्त्विक स्थलमा भने उत्खनन चलिरहेको छ ।

यस्तो खोजको केन्द्र कपिलवस्तुको तिलौराकोट हो । स्वदेशी र विदेशी विज्ञको सहभागितामा हुने उत्खननमा नेपाली दुई युवती भने छुट्दैनन् । दुई वर्षयता उनीहरू उत्खननका लागि अपरिहार्यजस्तै बनेका छन् । 

 तीन सातादेखिको चर्को घाम र तातो हावा चलेका बेलासमेत उनीहरू उत्खनन कार्यमै व्यस्त छन् । रूपन्देहीको देवदह नगरपालिकास्थित घोडाहा जंगलमा हावा नचले पनि उनीहरूको कामको गति तीव्र रूपमा चलिरहेकै छ । धूलोमैलो भएर दिनभर माटोमा खटिन्छन् उनीहरू । घोडाहामा बुद्धकालीन सम्पदा रहेको अनुमानमा उत्खनन भइरहेको छ । त्यही कर्नी, बेल्चा, पेन्सिल चलाउँदै उनीहरू ओहोरदोहोर गरिरहन्छन् । फिताले क्षेत्रफल नाप्ने र डोरी बाँध्ने गर्छन् । आवश्यकताअनुसार आफैं खन्छन् । अनि फेला परेका पुराना माटाका भाँडा र इँटाको जतन गर्छन् । करिब एक महिनादेखि उनीहरूको दिनचर्या यसरी नै बितिरहेको छ । असार १५ गतेसम्म उक्त स्थानमा बसेर उत्खनन गर्नुपर्ने छ । घामपानी नभनी प्लास्टिकमा बसेर फाइलमा रहेको फारम भर्ने, सो क्षेत्रमा भेटिएका वस्तु जम्मा पार्ने काम आनन्दका साथ गरिरहेका छन् ।

रूपन्देहीमा हुर्केकी र पढेकी २६ वर्षीया शुभेच्छा पोखरेलको जन्म भने कपिलवस्तुमा भएको हो । पढाइमा तेज उनी सानैदेखि नयाँ खालको अनुभव सँगाल्ने गर्थिन् । त्यसैले स्नातकसम्म जुलोजी पढिन् । स्नातक सकेपछि भने के पढ्ने भन्ने अलमलमा थिइन् । त्यति नै बेला आर्कियोलोजीसम्बन्धी एक कार्यक्रममा सहभागी हुने मौका मिल्यो । आर्कियोलोजिस्ट (पुरातत्त्वविद्) ले दिएको भाषणले उनी प्रभावित भइन् । ‘त्यसपछि यही विषयमा स्नातकोत्तर गर्ने सोच बनाएँ,’ उनले भनिन्, ‘२०७९ मा पुरातत्त्वमा स्नातकोत्तर पूरा गरें ।’ अरू विषयभन्दा अलग लाग्यो उनलाई यो । अधिकांश समय फिल्डमा काम गर्नुपर्ने । त्यसैमा रमाउन थालिन् । ‘फिल्डमा खटिएर काम गर्ने महिलाको संख्या कम भएकाले पनि यही रोजें,’ उनले भनिन्, ‘अहिले कहाँबाट खुसी मिलिरहेको छ, नयाँ कामले ऊर्जा थपिँदै छ ।’ 

यो विषय पढाइमा मात्र सीमित नरहेको उनले बताइन् । ‘प्रयोगात्मक काम धेरै गर्न पाइने भएकाले रमाइलो पनि छ,’ उनले भनिन्, ‘पढ्न थालेदेखि काम पाइरहेकी छु ।’ अध्ययनकै क्रममा पहिलो पटक मैदानमा काम गर्न जाँदा दिनैभरिको थकानले पढ्न छोडुँ कि भन्ने पनि लागेको थियो उनलाई । तर, प्रयोगात्मक शिक्षाले दिएको ऊर्जालाई भरपूर प्रयोग गरिन र लुम्बिनीस्थित बौद्ध विश्व विद्यालयबाट यस विषयमा उत्तीर्ण हुने पहिलो ब्याचकी छात्रा बनिन् । जो मैदानमा लगनशील र मिहिनेती भएकै कारण हरेक उत्खननमा अधिकृतसरहको पारिश्रमिक पाउने पुरातत्त्वविद् बनेकी हुन् । ‘कामका हिसाबले हामी पुरातत्त्वविद् भएका छौं, पदका हिसाबले थप पढेर त्यो स्तर हासिल गर्नुछ,’ उनले भनिन्, ‘मलाई थप पढ्न विदेश जाने इच्छा छ । म पुरातत्त्वभित्र पर्ने विभिन्न विधाको छुट्टै अध्ययन गर्न चाहन्छु ।’ शुभेच्छाले सुरुमा आफूलाई नै के होला भन्ने लागेको विषय यस्तो रुचिकर बन्छ भन्ने सोच्दा नै अचम्म लाग्ने गरेको बताइन् ।

सुरुसुरुमा आमाबुवालाई पढाइबारे बताउँदा नबुझेर सम्झाउन गाह्रो भएको भए पनि अचेल फिल्डमा खटिँदाको तस्बिर, भिडियो देखाउँदा बेग्लै खालको काममा सन्तान रमाएको देखेर खुसी हुने गर्नुभएको उनले बताइन् । ‘अहिले त आफन्तले सोध्दा बताउने, कामबारे बुझाउने हुनुभएको छ,’ उनले भनिन्, ‘आफ्नो कमाइले आफू चलिरहेकी छ भन्ने विषय उहाँहरूका लागि सन्तुष्टिको पाटो बनेको छ ।’ उनले पढाइ चल्दाचल्दै फिल्डमा जाने, काम गर्न पाउने, अवसर मिल्छ भन्ने नलागेकाले त्यो अवसर पाउँदा साह्रै खुसी लाग्ने र अवसरबाट आफूले थप सिकिरहेको सुनाइन् ।

 शुभेच्छासँगै निरन्तर उत्खननमा सक्रिय निशा पन्थीको पनि अहिलेको कामबाट सन्तुष्टि मिलेको बताउँछिन् । कपिलवस्तुको वाणगंगा–४ की उनले जिल्लाबाटै क्याम्पस तहको अध्ययन सकिन् । २०७९ पुसमा स्नातकोत्तर सकेपछि पुरातत्त्वमा सरकारी स्तरमा प्रतिस्पर्धा गर्न लोकसेवातिर जाने सोच बनाएकी भए पनि अहिले काममा व्यस्त छन् । ‘अहिले त काम चलिरहेको छ, यो सकेपछि पढाइलाई ध्यान दिएर लोकसेवामा प्रवेश गर्ने मन छ,’ उनले भनिन्, ‘त्यहाँ पनि फिल्डमै काम गर्ने पुरातत्त्वको कर्मचारी बन्ने हो, कुर्सीमा बस्ने रहर होइन ।’ उनले परीक्षा दिँदा नै फिल्ड स्तरको परीक्षामा भाग लिने बताइन् । 

पढाइको सिलसिलामा उत्खनन क्षेत्रमा गएर काम गर्दा त्यहाँ भेटिने ससाना महत्त्वपूर्ण वस्तुले विषयको रुचि र काममा आफ्नो हौसला बढाउने गरेको उनले बताइन् । ‘कस्तो रहेछ, दुई वर्ष पढुम् न त भनेर यो विषय रोजेकी थिएँ,’ उनले भनिन्, ‘यस क्षेत्रमा कार्यालयभित्र काम गर्ने महिलाको संख्या धेरै भए पनि फिल्डमा खटिने कमै छन् । आफू त्यसैमा पर्दा खुसी लाग्छ ।’ उनकी दिदी स्वास्थ्य क्षेत्रमा छिन् । यस क्षेत्रमा नआएको भए आफू पनि उतै जान्थे होला भन्छिन् उनी । उनले स्वास्थ्य विषय लिएर स्नातक सकेकी हुन् । अंग्रेजीमा एक्साभेसन भन्ने गरिएको उत्खननकर्ता भएकी उनलाई आफ्नो ब्याचका नौ जना विद्यार्थीमध्ये आफू ३ छात्रामध्येमा एक भएको गर्व लाग्छ । 

 शुभेच्छा र निशा मिल्ने साथी हुन् । उनीहरू दुवैले एकै ब्याचमा पुरातत्त्वमा स्नातकोत्तर पूरा गरेका हुन् । पढ्दा पढ्दै प्रयोगात्मक उत्खनन क्षेत्रमा जाँदा कपिलवस्तुको तिलौराकोटमा राम्रोसँग काम गरेकाले उनीहरूलाई पछिल्लो पटक भने सेवासुविधासहित कार्यक्षेत्रमा खटाउन थालिएको छ । हाल बुद्धको मावली क्षेत्र देवदहमा भइरहेको उत्खननमा सहभागी भएका यी दुईमध्ये निशाले पोस्ट साइटको काम हेरिरहेकी छन् । उक्त कार्यमा उनले म्युजियम साइटमा बसेर उत्खनन क्षेत्रमा भेटिएका वस्तु, त्यहाँको माटोलाई जाँच गरी त्यसको प्रतिवेदन तयार गर्छिन् भने शुभेच्छाले निरीक्षण अर्थात् सर्भे साइटमा काम गरिरहेकी छन् । यी दुईले हाल नेपालको निजामती कर्मचारीको शाखा अधिकृतसरहको तलब सुविधा पाइरहेका छन् । विदेशी प्रोजेक्टसँग समन्वय गरेका उत्खनन क्षेत्रमा काम पायो भने सुविधा पनि राम्रो पाइने गरेको उनीहरूले बताए ।

कामकै सिलसिलामा बिहानै ७ बजेदेखि फिल्डमा खटिने उनीहरूले दुई सिफ्टमा काम गर्ने गरेका छन् । ‘एउटै स्थानमा झन्डै एक महिना वा अझै बढी काम गर्नुपर्छ,’ उनीहरूले भने, ‘थकान, तिर्खा र भोक भने मैदानमा भेटिने वस्तु र माटोको सुगन्धले मेटाइदिन्छ ।’ उनीहरूले हरेक ससाना वस्तुको राम्रो रेखदेख र बचाउ गर्नुपर्ने भएकाले जिम्मेवारीको पाठसमेत यस पेसाले सिकाएको बताए । विभिन्न क्षेत्रजस्तै तिलौराकोट, गोटिहवा र देवदहमा काम गर्दा पुरातत्त्व विभागबाट खटिने टोलीको समन्वयकारी भूमिका, महिला भएर पनि अघि बढेर फिल्डमा खटिएकोमा धन्यवादसमेत पाइरहने उनीहरूले बताए । गाउँमा उत्खनन सुरु भएपछि गाउँले नै उत्साहित हुने भएकाले खानेकुरा, पानी आदि लिएर खाइदिने, गफ गर्न मानिसको जमघट हुने र काममा खुसी मिल्ने उनीहरूको भनाइ छ । ‘पुरातत्त्वतर्फको मुद्राशास्त्र, मूर्तिशास्त्रजस्ता अनेक विषय रोजेर विज्ञता हासिल गर्न सकिन्छ,’ उनीहरूले एकै स्वरमा भने, ‘हामीले रोजेको विषयमा बेग्लै सन्तुष्टि र खुसी मिलेको छ ।’

युवा ग्यालरी

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully